राज्यलक्ष्मी शाक्य
हालै पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति सार्वजनिक गर्दै मुलुकको राष्ट्रियता कमजोर भएको तथा नेपालीबीचको एकता तथा सद्भावलाई खलबल्याउन खोजेको भन्दै चिन्ता व्यक्त गरेपछि उनको पक्ष र विपक्षमा विभिन्न बहस सुरु भएका छन् । पूर्वराजा शाहको विज्ञप्तिपश्चात् विशेष गरी केही राजनीतिक दलका नेताहरूले उनका विरुद्धमा विषबमन गर्ने काम गरिरहेका छन् । मुलुकको अवस्था दिनानुदिन कमजोर हुँदै गएपछि आम नागरिकका तर्फबाट राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला पूर्वराजाले पनि नागरिकै हैसियतमा मुलुकको चिन्ता गर्नु स्वाभाविक र सामान्य विषय हो । तर पूर्व राजाको विज्ञप्तिबाट दलहरूका शीर्ष नेतामा निकै ठूलो खलबली र चलमलाहट बढेको छ ।
नेपालमा गणतन्त्र स्थापना भएको १० वर्ष पुगिसकेको छ । राजतन्त्रात्मक व्यवस्थाले मुलुकको हित नगरेको भन्दै गणतान्त्रिक व्यवस्था अवलम्बन गरेको लामो समय भइसक्दा पनि विगतमा जुन किसिमको अपेक्षा र अनुमान भएका थिए, त्यस्ता अपेक्षा र अनुमान सही सावित हुन सकिरहेका छैनन् । बरु यस अवधिमा मुलुकको आन्तरिक मामिलामा छिमेकी तथा अन्य शक्तिशाली मुलुकहरूको हस्तक्षेप तथा सक्रियता बढिरहेको छ । विगतमा मुलुकको हितमा चिन्तित हुने जनता वर्तमानमा आफ्नो भाषा, धर्म, संस्कृति र क्षेत्रलाई कसरी आफू अनुकूल बनाउने भन्नेमा मात्र चिन्तित हुन थालेका छन् । यसको अर्थ हो अब जनताहरूसँग समग्र देशको चिन्ता गर्ने समय छैन । यो अवस्था कसरी सिर्जना गरियो भन्ने कुरा वर्तमान व्यवस्थासँग जोडिएको छ । हिजो आफ्नो देशका लागि एकजुट भएर लड्न तयार हुने नेपालीहरू आज आपसमै लड्न तयार बनेका छन् । मुलुकले इतिहासमै सबैभन्दा कमजोर समयको सामना गरिरहेको छ । यसको भागिदार वर्तमान व्यवस्थाको परिकल्पना गर्ने राजनीतिक दलहरू नै हुन् । यसको अर्थ वर्तमान व्यवस्था खराब भन्ने पंक्तिकारको आशय अवश्य पनि होइन, तर वास्तविकता के हो भने सर्वसाधारण जनताले वर्तमान व्यवस्थालाई विश्वास गर्न नसक्ने वातावरण राजनीतिक दलहरूले सिर्जना गरेको अवश्य पनि हो ।
वर्तमान व्यवस्थाप्रति जनताको विश्वास गुम्दै जानुका केही कारणहरू छन् । जस्तो जनतालाई हिजो जुन किसिमको आश्वासन र भरोसा दिलाइएको थियो, त्यो वर्तमान व्यवस्थाबाट जनताहरूले प्राप्त गर्न सकिरहेका छैनन् । मुलुक समृद्ध हुनुपर्नेमा झन्झन् कमजोर हुँदै गइरहेको छ । शक्ति हुनेहरूले कानुन हातमा लिइरहेका छन्, देश टुक्र्याउने आवाज बुलन्द हुँदै गइरहेका छन् भने सत्ताकै नेतृत्वमा रहनेहरूले विखण्डनलाई बल पुग्ने काम गरिरहेका छन् । नयाँ व्यवस्थामा रामराज्यको परिकल्पना गरेका नेपालीहरूप्रति मुलुकको हालको अवस्थाका कारण वर्तमान व्यवस्थासँग असन्तुष्टि हुनु स्वाभाविकै हो । तिनै असन्तुष्टिका आवाजहरू विभिन्न माध्यम र रूपले सार्वजनिक भइरहेका छन् । पूर्वराजा जो हाल सामान्य नागरिकका रूपमा रहेका छन््, उनले मुलुकको बारेमा चिन्ता गर्न नपाउने भन्ने कहीँकतै लेखिएको छैन । त्यसैले उनी मुलुकप्रतिको आफ्नो चिन्ता जाहेर गर्न स्वतन्त्र छन् ।
जहाँसम्म पूर्वराजाको अभिव्यक्तिप्रति राजनीतिक दलका नेताहरूको आक्रोश छ, त्यसमा कुनै तुक छैन । किनभने वर्तमान गणतान्त्रिक व्यवस्थामा इतिहासकै कमजोर परिस्थिति सिर्जना हुनुका पछाडि पूर्वराजाको कुनै भूमिका छैन । मुलुकले विषम परिस्थितिको सामना गर्नु र एउटा नागरिकले मुलुकप्रति चिन्ता जाहेर गर्दा वर्तमान प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा महत्वपूर्ण पदमा पुगेका व्यक्तिहरू थर्कमान हुनुपर्ने अवस्था सिर्जना हुनु भनेको आत्मविश्वासको अभाव र वर्तमान व्यवस्थाका पिल्लर मानिने राजनीतिक दलहरूको कमजोर धरातल मात्र हो । यदि वर्तमान व्यवस्थाप्रति राजनीतिक दलहरूमा विश्वास र भरोसा छ भने एक जना निःशस्त्र नागरिकले केही बोल्दा थर्कमान हुनुपर्ने कुनै कारण छैन र हुँदैन पनि । बरु राजनीतिक दलहरूमा मच्चिएको कोलाहलले त वर्तमान गणतान्त्रिक व्यवस्थाको जग कति कमजोर रहेछ भन्ने पुष्टि गरेको छ । यो सबै कारण वर्तमान राजनीतिक शक्तिकै कारण भएको हो । त्यसैले आफूले गरेको गल्तीलाई छोप्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोष दिनु भनेको ‘नाच्न नजान्ने आगन टेढो’ जस्तै हो । यस विषयलाई वर्तमान राजनीतिक दल र तिनका नेताहरूले राम्रोसँग बुझ्न जरुरी छ । [email protected]
















