नेपालीहरुमा बढ्दो हिन्दूमोहको औचित्य

223

–चन्द्रप्रकाश बानियाँ
नेपाली समाजमा संविधान लेखनको पूर्वसन्ध्याकालमै देखापरेको “हिन्दू धर्म” सम्बन्धी तातो बहस संविधान जारी भैसक्दा पनि शान्त भैसकेको छैन । संविधानले मुलुकलाई धर्मनिरपेक्ष भनेर परभाषित गरिसके पनि विवाद जारी छ । धार्मिक राज्यको पुनःस्थापनाका लागि अभियानहरु चल्दै छन् । धर्म मान्ने मानिसले हो, राज्यले होइन । राज्यसीमाभित्र अनेक धर्मसंस्कृतिको अस्तित्व रहन सक्छ र रोजी छाँटी धर्मसंस्कृति अवलम्बन गर्ने स्वतन्त्रता मानिसलाई रहन्छ । राज्यले जनतामाथि धर्म लाद्नु उपयुक्त हुँदैन । त्यसैले राज्यको कुनै धर्म हँुदैन र हुनु हुँदैन पनि । राज्य धर्मभन्दा माथि उठ्न सक्नुपर्छ । धर्म र राज्यबीचको अन्तर्सम्बन्धको बारेमा विकसित आधुनिक विचार हो यो । तर यो सार्वभौम सिद्धान्त बनिसकेको छैन । धर्मद्वारा नियन्त्रित हुने राज्यव्यवस्थाको जमाना पुरानो भैसक्यो । त्यही कारणबाट धर्मनिरपेक्ष राज्यको अवधारणा विकसित भएको हो । तैपनि धर्मसापेक्ष राज्यहरुको अस्तित्व धर्तीबाट पूर्णरुपमा समाप्त भने भैसकेको छैन । कैयौं धार्मिक राज्यहरु यो भूलोकमा आजसम्म विद्यमान छन् । नेपाललाई पनि २०१९ सालको संविधानले धर्मसापेक्ष मुलुक घोषणा गरेको थियो । ४७ साले संविधानले त्यसलाई निरन्तरता दिएको भए पनि बहुधार्मिकता नेपालको धरातलीय यथार्थ हो र राज्यको कुनै धर्मसँगको संलग्नता न्यायोचित मानिन सक्तैन भनेर अन्तरिम संविधान–२०६४ द्वारा नेपाल एउटा धर्मनिरपेक्ष राष्ट्र घोषित भैसकेको हो । नयाँ संविधानले पनि त्यसलाई निरन्तरता दिएको छ । संविधानतः निक्र्योल भैसकेको विषयलाई विवादमा तान्ने प्रयत्न भने जारी नै छ ।
हिन्दूधर्मसँग सम्बन्धित पुरेत, पण्डित, पण्डा, धर्माधिकारी वा धार्मिक संघसंस्थाहरुले मुलुकलाई पुनः हिन्दूधर्मसापेक्ष बनाउनुपर्छ भनेर अभियान चलाउनु अस्वाभाविक मानिँदैन । खाइपाई आएको सुविधा छोड्ने कुरा कसलाई रुचिकर लाग्छ र ? नागरिक स्वतन्त्रता र समानताको आधारभूत सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने नागरिक चेत नपलाइसकेको व्यक्ति वा समुदायले अग्राधिकारको खोजी गर्नु वा ठूलो भागको अपेक्षा राख्नु स्वाभाविक हो । तर आधारभूत नागरिक अधिकारको लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने राजनीतिक संघसंगठनहरु पनि तिनै धर्मान्ध धर्मभिरुहरुको लहैलहैमा लाग्नु विडम्बना नै हो भन्नुपर्ने हुन्छ । राप्रपा नामको राजनीतिक संगठनले हिन्दूधर्मलाई आफ्नो राजनीतिक दर्शन नै बनाएको छ । नेपाली काँग्रेसजस्तो नेपाली