डिजिटल भुक्तानीमा सिद्धार्थ बैंकको ‘वर्चस्व’

3

काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको विस्तार तीव्र गतिमा भइरहेको छ र यसले वित्तीय कारोबारको शैलीमा उल्लेख्य परिवर्तन ल्याएको छ । बैंक शाखा कार्यालयहरूमा लाइन बस्ने परम्परा घट्दो क्रममा रहेका बेला बैंकहरूले डिजिटल भुक्तानी प्रणालीमा लगानी बढाउँदै गएका छन् ।

यस क्रममा नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा आफूले खेलेको भूमिका अग्रणी रहेको सिद्धार्थ बैंक जनाएको छ । बैंकले एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ जस्ता डिजिटल उपकरणहरूलाई विशेष प्राथमिकता दिएको र यसले बैंकिङ क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगटेको बै‌कको भनाइ छ ।

एटिएम संख्या ४ प्रतिशत, कारोबार ७ प्रतिशत

नेपालभर हाल ५ हजार २६३ वटा एटिएम सञ्चालनमा छन्, जसमा सिद्धार्थ बैंकको २२९ वटा एटिएम छन्, जुन कुल संख्याको करिब ४ प्रतिशत हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अवधिमा देशभरका एटिएममार्फत १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । सोही अवधिमा सिद्धार्थ बैंकका एटिएममार्फत ७३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसले कुल कारोबारको ७ प्रतिशत हिस्सा ओगटेको छ ।
एटिएम संख्यामा ४ प्रतिशतको हिस्सा हुँदाहुँदै पनि कारोबार रकममा ७ प्रतिशतको हिस्सा हासिल गर्नु बैंकको प्रभावकारी सञ्चालन प्रणालीको परिणाम हो । बैंकले एटिएम सेवालाई सहज र भरपर्दो बनाउनका लागि छुट्टै इकाइमार्फत नियमित निगरानी गर्दै आएको छ ।

मोबाइल बैंकिङमा ग्राहकको सक्रियता

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब २ करोड ७७ लाख पुगेको छ । सिद्धार्थ बैंकका ११ लाख ५९ हजार ग्राहक मोबाइल बैंकिङ प्रयोग गर्छन्, जुन कुल प्रयोगकर्ताको करिब ४ प्रतिशत हिस्सा हो ।

समीक्षा अवधिमा सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा सिद्धार्थ बैंकको मोबाइल बैंकिङमार्फत ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा बैंकको बजार हिस्सा ७ प्रतिशत रहेको छ ।

ग्राहक संख्यामा ४ प्रतिशत हिस्सा भए पनि कारोबार रकममा ७ प्रतिशतको योगदान रहनुले बैंकका ग्राहकहरूको मोबाइल बैंकिङ प्रयोगमा सक्रियता र विश्वासलाई झल्काएको बैंकको भनाइ छ ।

सिद्धार्थ बैंकले मोबाइल बैंकिङलाई सहज, सुरक्षित र प्रयोगमैत्री बनाउन प्रविधिमा उल्लेख्य लगानी गरेको छ र यसलाई डिजिटल रूपान्तरणको मुख्य माध्यमका रूपमा विकास गरिरहेको छ ।

एक नम्बर रेटेड बैंकिङ एप

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप ‘बैंकस्मार्ट एक्सपी’ को रेटिङमा उल्लेख्य सुधार आएको छ । प्ले स्टोरमा ४.२ बाट सुधार भएर ४.६ स्टारमा तथा एप स्टोरमा पनि २.९ बाट बढेर ४.६ स्टारमा पुगेको बैंकले जनाएको छ ।

यी सुधारका परिणामस्वरूप बैंकस्मार्ट एक्सपी नेपालका २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा नम्बर १ रेटेड बैंकिङ एप बन्न सफल भएको छ ।

डेबिट कार्डको ७ प्रतिशत  हिस्सा

हालसम्म देशभरका बैंकहरूले कुल १ करोड ३६ लाख डेबिट कार्ड जारी गरेका छन् । सिद्धार्थ बैंकले ९ लाख १८ हजार डेबिट कार्ड वितरण गरेको छ, जसले कुल बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ ।

