राज्यलक्ष्मी शाक्य
देशका प्रमुख राजनीतिक दलहरू सरकार परिवर्तनको खेलमा लागिरहेका बेला एकातिर स्वास्थ्य क्षेत्रको अनियमितताका विरुद्ध डा.गोविन्द केसीले अनशनलाई निरन्तरता दिइरहेका छन् भने लैङ्गिक समानता र महिला सशक्तीकरणको आवाज पनि त्यत्तिकै सशक्त ढंगले उठिरहेको छ । महिलाका आवाज र स्वास्थ्य क्षेत्रका बारेमा सुन्ने फुर्सद राजनीतिक दलका नेताहरूलाई भने नभएजस्तै देखिएको छ ।
लैङ्गिक समानता र महिला सशक्तीकरणका विषयमा आवाज उठ्न थालेको धेरै लामो समय बितिसकेको छ । समय बित्नेक्रममा महिलाहरूको विषय नेपालको परिप्रेक्ष्यमा उल्लेखनीय भएजस्तो लाग्छ । देशको राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशसमेत महिला नै भएको हाम्रो देशमा लैङ्गिक समानताको निम्ति कुनै कमी कमजोरी छ भन्ने लाग्दैन । योभन्दा महिला सशक्तीकरणको नमूना संसारको अन्य कुन देशमा पो होला र ? गत मंगलबार काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘लैङ्गिक समानता तथा सशक्तीकरणका लागि सूचनाको हकको सुनिश्चितता’ विषयक विचार गोष्ठीमा यो पंक्तिकारलाई पनि सहभागी हुने मौका मिल्यो । लैङ्गिक समानताको सवालमा गम्भीर बहस उठेको सो विचार गोष्ठीमा व्यवस्थापिका–संसदका सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यता रहेको थियो । यो नै महिला सशक्तीकरणको नमूना हो भन्ने मलाई लाग्दछ । सभामुख ओनसरी घर्तीका अगाडि उपस्थित रहेका पुरुषहरूको संख्या पनि उल्लेख्य थियो । नेपाली सेनाका प्रवक्तादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरूसहित मानवअधिकार र कानुन व्यवसायको क्षेत्रमा ख्याति आर्जन गरेका चर्चित महिला र पुरुषको पनि त्यहाा सहभागिता थियो । विचारगोष्ठीका अधिकांश वक्ताहरूले संयुक्त राष्ट्रसंघमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न पुगेकी बन्दना राणाको नाम उच्चारण गरेको सुन्न पाइयो । कुनै नेपाली महिलालाई यो अवसर प्राप्त हुनु भनेको आम नेपाली महिलाहरूकै लागि खुशीको कुरा हो । यो पनि महिला सशक्तीकरणको नमूना हो भन्ने मलाई लाग्छ ।
लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सूचनाको हक सुनिश्चित हुनुपर्छ भन्ने सवालमा वक्ताहरूमा एकरूपता रहेको पाइयो । तर यो पंक्तिकारलाई सूचनाको हकको सुनिश्चितताले मात्र लैङ्गिक समानता कायम हुनसक्छ र महिला सशक्तीकरण बन्छ भन्ने कुरामा विश्वास छैन । लैङ्गिक समानताका निम्ति सूचनाको हकभन्दा शिक्षाको अवसर महत्वपूर्ण हो भन्ने मलाई लाग्दछ । अशिक्षित पुरुष होस् अथवा महिला, सूचनाको हकको सुनिश्चितताले मात्र केही उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन । शिक्षित पुरुष होस् अथवा महिला नै किन नहोस् सूचनाको हकबाट उसलाई बञ्चित गर्न असम्भव हुन्छ । अशिक्षित छन् भने महिला वा पुरुष कसैलाई पनि सूचनाको चासो कमै हुन्छ । सूचनाको हकको चासोभन्दा सााझ बिहानको छाक कसरी टार्ने अथवा बच्चाबच्चीको शिक्षादीक्षा कसरी व्यवस्थापन गर्ने जस्ता गम्भीर विषयहरू प्रत्येक गृहिणी महिलाका लागि अत्यावश्यक दैनिकी बन्न पुग्दछन् । राष्ट्रिय सूचना आयोगले लैङ्गिक समानता र महिला सशक्तीकरणमा प्रत्येक महिलाको पढ्न पाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने र गराउने भन्नेतर्फ चासो दिनुपर्छ कि ? यो मेरो सुझाव मात्र हो ।
सूचना आयुक्तको रूपमा महिला प्रतिनिधित्व गरिरहेकी यशोदादेवी तिम्सिनाले आफू स्वयं सूचनाको हकबाट बञ्चित भएको रहस्य खोल्दा सबैलाई आश्चर्य लागेको थियो । सूचना आयुक्त बन्नका निम्ति निश्चय पनि शैक्षिक योग्यता उहाासाग छैन भन्न सकिन्न । शैक्षिक योग्यता पूरा भइसकेकी महिलाका लागि पनि सूचनाको हक पर्याप्त छैन भन्ने विषय निश्चय पनि गम्भीर विषय हो । त्यसैले पनि हामी अनुमान गर्न सक्छौं अशिक्षितहरूको हालत सूचना हक प्राप्तिमा कति दयनीय होला ?
गोष्ठीको एउटा सकारात्मक पक्ष भनेको ‘महिलाका सुविधासम्बन्धी सूचना’ विषयक पुस्तिका सार्वजनिक गरिएको छ । सभामुख ओनसरी घर्तीमगरबाट विमोचन गरिएको उक्त पुस्तिका सानो आकारको भए पनि महिलाका हकमा राज्यले व्यवस्था गरेको सुविधाबारे जानकारी गराइएको छ । यो पुस्तिकामा उल्लेखित महिलाका अधिकारलाई ग्रामीण वस्तीहरूमा पुर्याउन आवश्यक देखिन्छ । महिलाले पाएका सुविधाको प्रयोग प्रभावकारी रूपमा गर्न गराउनका लागि पनि महिलालाई शिक्षाको आवश्यकता पर्दछ । अशिक्षित महिलाले राज्यको तर्फबाट पाउने सुविधा उपभोग असम्भव नै हुन्छ । राष्ट्रिय सूचना आयोगले पााचतारे होटेलमा विचारगोष्ठी गरेर मात्र लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा उल्लेख्य काम गरियो भनेर आत्मसन्तुष्टि लिनु हुादैन भन्ने सुझाव राख्दा बढी होला जस्तो लाग्दैन ।
जेहोस् राष्ट्रिय सूचना आयोगले प्रारम्भ गरेको लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सूचनाको हकको सुनिश्चितताप्रतिको चासोलाई प्रशंसनीय नै मान्नु पर्दछ । तथापि राज्यले महिलालाई शिक्षा अनिवार्य र नि:शुल्क व्यवस्था गर्नु सूचनाको हकको सुनिश्चिताको लागि सबैभन्दा आवश्यक र प्रारम्भिक कदम ठहर्ने छभन्ने यो पंक्तिकारलाई लाग्दछ ।


















