काठमाडौ/ पूर्वराजा ज्ञानेन्द्र शाहले आज विराट हिन्दु महासम्मलेनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा पशुपति स्थित बनकालीमा हुनलागेको सम्मेलनको उद्घाटनका लागि पूर्व राजालाई आमन्त्रण गरिएको हो । कार्तिक ४ देखि ६ गतेसम्म सञ्चालन हुने महासम्मेलनमा विश्वभरका विभिन्न ५० मुलुकबाट प्रतिनिधीहरू सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनमा छिमेकी मुलुक भारतबाट धार्मीक व्यक्तित्व तथा राजनीतिक दलका नेताहरूको समेत सहभागीता रहने जनाइएको छ । महासभामार्फत नेपाललाई हिन्दु राज्य बनाउन तथा राजसंस्थाको पुन:बहालीका लागि महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास गरिएको छ ।
राजसंस्थाको अन्त्य पछि लामो समयसम्म निष्कृय रहादै आएका पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्लो समय केही सक्रिय देखिन थालेका छन् । पूर्व राजा शाहले यस अघि काठमाडौको टेकुस्थित पचली भैरब मन्दिरमा राजाकै हैसियतमा पुजा आजा गरेका थिए । त्यस्तै दशैको अवसरमा ७ यक्ष प्रश्न सोध्दै गणतन्त्रले जनतालाई के दियो भनेर प्रश्न गरेका थिए । पछिल्लो समय उनको बढ्दो सक्रियताले उनी हालको व्यवस्थासाग तिव्र असन्तुष्ट रहेको संकेत गर्ने कतिपय विश्लेषहरूले तर्क गर्ने गरेका छन् ।


















