मानिसको नजिकको साथी मानिने कुकुरले अहिले विभिन्न कुरामा मानिसबराबरको काम गरिरहेको छ । अपराध अनुसन्धानमा त कुकुरलाई भरपर्दो साधन पनि मान्ने गरिन्छ । त्यही कुकुरले अहिले हवाईजहाज पनि उडाएर सबैलाई आश्चर्यचकित पारिदिएको छ ।
बेलायतमा एउटा कुकुरले सम्पूर्ण मानव जातिलाई नै आश्चर्यमा पारिदिने काम गरेको छ । अढाइ वर्षको शेडो नामको उक्त कुकुर विश्वमा हवाईजहाज उडाउने पहिलो कुकुर बनेर कीर्तिमान कायम गरेको छ । यो कुकुरले ३ हजार फिटमाथि आकाशमा जेट विमान उडाएको छ । यो कुकुरले स्वात्तै एकैचोटि जहाज उडाएको होइन । यसले बकाइदा पाइलट तालिम प्राप्त गरेको छ । बेलायतमा स्काइ वान सिरिजको डग्स माइट फ्लाइट नामक कुकुर पाइलट तालिम पाउने कुकुरमध्ये यो एउटा हो । कुकुरले उडाउने यो विमानमा कुकुर पाइलटले नियन्त्रण स्थापित गर्न सकोस् भनेर यसको नियन्त्रण प्रणाली मोडिफाइड गरिएको थियो । विमानबाट निस्कने अलग अलग आवाजमा प्रतिक्रिया दिनका लागि कुकुरले बटन दबाउन सक्थ्यो र सोही अनुरूप विमान नियन्त्रण भएर उचाइमा उड्दथ्यो ।