दक्ष जनशक्तिको उत्पादनमा जोड दिनु जरुरी

205

राज्यलक्ष्मी शाक्य
नेपालबाट रोजगारीको खोजीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक हजारौँ युवायुवतीहरू खाडीलगायतका मुलुकमा जाने गरेको सरकारी तथ्यांक छ । यसरी रोजगारीमा जाने युवायुवतीहरूमध्ये अधिकांश अदक्ष हुने गरेकाले खाडीलगायतका मुलुकमा निर्माण मजदुर वा अन्य कठिन काममा सहयोगीको रूपमा न्यून ज्यालामा काम गर्नपु र्ने बाध्यता छ । यति मात्र होइन, कठिन काम गर्ने सिलसिलामा दैनिकजसो नेपाली मजदुरहरूले विदेशमा ज्यान गुमाउने गरेका छन् । जसले गर्दा नेपालबाट विदेशिने युवासँगै दैनिक रूपमा मृतकहरूको शव समेत विमानस्थलबाट भित्रिने गरेको छ । हामी आफैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा पनि अदक्षताको कारण हाम्रा युवाहरूले सहनुपर्ने पीडा र बाध्यतालाई नजिकबाट निहाल्न सक्छाँै । उनीहरूले काम गर्ने मुलुक र कार्यक्षेत्रको पीडा त बयान गरी साध्य छैन ।
नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण मुलुक हो । जलस्रोत, पर्यटन र कृषिमा ठूलो सम्भावना बोकेको नेपाल आफैँलाई पनि ठूलो परिमाणमा दक्ष जनशक्तिको आवश्यकता छ । तर त्यो आवश्यकतालाई पूरा गर्नका लागि अहिले हामीसँग जति पनि दक्ष र प्राविधिक जनशक्ति छन्, ती अधिकांश विदेशी नागरिकहरू छन् । एकातर्फ हाम्रो ठूलो जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता र अर्काेतर्फ हामीलाई आवश्यक जनशक्ति विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । त्यसमाथि नेपालको राजनीतिक नेतृत्वले दक्ष जनशक्ति उत्पादनमा जोड नदिने र शिक्षालयहरू समेत अदक्ष र बेरोजगार उत्पादन गर्ने उद्योगका रूपमा स्थापित हुनुले नेपालको श्रम बजार र जनशक्तिबीचको तादात्म्य मिल्न सकिरहेको छैन । केही समयअघि मात्र मुलुकले शक्तिशाली भूकम्पमा ठूलो क्षति व्यहोरेको छ । यसको पुनर्निर्माणका लागि हामीलाई तत्काल ठूलो संख्यामा दक्ष जनशक्तिको आवश्यकता छ । तर त्यसको परिपूर्तिका लागि स्रोतसाधनसँगै जनशक्ति पनि विदेशबाटै आयात गर्नपु र्ने हामा्र े तत्कालको बाध्यता बनेको छ । भूकम्पलगत्तै छिमेकी मुलुक भारतले नेपालमा नाकाबन्दी गरेर अत्यावश्यक सामग्रीसहित सबै किसिमका वस्तु तथा सेवाहरूको आपूर्तिमा रोक लगाइरहेको छ । तर तत्काल विकल्प खोज्नका लागि कुनै पनि क्षेत्रमा हामीसँग सक्षम र दक्ष जनशक्ति छैन, जसले तत्कालको समस्या समाधानका लागि मुलुकभित्रै उत्पादनमा जोड दिन सकोस् ।
