जनताको मन जित्न नेताहरु फेरि असफल

141

राधा बुढाथोकी मगर
नेपालको समस्या नेपालमै समाधान गर्न नेताहरु एक पटक फेरि असफल साबित भएका छन् । सत्तापक्ष र आन्दोलनरत दलका नेताहरु सहमतिको विन्दु पहिचान गर्नका लागि भारतको शरणमा पर्नुले पनि यो कुरालाई पुष्टि गरेको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री कमल थापा अनौपचारिक भ्रमणमा भारत गएको बेला उतै चार बुँदे सहमति गरेर फर्किएको सार्वजनिक भइसकेको छ भने मधेसी नेताहरु अहिले पनि भारत भ्रमणमै छन् । देशमा राष्ट्रियताका नारा लगाए पनि आखिर भारतको नै चाकडी गर्ने नियत सबै नेताहरुको रहेछ । त्यसैले पनि जनताहरुको नजरमा नेताहरु अक्षम साबित भएका छन् । नेपालमा अहिले जे भइरहेको छ, त्यो हुनै नपर्ने जनताको धारणा सर्वत्र पाइन्छ । नेपालका वर्तमान दलहरु र तिनका नेताहरु सबैभन्दा धेरै आलोचनाका पात्र बनेका छन् । अनाहकमा कष्ट व्यहोर्नुपरेको भन्दै नागरिकहरु सरकार र दलहरुका नेताप्रति तीव्र असन्तुष्टि प्रकट गरिरहेका छन् । जनताको नेताहरुप्रति यो असन्तुष्टि चरमोत्कर्षमा पुगेको छ । ग्यास, पेट्रोल, मट्टितेलका लाइनमा बसेका नागरिकहरुको मुखमा एउटै वाक्य झुन्डिएको छ, ‘उप्m कस्तो देशमा जन्म लिइएछ !’
भारतको नाकाबन्दी र बढ्दो कालोबजारीका कारण जनता मारमा परेका छन् । नाकाबन्दीले असर नपार्ने र देशमै उत्पादन हुने सामानहरुको पनि विभिन्न बहानामा दोब्बर तेब्बर मूल्य कायम गरिएको छ । सरकार कालोबजारी नियन्त्रण गर्न असफल भएको छ । अनुगमनका कुरा नाम मात्रका छन् । त्यसैले पनि दलहरुप्रति जनताको अविश्वास बढ्दै गएको छ । दलहरुका कुनै पनि नेता देशको जिम्मेवारी वहन गर्न सक्षम छैनन् भन्ने भावना जनतामा परिसकेको छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दा उनले राखेका अडानलाई धेरै नेपालीहरुले प्रशंसा गरेका थिए । सबै नेपालीहरुको एउटै स्वर थियो, बरु भोकै मर्न तयार छौँ तर राष्ट्रियता र स्वाभिमानलाई खतरा पर्ने कुनै किसिमको सन्धि अब भारतसँग हुनुहुँदैन । राष्ट्रियताका सवालमा नेताहरु र जनतामा देखिएको एकीकृत धारणा कमै मात्र देख्न पाइन्छ । त्यस्तो धारणा यतिबेला देखिएको थियो । कैयौं वर्षदेखि गरिब र पीडित राष्ट्रको रुपमा रहेको नेपाललाई अब आत्मनिर्भर र सम्पन्न बनाउनुपर्छ भनेर घरघरमा बहस चलेको देखिन्थ्यो । यस्तो उत्साह विरलै रुपमा देख्न पाइन्छ । जनताले नेतामाथि यत्तिको विश्वास गरेको पनि यो पहिलो पटक नै हो । तर फेरि भारतकै अगाडि ‘त्वं शरणम्’ भन्दै नेताहरु लम्पसार पर्नुले जनताप्रति गम्भीर विश्वासघात भएको छ । नेताहरुले उनीहरुको सपनामा तुषारापात गरिदिएका छन् ।
दल र नेताहरुले नेपालको समस्या सल्टाउन भारतको सहयोग लिनु अक्षम्य अपराध हो । त्यसै कारणले गर्दा पनि दल र नेताहरुप्रति जनताको वितृष्णा बढेको छ । देश र जनताको लागि क्रान्ति र आन्दोलनमा लागेको बताउने नेताहरुको असली चरित्र उदांगिएको छ । अहिलेका नेताहरुले जनताका समस्या बुझ्लान्, देशलाई आत्मनिर्भर बनाउलान् र सम्पन्न राष्ट्र निर्माण गर्लान् भनेर विश्वास गर्ने ठाउँ छैन । यदि भारतले कृपा गरेर नाकाबन्दी खोलिदियो भने क्षणिक समस्या समाधान त होला, तर यस्तै नेताहरुको हातमा देश रहिरहने हो भने मुलुक कहिले पनि अघि बढ्ने छैन भन्ने जनताको मनमा परिसकेको छ । यस्तो हुनु भनेको वर्तमान दलहरुको भविष्य गम्भीर संकटमा फस्नु हो । यसले पक्कै पनि भोलि कुनै नयाँ पक्षलाई फाइदा पुग्ने निश्चित छ । अहिलेका दल र नेताबाट वाक्क भएका जनताले कुनै नयाँ पार्टी र शक्तिलाई सत्ताको बागडोर सुम्पिने सम्भावना देखिन्छ । आखिर प्रजातन्त्र न हो, जनता जनार्दनलाई खुसी पार्न सक्नेले नै फाइदा लिने निश्चित छ । पहिलो संविधानसभाको चुनावमा एक नम्बरमा रहेको एमाओवादी दोस्रो संविधानसभाको चुनावमा तेस्रो नम्बरमा झरेको थियो । आगामी निर्वाचन यस्तो हविगत कुनै पनि दलहरुको हुनसक्छ । त्यसकारण जनधारणालाई नबुझ्नेहरु क्रमशः पाखा लाग्दै जाने कुरा कसैले पनि बिर्सनुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here