गत असार मसान्तसम्ममा डेबिट कार्डमार्फत ११ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा, सिद्धार्थ बैंकको कारोबार ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

क्रेडिट कार्डमा १९ प्रतिशत बजार हिस्सा

क्रेडिट कार्ड क्षेत्रमा सिद्धार्थ बैंकको बजार हिस्सा बलियो देखिएको छ । हालसम्म बैंकहरूले कुल ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् जसमा सिद्धार्थ बैंकको हिस्सा ६० हजार रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा १९ प्रतिशत रहेको देखिन्छ ।

जारी संख्यामा मात्र होइन, कारोबारको हिसाबले पनि बैंकले १५ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकका क्रेडिट कार्डमार्फत ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकले लक्षित ग्राहक वर्गलाई ध्यानमा राखी उपयुक्त योजनाहरू ल्याउनुका साथै ‘सिद्धार्थ रिवार्डस प्लेटफर्म’ मार्फत प्रत्येक खर्चमा तुरुन्तै अंक प्राप्त हुने र ती अंक विभिन्न साझेदार ब्रान्डहरूमा छुटका रूपमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यसले डिजिटल कारोबार संस्कृतिलाई थप सशक्त बनाउन योगदान पुर्याइरहेको छ ।

प्रिपेड कार्डको योगदान

हालसम्म बैंकहरूले जम्मा २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरेका छन्, तीमध्ये सिद्धार्थ बैंकको हिस्सा ३४ हजार २२४ कार्ड रहेको छ । कारोबार रकमका हिसाबले बैंकको हिस्सा करिब ८ प्रतिशत छ । बैंकले कार्डको दुरुपयोग रोकथाम, तत्काल समस्या समाधान र नियमित अनुगमनको माध्यमबाट सेवा स्तर उच्च राख्ने काम गर्दै आएको छ ।

नयाँ डिजिटल प्रयास

ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले हालै भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ, जसलाई मोबाइल बैंकिङको ‘ईजीबैंक’ सेवा मार्फत अन्तर्राष्ट्रिय भुक्तानीका लागि प्रयोग गर्न सकिन्छ ।

बैंकले चाँडै नै ‘सिद्धार्थ फोनपे क्रेडिट कार्ड’ सुरु गर्न लागेको छ, जसबाट ग्राहकहरूले क्यूआर स्क्यान गरी सिधै व्यापारीलाई भुक्तानी गर्न सक्नेछन् । बैंकको लक्ष्य सबै सेवाहरूलाई अझ डिजिटल, सुरक्षित र प्रयोगमैत्री बनाउने रहेको छ ।

सशक्त वृद्धिदर

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूले ७० वटा नयाँ एटिएम सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थपेको छ । बैंकले गत वर्ष डेबिट कार्डमा ६ प्रतिशत वृद्धि गर्दा, सिद्धार्थ बैंकले १४ प्रतिशतले वृद्धि गर्दै आफ्नो कार्ड सेवाको पहुँचलाई अझ सशक्त बनाएको छ ।

क्रेडिट कार्ड क्षेत्रमा पनि बैंकले समीक्षा अवधिमा ९ हजार ९१० कार्ड जारी गर्दै १९ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । प्रिपेड कार्ड प्रणालीमा बैंकको वृद्धिदर ३६ प्रतिशत पुगेको छ, जबकि मोबाइल बैंकिङमा १५ प्रतिशत वृद्धिदर कायम भएको छ ।

सिद्धार्थ बैंकले प्रयोगकर्तामैत्री भुक्तानी प्रणालीको विकास र नियमित अद्यावधिकमा जोड दिँदै आएको छ । बैंकले डिजिटल भुक्तानीका प्रत्येक चरणमा ग्राहकहरूलाई बुझाउने र सिकाउने प्रयासले डिजिटल बैंकिङ प्रविधिको प्रयोगलाई अझ सुदृढ बनाइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here