हाम्रो विगतको अनुभव र हाल सहिरहनुपरेको समस्याबाट मुक्त हुने एउटै मात्र उपाय हो, हामी आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्नु । भविष्यलाई उज्ज्वल बनाउनका लागि हामी आत्मनिर्भरको बाटोमा अघि बढ्नुको विकल्प पनि छैन तर, त्यसका लागि पनि हामीसँग भएको स्रोतसाधनको प्रयोगका लागि दक्ष जनशक्तिकै अभाव छ । विगतबाट कहिल्यै नसिक्ने र वर्तमानलाई सम्झेर पछुताउने नेपाली सोच र यहाँको राजनीतिक नेतृत्वका कारण अहिले पनि हामीले खाडीमा मजदुरले
दुःख गरेर पठाएको रेमिट्यान्समाथि गर्व गर्नु सिवाय अर्को विकल्प देखिँदैन । तर अब विगतमा जस्तै गैरजिम्मेवार र लापरबाही बनेर मुलुक सञ्चालन गरेर टाढासम्म पुग्न सकिँदैन । यदि मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको बाटोमा अघि बढाउने हो भने अब गम्भीरतापूर्वक सोच्नुपर्ने भएको छ । यसका लागि राज्यले मुलुकभित्रकै जनशक्तिलाई विभिन्न क्षेत्रमा दक्षता हासिल गराउनु जरुरी
छ । राज्यले यहाँको अदक्ष जनशक्तिलाई दक्ष बनाउन सक्यो भने त्यो नेपालको लागि सबैभन्दा ठूलो धन हुनसक्छ । त्यो दक्ष जनशक्तिलाई सदुपयोग गर्दै जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगाउनसके हामी अन्य मुलुकसँग परनिर्भर हुनुपर्ने अवस्था आउँदैन बरु हामीले स्रोतसाधनलाई सदुपयोग गर्दै मुलुकको आर्थिक विकाससँगै छिमेकी मुलुकहरूलाई पनि ऊर्जा तथा खाद्यान्नलगायतमा हामीमाथि निर्भर बनाउन सक्छाँै । यस्तो अवस्थामा छिमेकी मुलुकहरूबाट पनि हामीमाथि हुने सबै किसिमका विभेद र हस्तक्षेपहरू आफैँ अन्त्य भएर जानेछन् भने उनीहरूको परनिर्भरता हामीमाथि बढ्दै जाने निश्चित छ । यस्तो अवस्था सिर्जना गर्न सक्नु हाम्रो लागि ठूलो सफलता हुन्छ । तर त्यसका लागि रोजगारीको खोजीमा विदेशिने युवाहरूलाई स्वदेशमै व्यवस्थापन गर्ने र विदेशमा रहेका युवाहरूलाई समेत उनीहरूको दक्षता र क्षमताअनुसारको स्वदेशमै अवसर दिनेसम्मको लक्ष्य बनाउँदै काम अघि बढाउनुपर्छ । यसका लागि पहिलो शर्त भनेकै मुलुकभित्र रहेका युवाहरूलाई दक्ष जनशक्तिका रूपमा उत्पादन गर्नु नै हो ।
यस्तो सोच हाम्रो देशका नीतिनिर्माता नेताहरूमा कहिले आउला कुन्नी ? एकै पटक सबै युवालाई रोजगारी दिन सम्भव नहोला तर सबै युवालाई दक्ष बनाउन तालिम र सीप उपलब्ध गराउन राज्यको क्षमताले पुग्छ । यति मात्र गर्नसके मुलुक आत्मनिर्भरताको बाटोमा अघि बढ्छ । दक्ष जनशक्तिको उत्पादन भएपश्चात् राज्यले विभिन्न ठूला योजना बनाएर आवश्यक जनशक्तिको परिचालन गर्नुपर्छ ।
सबै युवाहरूलाई दक्ष बनाएपछि तत्काल परिचालन गर्न नसकेका युवाहरू आफैँले पनि आत्मनिर्भरको बाटो अवलम्बन गर्न थाल्छन्, जसले अन्ततः मुलुकलाई समृद्धको बाटोमा नै अघि बढाउँछ । त्यसैले राज्यले तत्काल दक्ष जनशक्तिको उत्पादनमा नै जोड दिनुपर्छ ।
(स्वाभिमान नेपाल मासिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here