समाजमा नागरिक चेतनाको पहिलो दियो बाल्ने पार्टीका नेता कार्यकर्ताहरु समेत हिन्दू धर्मसापेक्ष राज्यको मागदाबीको आन्दोलनमा कन्दनी कसेर होमिनु आश्चर्य मान्नुपर्ने विषय बनेको छ । अझै एक कदम अघि बढेर आफ्नो पार्टीको नाममा “कम्युनिष्ट”को फुर्को झुण्ड्याउने रहर नपुगिसकेको राजनीतिक दल नेकपा एमालेका नेता कार्यकर्ताहरु समेतले धर्म निरपेक्षतालाई धार्मिक स्वतन्त्रताद्वारा प्रतिस्थापना गर्ने पक्षमा अभियान चलाउनु सैद्धान्तिक विचलन मात्रै नभएर अज्ञानताको पराकाष्ठा होइन भन्न मिल्दैन । “धार्मिक स्वतन्त्रता व्यक्तिसँग र धर्मनिरपेक्षता राज्यसँग सम्बन्धित विषय हो” भन्ने जस्तो सामान्यज्ञानको हेक्का राख्न नसक्ने नेताजीहरुको बौद्धिकताको निन्दा आलोचना गर्नुको कुनै अर्थ रहँदैन । सामाजिक परम्परा, संस्कार संस्कृति, धर्म र राज्यबीचको अन्तर छुट्याउन नसक्नेहरु समाजका अगुवा भैटोपल्दाको परिणाम होइन यो भन्न मिल्दैन । “टपर्टुईंया पनि हुन्छ, मूूर्खमध्ये प्रतिष्ठित” ! भनेजस्तो विषयको आधारभूत ज्ञानविनाका अगुवाहरु समाजको नेतृत्वमा पुगेपछि गलत विषयले प्रश्रय पाउनु अस्वाभाविक हँुदैन ।
मानव समाजलाई सबभन्दा बढी प्रभावित गर्ने विषय धर्म नै हो भन्दा फरक पर्दैन । त्यही सन्दर्भमा जर्मन दार्शनिक कार्ल माक्र्सले धर्मलाई “अफिम” भनेका होलान् । धर्मको परिभाषा धेरै अर्थमा गर्न सकिन्छ । तर यतिबेला चर्चा चलेको विषय भने धार्मिक मत वा सम्प्रदायसँग मात्र सम्बन्धित हो । समाजविकासको सिलसिलामा भिन्नभिन्न मानवसमुदायहरुले पृथक् पृथक् धार्मिक मान्यताहरु स्थापित गरेका छन् । ताओ, कन्फुसियस्, जेन्द, जैन, इस्लाम, इसाई, बौद्ध, हिन्दू आदि धार्मिक मान्यताहरु संसारका बहुसंख्यक मानिसहरुलाई अनुयायी बनाउन सफलमध्येका धर्मसम्प्रदायहरु हुन् । यतिबेला नेपालमा हिन्दूधर्म विशेष चर्चाको विषय बनेको छ । त्यसैले “हिन्दू” भनेको धर्म, संस्कृति, राष्ट्रियता वा क्षेत्रीयता जनाउने मध्येको कुनै एक शब्दावली हो अथवा तीमध्ये केही पनि नभएर एउटा मिथ्या भ्रम मात्र हो भन्ने सन्दर्भमा छोटो चर्चा चलाउनु अनुपयुक्त नहोला ।
भारतलाई “हिन्दूस्तान” भनेर पनि चिनिन्छ । हिन्दूहरुको वासस्थान रहेको भूमिको नाम हिन्दूस्तान रहेको भने होइन । बरु जुनसुकै जाति वा धर्मको किन नहुन् हिन्दूस्तानमा बस्ने मानिसहरुलाई हिन्दू भन्न थालिएको हो । भारतको संविधानले आफ्नो राज्यलाई हिन्दूस्तान भनेको छैन । भारतीय संविधानमा लेखिएको छ–“क्ष्लमष्ब, तजबत ष्क द्यजबचबत, कजबिि दभ ब गलष्यल या कतबतभक।” भारत र इन्डिया दुबैलाई एक अर्काका