काठमाडौं, मंसिर २४ । भारतीय सांसद तथा विपक्षी नेताहरुले भारतको माथिल्लो सदन राज्य सभामा नेपालमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध तथा आलोचना गरेका छन् । राज्य सभालाई सम्बोधन गर्दै नेताहरुले भारतीय नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न भएको र नेपाल–भारत सम्बन्ध इतिहासमै पहिलो पटक संवेदनशील अवस्थामा पुगेको भन्दै विरोध जनाएका हुन् । राज्य सभामा बोल्दै नेताहरुले भारतीय व्यवहारका कारण नेपालमा चीनले गतिविधि बढाएको भन्दै मोदी सरकारको चर्काे आलोचना गरेका हुन् ।
राज्य सभा बैठकमा बोल्दै राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले नेपाल स्वतन्त्र मुलुक भएकाले भारतले नेपालको स्वाधीनता र सम्प्रभुतालाई सम्मान गर्नुपर्ने जनाए । त्रिपाठीले मोदी सरकारको चर्को आलोचना गर्दै संसारका कुनै पनि देशको संविधान पूर्ण नहुने भन्दै नेपालले पनि आफ्नो संविधान परिमार्जन गर्दै लैजाने र त्यो उसको अधिकार भएको जनाएका छन् । त्रिपाठीले भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले नेपाल भ्रमण गर्दा नेपालीहरुले ठूलो सम्मान दिए पनि प्रधानमन्त्री र विदेशमन्त्रीले नेपाली जनताको सम्मानलाई ग्रहण गर्न नसकेको आरोप लगाए । उनले मधेसीहरुलाई अधिकार नदिएको भन्ने कुरा गलत भएको भन्दै निवर्तमान राष्ट्रपति रामवरण यादवलाई यसको उदाहरणका रुपमा पेस गरेका थिए । बैठकमा बोल्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता मणिशंकर ऐयरले नेपालमा भारतले होइन, मोदी सरकारले नाकाबन्दी लगाएको आरोप लगाएका छन् । मंगलबार राज्य सभामा भएको नेपालसम्बन्धी छलफलमा बोल्दै ऐयरले भारतीय नाकाबन्दीको चर्को विरोध गर्दै नेपालमा सर्र्वदलीय डेलिगेसन जानुको औचित्य नरहेको भन्दै नेपालको समस्या तत्काल समाधानका लागि आग्रह गरेका थिए ।
राज्य सभामा बोल्दै भारतीय सांसद शरद यादव तथा अर्का नेता डा. करण सिंह लगायतले भारतीय नाकाबन्दीको विरोध गर्दै तत्काल नाका सहज बनाउन र नेपालसँगको सम्बन्ध सुधारमा जोड दिएका छन् । उनीहरुले भारतीय नाकाबन्दीका कारण लाखौँ बालबालिकाहरु मृत्युको जोखिमबाट गुज्रिरहेको भन्दै त्यसका लागि भारतले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
यसैबीच भारतीय विदेशमन्त्री सुस्मा स्वराजले ईश्वरले चाहेमा नेपालको समस्या ५÷६ दिनमा समाधान हुने जनाएकी छिन् । मंगलबार भारतको राज्य सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री स्वराजले यस्तो जनाएकी हुन् । उनले हालै मात्र नेपालका परराष्ट्रमन्त्री कमल थापा तथा मधेसी दलका नेताहरुसँग पनि भेट गरेको भन्दै एक साताभित्र सीमामा उत्पन्न समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन् । सांसदहरुलाई जवाफ दिने क्रममा उनले नेपालमा कुनै किसिमको नाकाबन्दी नभएको कुरा भने बोल्न छुटाइनन् । तर उनले नेपालमा भारतले गरेको यो पहिलो नाकाबन्दी नभएको पनि जनाएकी छिन् । नेपालीको पीडा आफूहरूले पनि बुझेको जानकारी गराउँदै समस्याको छिट्टै समाधान हुने विश्वास व्यक्त गरिन् ।