पार्टी एकताका लागि खुला र स्पष्ट होऊ

155

हुकुमबहादुर सिंह
एमाओवादी र नेकपा (क्रान्तिकारी माओवादी)बीच एकताका चर्चा परिचर्चा भएका छन् । केही पत्रपत्रिकाले त एकताका लागि अनौपचारिक संवादले तीव्रता पाएको जानकारी दिएका छन् । यो एकता पार्टी नेतृत्वको मात्रै चाहना नभएर कार्यकर्ता तहबाट एकताका लागि चर्को दबाब आएपछि एकताको गृहकार्यमा माओवादी नेताहरू जुटेको भनिएको छ ।
हो, अहिले एक पटक यी दुई पार्टीबीच एकताका लागि एउटा राम्रो अवसर आएको छ । एमाओवादीको केन्द्रीय समितिको वैठक बस्दै छ र नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलन आयोजक समिति बनेको छ । पार्टी एकताका लागि यी अवसर हुन् तर त्यति नै चुनौतीहरू पनि छन् । जसले जे भनेता पनि नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै पटक यस्ता एकता भएका छन्, कैयौं पटक तिनमा विभाजन पनि गरिएका छन् । लेखक यहाँ एकताका लागि माओले भनेको एउटै वाक्यमा जोड दिन चाहन्छ– खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर । यो वर्तमानमा एमाओवादी र नेकपा (क्रान्तिकारी माओवादी)बीच एकताबारे पनि सत्य हो ।
माओका उल्लिखित भनाइहरूको महत्व एकताका लागि कति उच्च छ भन्ने हो । पार्टीभित्र एकताको समर्थन गर्दा र विरोध दुवै गर्दा त्यसले सर्वहारा वर्गीय क्रान्तिमा के कति योगदान पुग्दछ वा पुग्दैन भन्दा मेरो हैसियत र मेरो महत्वमा के कस्तो नकारात्मक असर गर्नेछ भन्नेलाई आधार बनाएर हेर्ने दृष्टिकोण नै एकताका लागि प्रधान बाधक ठहर्नेछ । माओको दृष्टिकोणमा कुनै व्यक्ति खुला र स्पष्ट छ या उसले छलछाम र षड्यन्त्र गर्छ ? यसले सर्वहारा क्रान्तिकारीहरू र बुर्जुवा महत्वाकांक्षीहरूका बीचमा विभाजन रेखा कोर्दछ । माओवादीे कार्यदिशाको विरोध गर्न र संशोधनवादी कार्यदिशा लागू गर्न पार्टीभित्र घुसेका बुर्जुवाका सबै दलालहरूले अनिवार्यत: फुटलाई उक्साउन खोज्छन् । तिनीहरूले अवलम्बन गर्ने कार्यनीतिक उपाय सबै प्रकारका छलछाम र षड्यन्त्र गर्नु हो । हामी कम्युनिष्ट पार्टीका सदस्यहरू क्रान्तिकारी एकतालाई जोगाउँदै र सधैं खुला र स्पष्ट हुंदै अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशालाई दृढतापूर्वक पक्डिँदै त्यसलाई लागू गर्ने हो ।
खुला र स्पष्ट हुने कुरा पार्टी स्पिरिटलाई आत्मसात गर्ने सर्वहारा वर्गका गुण हुन् । मानव जातिको इतिहासमा सर्वहारा वर्ग सबैभन्दा महान् क्रान्तिकारी वर्ग हो, यो यस्तो वर्ग हो जुन सबैभन्दा दूरदर्शी, सबैभन्दा नि:स्वार्थी र क्रान्तिमा सबैभन्दा जुझारु हुन्छ । इतिहास जुन दिशामा अगाडि बढेको हुन्छ, सर्वहारा वर्गले त्यसैलाई अंगाल्छ । यसको वर्ग स्वार्थ श्रमजीवी जनताको वर्ग स्वार्थसँग पूर्णत: मेल खान्छ । आफ्नो उद्देश्य न्यायपूर्ण छ र क्रान्तिमा अन्तिम विजय निश्चित छ भन्ने कुरामा यो वर्ग विश्वस्त छ । त्यसकारण, सर्वहारा वर्ग र यसको पार्टी सधैं खुला र स्पष्ट हुन्छन्, त्यसकारण, तिनीहरूले आफ्नो राजनीतिक विचार र उद्देश्यलाई सधैं खुला घोषणा गर्दछन् । आजको सय वर्षभन्दा पहिले कम्युनिष्ट पार्टीको घोषणापत्रमा माक्र्स र एङ्गेल्सले गम्भीरतापूर्वक घोषणा गरिसक्नुभएको थियो, ‘कम्युनिष्टहरूले आफ्ना दृष्टिकोण र उद्देश्यहरू लुकाउन अस्वीकार गर्छन् । विद्यमान सामाजिक अवस्थालाई बलपूर्वक मिल्काएर मात्र आफ्ना उद्देश्य पूरा गर्न सकिने कुरा उनीहरूले खुला घोषणा गर्दछन् । कम्युनिष्ट क्रान्तिले सबै शासक वर्गहरू थर्कमान होऊन् । सर्वहारा वर्गसँग हतकडीबाहेक आफ्नो भन्नु केही छैन । तिनीहरूसँग जित्नका लागि संसार छ ।’ चिनियाँ कम्युनिष्ट पार्टीको सातौं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनमा माओले स्पष्ट औंल्याउनुभएको थियो, ‘हामी कम्युनिष्टहरूले हाम्रा राजनीतिक दृटिकोणहरू लुकाउंदैनौँ । नि:सन्देह हाम्रो भविष्य वा अधिकतम कार्यक्रम चीनलाई समाजवाद र साम्यवादसम्म पुर्‍याउनु हो । हाम्रो पार्टीको नाम र माक्र्सवादी विश्व दृष्टिकोण दुवैले अतुलनीय चमक र वैभवशाली भविष्यको उच्च आदर्शप्रति स्पष्ट निर्देश गर्दछ ।’खुला र स्पष्ट हुनु भनेको सर्वहारा वर्गको पार्टीको जुझारु कार्यशैली हो र सही कार्यदिशाको पूर्ण कार्यान्वयनको महत्वपूर्ण सुनिश्चितता हो । अध्यक्ष माओले भन्नुभएको छ, ‘सर्वहारा वर्गको निमित्त सबैभन्दा धारिलो र प्रभावकारी हतियार भनेको गम्भीर तथा जुझारु वैज्ञानिक मनोवृत्ति हो ।’ हार्दिकताका साथ जनताको सेवा गर्नु हामी कम्युनिष्टहरूको उच्चतम उद्देश्य हो । यस उद्देश्यबाट सुरु गरेर हाम्रो पार्टीका कार्यक्रम, कार्यदिशा र राजनीतिक सिद्धान्तहरू निर्धारित हुन्छन् । यसकारण यसले व्यापक जनसमुदायको न्यानो समर्थन प्राप्त गर्न सकेको छ । जसरी किसान तथा मजदुरको ठूलो हिस्सा हामीसँग छ, त्यसरी नै सत्य हाम्रो पक्षमा छ । क्रान्तिकारी कार्यदिशाअनुरूप विजयपूर्वक अगाडि बढ्नका निम्ति जब हामीले अध्यक्ष माओका सर्वहारावादी राजनीतिक सिद्धान्तहरूलाई कार्यान्वयन गर्न जान्छौं, त्यति बेला दृढ अडान लिन, सबैले देख्ने गरी हाम्रो झण्डालाई उँचो उठाउन, तथ्यमा आधारित रहेर वैज्ञानिक मनोभावका साथ व्यापक क्रान्तिकारी जनसमुदायका बीचमा प्रचार–प्रसार गर्न, तिनीहरूलाई परिचालन गर्न र जनसमुदायको सेवामा लगाउने गरी राजनीतिक कार्यदिशा तथा सिद्धान्तलाई आत्मसात गराउन हामीलाई योग्य बनाउने कुराहरू यी नै हुन् ।
खुला र स्पष्ट हुने कुरा प्रत्येक कम्युनिष्टमा हुनुपर्ने राजनीतिक गुणहरू हुन् । जस्तो अध्यक्ष माओले भन्नुभएको छ, ‘एउटा कम्युनिष्ट क्रान्तिको स्वार्थलाई आफ्नै जीवनसरह मान्ने र आफ्नो व्यक्तिगत स्वार्थलाई क्रान्तिको अधीनमा राख्ने विशाल हृदयको हुनुपर्दछ, ऊ दृढ एवं सक्रिय हुनुपर्दछ, उसले सधैं सिद्धान्तको पालना गर्नुपर्दछ र गलत विचार तथा कार्यहरूको … विरुद्ध अथक संघर्ष चलाउनुपर्दछ ।’ पार्टीमा प्रवेश गरेको दिनदेखि नै एउटा कम्युनिष्टले उसको सम्पूर्ण जीवन पार्टीको उद्देश्यप्रति समर्पित गर्नुपर्दछ । यसकारण, कम्युनिष्टहरू खुला र स्पष्ट हुनुपर्दछ, आफ्ना राजनीतिक दृष्टिकोणहरूलाई जनतासम्म पुर्‍याउन र सबै हानिकारक गतिविधि र गलत प्रवृत्तिहरूका विरुद्ध संघर्ष गर्न हिम्मत गर्नुपर्दछ । संगठनात्मक मोर्चामा, पार्टीको सिद्धान्तअनुरूप उनीहरू व्यवहारमा खुलस्त हुनुपर्दछ । कार्यशैलीमा, उनीहरूले बुर्जुवा राजनीतिज्ञहरूले जस्तो व्यवहार गर्नुहुँदैन, छलछाम र षड्यन्त्रमा लाग्नुहुँदैन । यसो गरेमा पार्टी एकता सम्भव मात्रै नभई त्यसले क्रान्ति र पार्टीलाई सही दिशानिर्देश गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here