काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकमा ग.२ ख २०३९ नम्बरको ट्रकले बा.प्र ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोदा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, बकैया गाउँपालिका-७ अधेरीस्थित सडकमा लु.५ त १७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-७ अधेरी बस्ने ५० वर्षीय केशव माझी, ५० वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केशव र युवराजको हेटौंडा अस्पताल र सन्तलालको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २० जनाको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, मटिहानी नगरपालिका-८ स्थित सडकमा बीआर ३२ एएल २७९६ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही नगरपालिका-३ आवर बस्ने ६० वर्षीया पार्वती देवी महतोको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर, मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०३-०२-०१३ प ६५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भक्तपुर नगरपालिका-२ ईताछेँ बस्ने २६ वर्षीय बिजय खर्बुजाको मृत्यु भएको छ । भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















