हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी

1

काठमाडौं । हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि भीषण आगलागी भइरहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

सार्वजनिक भएका तस्वीर र भिडियोमा धेरै भवनहरूमा आगलागी हुँदा ठूलो क्षति भएको देखिन्छ ।

अधिकारीहरूका अनुसार घटनास्थलबाट ९ जना घाइतेलाई अस्पताल लगिएकोमा चार जनाको उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । आगो सुरु भएको भवनबाट उद्धारका लागि धेरै सर्वसाधारणले प्रहरीलाई धेरै फोन आएका थिए ।

आगो बाँसको स्क्याफोल्डिङ हुँदै तीव्र गतिमा फैलिँदै आवास क्षेत्रमा रहेका कम्तीमा अन्य चार ब्लकमा क्षति पुर्‍याएको छ । अहिलेसम्म पनि आगो दन्किरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

घटनास्थलमा कालो धुवाँको ठूलो मुस्लो आकाशभरि फैलिएको भिडियोहरू सार्वजनिक भएका छन् । आगलागी नियन्त्रणका लागि ठूलो मात्रामा उद्धार तथा दमकल परिचालन गरिएको अधिकारीहरूले जनाएका छन् ।

हङकङ सरकारद्वारा जारी वक्तव्यअनुसार सुरुमा वाङ फुक कोर्टमा आगो लागेको थियो । सुरुमा नम्बर ३ अलार्म श्रेणीमा रूपमा वर्गीकृत आगो ३:०२ बजेसम्म फैलिँदै नम्बर ३ मा र ३:३४ बजे नम्बर ४ अलाम श्रेणी मापन गरिएको थियो ।

स्थानीय समय अनुसार ६:२२ बजेसम्म पुग्दा आगो फेरि बढ्दै ‘नम्बर ५ अलार्म’ स्तरमा पुगेको अधिकारीहरूले बताएका छन् । नम्बर १ अलार्म लाई सामान्य आगोका रूपमा लिइन्छ भने नम्बर २ अलार्म लाई मध्यम स्तर, नम्बर ३ अलार्म ठूलो स्तर, नम्बर ४ अलार्मलाई अन्त्यन्त गम्भीर स्तर र नम्बर ५ अलार्म लाई अत्यन्त उच्च जोखिमको आपतकाल श्रेणी भन्ने बुझिन्छ ।

प्रहरीले आपतकाल घोषणा गर्दै हटलाइन सञ्चालनमा ल्याएको छ र गुनासोको संख्या अत्यधिक छ । आगलागीमा फसेकाहरूको उद्धार र हतहतीको जानकारी लिन त्यहाँका बासिन्दाको सहजताको लागि हटलाइन स्थापना गरिएको हङकङ प्रहरीले जनाएको छ ।

आगलागीको यकिन कारण खुलेको छैन । स्थानीयहरूले भवनको मर्मतमा खटिएका कामदारले धुम्रपान गरेको देखेको जनाउँदै त्यसैबाट सल्किएको हुनसक्ने आशंका गरेका छन् ।

आगलागी भएको यस आवासीय ब्लकमा मा ४ हजार मानिसको बसोबास छ । यस आवासीय ब्लकमा एक हजार ९८४ फ्लाटहरू छन् । आगलागीले धेरै मानिस प्रभावित हुने देखिएको छ । हङकङमा १७ वर्षपछि यो स्तरको भीषण आगलागी भएको बताइएको छ । यसअघि सन् २००८ मा कोर्नवाल कोर्टमा नम्बर ५ अर्लाम श्रेणीको आगलागी भएको थियो ।

त्यतिबेला मोङ कोकको कराओके बार र नाइट क्लबबाट सुरु भएको आगलागीमा दुई अग्नी नियन्त्रणसहित ४ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here