नेपालको समस्या समाधान खोज्न दिल्ली नजाऔँ

230

दिल्ली दौडाहा नगरी नेपालमै बसेर कुनै पनि समस्या समाधान नगर्ने नेपाली राजनीतिक दलका नेताहरुको चरित्र यसपाली पनि नांगिएको छ । करिब चार महिनाको तराई मधेस आन्दोलनलाई निकास दिन देश पूर्ण रुपमा असफल भएको छ । यतिबेला नेताहरुको दिल्ली यात्रा लामबद्ध छ । हामी सबैलाई थाहा भएकै कुरा हो, २००७ सालदेखि भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसलाई निकास दिन गरिने सहमतिमा भारतले हस्तक्षेप गर्दै आएको छ । नेपाल भूपरिवेष्ठित राष्ट्र भएको र चीनसँगको नेपालको व्यापारिक सम्बन्ध भौगोलिक कठिनाइले सहज नभएको फाइदा उठाउँदै भारतले आफ्नो स्वार्थअनुसारको खेल खेल्दै आएको छ भने नेपाली नेताहरु पनि आफ्नो स्वार्थसिद्ध गर्नका लागि भारतको कठपुतली बन्न तयार भएको कसैसामु लुकेको छैन । भारतकै भक्ति र आशीर्वादबाट आफ्नो रोजी रोटी चलाउने गरेका नेताहरु यो पटक पनि उसकै शरणमा परिसकेका छन् । कोही नेता तीर्थाटन गर्न भनेर भारत पुगेर आफ्ना ‘देवता’ खुशी पारेर फर्किसकेका छन् भने कोही आफ्नो माग पूरा गराउन नेपाल सरकारलाई दबाब दिनुहोस् भन्दै चाकडी गर्न भारततिर लागेका छन् । भारतलाई मनाउन सत्तापक्ष र आन्दोलनरत दलहरु प्रतिस्पर्धाका साथ लागिपरेका छन् । यसले फेरि पनि नेपालको सार्वभौम समाप्त पार्ने र भारतकै हालीमुहाली हुने गरी भारतको षड्यन्त्रमा मलजल पुगेको छ ।

नेपालमा अहिलेसम्म भएका आन्दोलनहरुले नेपालको स्वाभिमानलाई मात्र प्रहार भएको छ । हरेक आन्दोलन जनताको नाममा गरिएको भनिए पनि प्रकारान्तरले त्यसले केवल भारतको स्वार्थ पूरा गराउने केही व्यक्तिहरुलाई सत्तामा पु¥याउने र पुँजीपति बनाउने काम मात्र गरेको छ ।सहमतिका लागि भारतलाई मध्यस्थकर्ता भूमिकामा राख्दा उसले आफ्नो फाइदाअनुसारको सम्झौता गराएको इतिहास छ । आन्दोलनमा जनताको मुक्ति र क्रान्तिकारी परिवर्तनको लागि भनेर ठूलाठूला नारा लागे पनि यसले नागरिकहरुलाई केवल आहत मात्र दिएको छ, राहत दिन सकेको छैन । हरेक पटकको आन्दोलनमा जनताले बलिदानी गर्नुपर्छ तर त्यसको फाइदा भने नेताहरुले कुम्ल्याउँछन् । तराईमा भइरहेकोे आन्दोलन गर्नुको कारण मधेसी जनताले राज्यपक्षबाट सधैं थिचोमिचो, अन्याय र विभेद सहनुपरेको भनाइ छ । तर ती जनताकै बीचमा बसेर सहमति गर्नुपर्ने नेताहरु अहिले दिल्लीलाई खुशी पार्न दौडधूप गरिरहेका छन् । समग्रमा आन्दोलनले सीमित व्यक्तिहरुलाई सत्तामा पु¥याउने र नेपालको सार्वभौमसत्ता अझै लिलामी गर्ने उपलब्धिभन्दा अरु केही हुन सकेको छैन ।

भारतको नाकाबन्दी अमानवीय भएको उद्घोष गर्ने नेताहरुको भनाइ ‘हात्तीको देखाउने दाँत’ जस्तै हो भन्ने उनीहरुको दिल्ली यात्राले प्रष्ट पारेको छ । उनीहरुको राष्ट्रियता र स्वाभिमानका संकल्पहरु खोक्रो साबित भएका छन् । इन्धन र खाद्यान्नसँग राष्ट्रियता र स्वाभिमान साट्न नसकिने जनाएका नेताहरु भारतसामु लम्पसार पर्नुले उनीहरुको आडम्बरी चरित्र नांगिएको छ । मधेसी नेताहरु पनि भारतकै इसारामा चल्नु र उसको आदेश शिरोपर गर्न दिल्ली पुग्नुले नेपालका राजनीतिक दलका नेताहरु कहिले पनि जनतासामु उत्तरदायी र जिम्मेवार नभएको प्रष्ट पार्दछ । दिनमा भारतको नाकाबन्दीको विरोध गरेर जनतासामु साधुको चरित्र देखाउने नेताहरुले रातमा त्यही भारतको दूतावासमा बसेर भोज गर्ने चोरको प्रवृत्ति जनतासामु उदांगो भएको छ । अब सचेत नागरिकहरुले नेताहरुको यो मनपरीतन्त्रलाई टुलुटुलु हेरेर बसिराख्नुहुँदैन । आफ्नो स्वार्थका लागि जस्तो कदम चाल्न पनि पछि नहट्ने यस्ता नेताहरुबाट कुनै पनि समय जनताप्रति घात हुनसक्छ । त्यसकारण अब भारतको विरोध गर्ने मात्र होइन, भारतीय विस्तारवादलाई सहयोग पु¥याउने र नेपालको सार्वभौम खतरामा पार्ने नेताहरुको जनस्तरबाटै विरोध गर्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here