काठमाडौ, १७ असोज–नेपालमा संविधान निमार्णको विषयमा असन्तुष्टि व्यक्त गर्दै नेपालमा डेढ साता अघिबाट नाकाबन्दी लगाउँदै आएको भारतले नाकाबन्दी हटाएको जनाएको छ । भारतका लागि नेपाली राजदुत दीप कुमार उपाध्यायले भारतले सिमामा रोकिएका सवारी साधनलाई नेपालमा पठाउन सहमति जनाएको उनले बताएका छन् ।
भारतीय विदेशमन्त्रालयका अधिकारीहरुले नेपालमा लगाइएको नाकाबन्दी शनिबार देखि नै खोल्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताइएको छ । नाकाबन्दी हटेपनि अत्यावश्यक वस्तुको आपूर्तिमा भने केही समय लाग्ने अधिकारीहरुले बताएका छन् ।
संविधान निर्माणका समयमा आफ्ना अधिकारीलाई नेपाल पठाएर पक्रिया रोक्न लगाएको भारतले आफ्नो प्रयास असफल भएपछि सीमा क्षेत्रमा मधेशी दलहरुले गरिरहेको आन्दोलनलाई देखाउँदै सुरक्षाको कारण भन्दै अघोषित नाकाबन्दी लगाउँदै आएको थियो । भारतीय नाकाबन्दीका कारण इन्धन अभावका कारण मुलुकको जनजीवन असज बन्दै गएको थियो ।
भारतीय नाकाबन्दीका कारण नेपाली जनतामा भारतप्रतिको दृष्टिकोणमा परिवर्तन भएको र नेपालका तर्फबाट उत्तरी क्षेत्र चीनसँगको नाका खोलेपछि भारतले शनिबारदेखि नेपालसँगको सिमानामा आपूर्ति सहज बनाउन सहमति दिएको हो । नेपालमा अघोषित नाकाबन्दी गर्दै आएको भारतले यस अघि नेपालमा नाकाबन्दी नगरेको बताउँदै आएको थियो । तर शनिबार नाकाबन्दी खुलेको जनाएको भारतले यस अघि गर्दै आएको दाबी गलत सावित भएको छ ।