काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१० युएन पार्कस्थित सडकमा बा.५१ प ९५६९ नम्बरको स्कुटर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं मालीगाउँ बस्ने रौतहट गौर नगरपालिका-९ घर भएका ४६ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा सो स्कुटर, बा.प्र. ०१-०२९ च ३८८८ नम्बरको भ्यान, बा.प्र ०१-०२२ च ००६१ नम्बरको कार, बा.प्र ०१-०२९ च ८१४५ नम्बरको हात्तीगाडी र बा.२ ज ४७६० नम्बरको ट्याक्सी एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । प्रहरीले चारै वटा सवारी साधनका चालकहरूलाई नियन्त्रणमा लिएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित सडकमा से.१ त ५९०६ नम्बरको ट्याक्टरले गोरू गाडालाई बिहीबार साँझ ठक्कर दिँदा गाडा चालक सोही नगरपालिका-९ सिखरझाला बस्ने ५२ वर्षीय अजुवा सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ श्रीराम चोकमा म.प्र.०३-००१ ह ३३०७ नम्बरको ई-रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा ई-रिक्सामा सवार सोही महानगरपालिका-१६ नगवा बस्ने अमिद खान पठानको छोरा ७ वर्षीय इमरान खानको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ई-रिक्सामा सवार ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















