अख्तियारको कदमले राजनीतिक दलहरूमा कम्पन

179

भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता अपनाइने लोकमानसिंह कार्कीको प्रतिबद्धता

काठमाडौ, मंसिर २३ । हिजो बिहान १०.३०को निम्तो थियो, ठीक समयमा सञ्चालन सुरु भयो, दुईजनाले मात्र मन्तव्य दिएर कार्यक्रमको बिसर्जन गरियो । ठीक एक घण्टामा सकियो, यो कार्यक्रम थियो– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिसरको सभाकक्ष । सोही कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समयको सम्मान गर्न सबैले सिकौं भन्ने सन्देश दिनका लागि पनि आज तोकिएकै समयमा कार्यक्रम सुरु गरिएको हो भनेर ढिलो आउनेहरूलाई स्पष्टीकरण दिनुभएको थियो । कुनै पनि राजनीतिक पार्टीका नेताहरूलाई आमन्त्रण नगरिएको सो कार्यक्रममा बोल्दै प्रमुख आयुक्त कार्कीले भ्रष्टाचारको अन्त्यका लागि जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको मन्तव्य दिनुभयो । प्रमुख आयुक्त कार्कीले हालै अख्तियारले केही व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउँदा अनावश्यक टीकाटिप्पणीहरू भएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । कार्कीले देशका उच्च ओहदामा बसेका सम्मानित व्यक्तिहरूका विरुद्ध उजुरी परेपछि  जानकारीका लागि बोलाइएका व्यक्तिहरूका बारेमा विभिन्न उजुरी परेको र अख्तियारको अनुसन्धानका क्रममा समेत बयानमा बोलाउनैपर्ने आवश्यकता देखिएकाले विधिसम्मत र प्रक्रिया पु¥याएरै स–सम्मान बोलाइएको भन्दै अख्तियारले अनुसन्धान सुरु गर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्टीकरण दिनुभएको छ । ‘अनुसन्धान गर्ने अख्तियारको दायित्व हो, अनुसन्धानका क्रममा दोषी नदेखिएकाहरू निर्दाेष साबित हुनुहुनेछ । तर भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउँदा विरोध होइन, सबैको साथ चाहिन्छ, म नरहे पनि भ्रष्टाचार गर्नेहरू कारबाहीको दायरामा आउने छन्, यसमा सबै सचेत हुनु जरुरी छ ।’ –कार्कीले भन्नुभयो । विभिन्न मन्त्रालयका सचिवहरू, प्रवक्ताहरू, विभागीय प्रमुखहरू तथा पत्रकारहरूको भव्य जमघटबीच बोल्दै कार्कीले आफूले भ्रष्टाचारीहरूका विरुद्ध सशक्त कारबाही सुरु गरेको भन्दै जस्तोसुकै चुनौतीका बीच पनि आफूले कारबाही प्रक्रिया अघि बढाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कुनै पनि शक्तिले भ्रष्टाचारीलाई कारबाही गर्नबाट आफूलाई रोक्न नसक्ने दाबीसमेत गर्नुभयो ।
यसैबीच अख्तियारले भ्रष्टाचार गरेको आशंकामा पूर्वमन्त्रीहरू, सांसद तथा बहालवाला सचिवसहितका उच्च अधिकारीमाथि छानबिन सुरु गरेपछि राजनीतिक दलहरूमा कम्पन पैदा भएको छ । अख्तियारले छानबिनका लागि एमाओवादीका महासचिवसहित नेकपा एमाले, नेपाली कांग्रेसलगायतका नेताहरू तथा उच्चपदस्थ अधिकारीसहित विभिन्न २९ जना व्यक्तिहरूलाई पत्र लेख्दै एक साताभित्र आयोगमा बयानका लागि बोलाएपछि राजनीतिक दलहरू गम्भीर बनेका छन् । प्रमुख दलका शीर्ष नेताहरूले अख्तियारको कदम अनपेक्षित रूपमा आएको भने पनि अख्तियारले पत्र काटेका नेताहरू स्वच्छ छविका नभएको सम्बन्धित पार्टीभित्रैका कार्यकर्ताले भन्ने गरेका