काठमाडौं । रूपन्देही, सैनामैना नगरपालिका-५ दोघरा चोकस्थित सडकमा लु.२ ख २४६५ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय ठगी प्रसाद चौधरीको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा बीआर २८ जीबी ०६७३ नम्बरको टेलरले लु. ८५ प ४३९० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका-७ बस्ने ५० वर्षीय लालु केवटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ, विराटनगर महानगरपालिका-१४ स्थित सडकमा बीआर ३८ एम ११७८ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मो. राजाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सिन्धुली, दुधौली नगरपालिका-४ कमलाखोचस्थित सडकमा प्र.१-०२-००२ च ५४२५ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री दुधौली नगरपालिका-१ गिजिह्यानी बस्ने ६० वर्षीय मोहन धामीको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय कमलाखोच हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















