राष्ट्रको सुरक्षाका लागि सेना अलर्ट

150

तराई आन्दोलन विखण्डनकारीको नियन्त्रणमा जानसक्ने आशंका
काठमाडौं/ नेपाली सेनाले तराईमा जारी आन्दोलनका कारण मुलुकको सुरक्षा अवस्था निकै कमजोर बन्दै गएको भन्दै त्यसका लागि आफ्नो उपयुक्त भूमिकाको खोजी गरेको छ । सेनाको सोमबार जंगी अड्डामा सम्पन्न भएको पृतनापतिहरूको बैठकले तराई आन्दोलनका कारण मुलुकको सुरक्षामा चुनौती थपिएको भन्दै त्यसका लागि आफ्नो भूमिकाको खोजी गरेको छ । सेनाले मुलुकको सुरक्षाका निम्ति सरकारले दिएको कुनै पनि जिम्मेवारी पूरा गर्न तयार रहेको जनाएको छ । सेनाले हाल जारी मधेस आन्दोलनमा विखण्डनकारीहरू हावी हुने सम्भावना रहेको भन्दै त्यसका लागि सेफ ल्याण्डिङ गराउनु नै मुलुकको हितमा रहेको जनाएको छ । सेनाका देशभरका ६ वटा पृतनापति, महानिर्देशनालय र विभागीय प्रमुखहरूको उपस्थितिमा भएको बैठकले तराई आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने र सेनालाई उपयुक्त भूमिका दिनुपर्नेमा जोड दिएको थियो । सेनाको बैठकले तराईमा जारी आन्दोलनमा भारतको समेत सहयोग रहेको निष्कर्ष समेत निकालेको छ । तराई आन्दोलनमा स्वतन्त्र मधेस बनाउने अभियानले तीव्रता पाएका समाचारहरू बाहिर आएलगत्तै सेनाले तराईमा सुरक्षा चुनौती थपिएको निष्कर्ष निकाल्नुलाई विश्लेषकहरूले निकै महत्वका साथ हेरेका छन् । सामान्यतया सरकारको आदेशविना कमै सक्रिय रहने सेनाले तराईमा लगातार चार महिनादेखिको बन्द हडताल, तराई आन्दोलनलाई देखाउादै भारतीय पक्षबाट भइरहेको नाकाबन्दी, तराई टुक्र्याउने अभियानमा लागेका सिके राउतका गतिविधि बढ्ने, तराईमा सरकारी कार्यालय जलाउने, सुरक्षा निकायमाथि आक्रमण तथा बिरामी बोकेका एम्बुलेन्सहरूमा समेत आक्रमण गर्ने लगायतका गतिविधि बढिरहेका बेला आकस्मिक रूपमा बैठक गरी मुलुकको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै मुलुकको सुरक्षाका लागि आफ्नो सक्रिय भूमिका खोज्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सेनाले राष्ट्रिय सुरक्षाको जिम्मा आफूले पाएको भए पनि मुलुकको सुरक्षा अवस्था निकै कमजोर हुादा समेत सरकारले कुनै भूमिका नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । सैन्य स्रोतका अनुसार मुलुकको अवस्थाका बारेमा विस्तृत अध्ययनपश्चात् सुरक्षा अवस्था निकै कमजोर पाइएपछि सेनाले आफूलाई अलर्ट गर्दै सरकारको निर्देशनपश्चात् आफ्नो सक्रियता बढाउने तयारी समेत गरेको छ । सेनाले तराईको सुरक्षा अवस्थालाई नजरअन्दाज गर्दा समग्र मुलुककै सुरक्षा अवस्था समेत नाजुक हुने भन्दै तराईमा देखिएका सुरक्षा चुनौतीको अन्त्य गर्न आफ्नो सक्रियता बढाउन लागेको हो । तराईमा निरन्तर मुलुकको आन्तरिक मामिलामा असर पर्ने किसिमका गतिविधि बढ्नु र सेनाले सरकारको आदेशविनै मुलुकको सुरक्षा अवस्था निकै कमजोर भएको भन्दै आफूलाई अलर्टमा राख्नुले मुलुकमा अराष्ट्रिय तत्वहरू हावी हुादै गएको र मुलुक निकै गम्भीर अवस्थामा पुगेको विश्लेषकहरूले आशंका व्यक्त गरेका छन् । सेनाका पृतनापतिहरूको बैठकमा रक्षामन्त्री भीम रावल र रक्षासचिव जयमुकुन्द खनाललाई पनि डाकेको थियो । सो बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री भीम रावलले सेनाले संवेदनशील अवस्थामा मुलुकको अवस्थालाई मध्यनजर राख्दै समसामयिक विषयमा बैठक राखेर निकै राम्रो काम गरेको जनाए । उनले सेनाले जहिले पनि मुलुक गम्भीर अवस्थामा जाादा उपयुक्त भूमिका निर्वाह गरेको र मुलुकमा विपत् पर्दा समेत सेनाले प्रशंसनीय काम गरेको भन्दै विपत्का बेला सेनाले देखाएको साहसको प्रशंसा गरेका थिए ।
यसैबीच विप्लव नेतृत्वको नेकपा माओवादीका एक जना केन्द्रीय सदस्यले हाल मुलुकमा उत्पन्न समस्या समाधानका लागि सैनिक ‘कू’ विकल्प हुनसक्ने जनाएका छन् । माओवादी केन्द्रीय सदस्य भरत बमले सामाजिक सञ्जाल फेसबुकमार्फत हाल जारी संकट समाधानका विकल्प प्रस्तुत गर्दै समाधानका उपाय सैनिक कू / शासन र त्यसपछि राजतन्त्रको पुनस्र्थापना अनि सामन्ती अधिनायकवाद, विप्लव माओवादीको विद्रोह र जनवादी अधिनायकवाद तथा माओवादी र सेना मिलेर राष्ट्रिय विद्रोह अनि राष्ट्रवादी अधिनायकवाद पनि उपाय हुनसक्ने जनाएका छन् । त्यस्तै, उनले वर्तमान दलाल सत्ता र शासकको निरन्तरता र विदेशी सेनाको उपस्थिति र उपनिवेशवादलाई पनि समाधानका रूपमा प्रस्तुत गरेका छन् । उनले विभिन्न विकल्पका बाबजुत पनि आफ्नो पार्टीको रोजाइ भने विप्लव माओवादीको विद्रोह र जनवादी अधिनायकवाद तथा माओवादी र सेना मिलेर राष्ट्रिय विद्रोह भएको उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here