छन् । प्रमुख दलहरूमा अख्तियारको कदमका कारण हलचल मच्चिए पनि अख्तियारले बयानका लागि पत्र काटेका व्यक्तिहरू पार्टीभित्र पनि सम्पत्तिको छानबिनमा परेकाहरू समेत रहेको बुझिएको छ । अख्तियार स्रोतका अनुसार पत्र काटिएकाहरूलाई सार्वजनिक सम्पत्तिको दुरूपयोग गरेको प्रमाणका आधारमा पत्र काटिएको हो । अत्यन्त गोप्य र अख्तियारकै अन्य आयुक्तहरूलाई समेत जानकारी नदिई अनुसन्धानका लागि बोलाइएका व्यक्तिहरू स्वच्छ छविका नभएकोमा स्वयं पार्टीका नेताहरूलाई जानकारी भए पनि अहिलेको परिस्थितिमा एक्कासी बयानका लागि बोलाइएकाले दलहरूमा कम्पन आएको अनुमान गरिएको छ । अख्तियारले दलहरूको अपेक्षाविपरीत चर्चित नेताहरूलाई समेत बयानका लागि बोलाएकाले दलहरू केही तर्सिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
अख्तियारले बयानका लागि सबै दल र क्षेत्रका व्यक्तिहरूलाई बोलाएको छ । प्रमुख राजनीतिक दलहरूका नेतादेखि खिलराज रेग्मी नेतृत्वको सरकारका मन्त्रीहरू, विवादित उच्चपदस्थ अधिकारीहरूलाई समेत बयानका लागि बोलाइएकाले यसलाई असामान्य मान्नुपर्ने कुनै कारण नभएको अख्तियार स्रोतको जिकिर छ । अख्तियारले बयानका लागि बोलाएका उच्चपदस्थ व्यक्तिहरूमा एमाओवादीका महासचिव एवं उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा, पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठ र समानुपातिक सभासद रविन्द्रप्रताप शाह, (पूर्व प्रहरी महानिरीक्षक) छन् भने  एमालेका नेताहरूमा राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा छन्, त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीकी पत्नी तथा पूर्वमन्त्री निलम केसी पनि अख्तियार पत्र पाउनेमा परेकी छिन् । त्यसैगरी समानुपातिकतर्पmबाट एमालेका सांसद बनेका विवादास्पद निर्माण व्यवसायी इच्छाराम तामाङ, राजकुमार अग्रवाल, जर्नादन ढकाल र एमालेका नेता वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका छोरा पूर्वसांसद विजय पौडेलसमेत अख्तियारको छानविनमा परेका छन् ।
त्यस्तै काँग्रेस निकट मानिने पूर्व मन्त्रीहरू विद्याधर मल्लिक, छविराज पन्त, शंकरप्रसाद कोइराला र काँग्रेसकै तर्पmबाट समानुपातिक सांसद उमेश श्रेष्ठ पनि  अख्तियारको पत्र पाउनेमा परेका छन् । पूर्वमन्त्री उमाकान्त झा, टेकबहादुर थापा घर्ती र बहालवाला स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ, सिँचाइ सचिव अनुपकुमार उपाध्याय र कृषि सचिव उत्तमकुमार भट्टराई पनि अख्तियारको पत्र पाउनेमा परेका छन् । त्यसैगरी पूर्व–मुख्यसचिव भोजराज घिमिरे, बहालवाला अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख नायब महानिरीक्षक विजयलाल कायस्थ, प्याब्सन र एनप्याब्सनका पूर्व–अध्यक्ष एवं सांसद बाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणा पनि अख्तियारको पत्र पाउने व्यक्तिहरूमा परेका छन् । निर्माण व्यवसायी एवं राप्रपाका सांसद विक्रम पाण्डे, व्यवसायी राजकुमार अग्रवाल, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसमेत अख्तियारको छानबिनमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here