काठमाडौं । बारामा एकै परिवारका आमा छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका ती युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल आएको पाइएको एक अनुसन्धान अधिकृतले जनाए ।
‘बुहारीसँग ती विदेशबाट आएका युवकको विवाहत्तेर सम्बन्ध रहेको बुझिएको छ । यसबारे परिवारमा थाहा पाएर किचकिच भएपछि योजनाबद्ध रुपमा हत्या गरेको जस्तो देखिन्छ । थप विषय अनुसन्धानबाट पुष्टि होला,’ ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।


