पर्यायवाची शब्दको रुपमा संविधानबाटै औपचारिक मान्यता दिइएको छ । भारतीय संविधानका लागि हिन्दूस्तानभन्दा इन्डिया किन बढी रुचिकर ठह¥यो भन्ने तथ्यको पनि थोरै चर्चा गर्नु अप्रसाँगिक नहोला । क्ष्लमष्ब भन्ने अङ्ग्रेजी शब्द क्ष्लमगक (इन्डस) बाट बनेको हो । सिन्धुनदीको अंग्रेजी नाम क्ष्लमगक लोकप्रचलित छ । वास्तवमा क्ष्लमगक पनि सिन्धु (क्ष्लमजग) को अपभ्रंश हो । फारसी भाषामा “स” लाई “ह” भनेर उच्चारण गरिन्छ । प्रारम्भमा फारसीहरुले सिन्धुलाई हिन्दू भने र त्यही उच्चारण सुनेका अंग्रेजहरुले हिन्दूको “ज्” विलोप (गलमभचकतययम) गरेर इन्दु उच्चारण गर्ने गरेका हुन् । यसरी सिन्धुलाई इन्दस् र हिन्दूलाई इन्दु भन्दै सुन्दै जाँदा देशको नाम क्ष्लमष्ब (इन्डिया) रहन गएको हो । भारतलाई इन्डिया भन्ने नाम कम्पनी सरकारले दिएको हो । भारतभूमिको पछिल्लो नामाकरणको कारक सिन्धुनदी हो र सिन्धुनदीको आधुनिक नाम क्ष्लमगक (इन्दस्) रहेको हुनाले राज्यको नाम हिन्दूस्तान राख्नुभन्दा इन्डिया राख्नु बढी तर्कसंगत मानिएको हो ।
हिन्दू होस् वा इन्दु, ती दुवै नामहरु स्थानीय होइनन् । तत्कालीन समयमा हिमालदेखि कन्याकुमारी (समुद्रीतट) सम्मको भूभागमा बस्ने मानिसहरुलाई फारसीहरुले दिएको नाम “हिन्दू” र सिन्धुपूर्वको भारतीय उपमहाद्विपको नाम हिन्दूस्तान हो । “स” कारलाई “ह”कारको रुपमा उच्चारणीय मान्यता ऋग्वेदको निरुक्त सुक्तले पनि दिएको छ ।
वर्तमान रुसको साइवेरीयास्थित भोल्गा नदीको किनारमा उत्पत्ति (विकास) भएको मानवजातिको एउटा शाखाले घुम्दैफिर्दै कालान्तरमा सिन्धुघाँटी छिचोलेर भारतभूमि छिरेपछि विकास गरेको धर्मसंस्कृतिलाई “वैदिक संस्कृति” भनियो । लामो समयावधि लगाएर विकसित तथा परिमार्जत हुँदै आएको खिचडी संस्कृतिको रुपमा हिन्दूधर्मको प्रादुर्भाव भएको हो भनेर मानिन्छ । त्यसैले अन्य धर्ममा जस्तो निश्चित आचार व्यवहारको कट्टरता हिन्दूधर्ममा अनिवार्य छैन । मुश्लिम धर्ममा नमाज पढ्नु अनिवार्य छ । इसाईहरुका लागि आइतबार गिर्जाघरको प्रार्थनासभामा उपस्थित हुनैपर्ने बाध्यात्मक व्यवस्था गरिएको हुन्छ । तर हिन्दूधर्ममा नत कुनै मन्त्र स्तोत्र पाठ गर्नु अनिवार्य छ न त कुनै तिथिबारमा मन्दिरमा जानैपर्ने बाध्यता हुन्छ । शिव, नारायण, गणेश, हनुमान्, कृष्ण, राम वा भगवती मध्ये मनपर्ने कुनै एउटा देवता मान्ने वा एकैसाथ सबै देवीदेवता मान्ने वा कसैलाई मान्दिन भन्ने स्वतन्त्रता छ । देवता नमानेबापत दण्डभागी बन्नुपर्दैन । त्यसअर्थमा हिन्दूधर्म भनेको एउटा अराजक धर्मसंस्कृति हो भन्दा पनि फरक पर्दैन ।
हिन्दू धर्मग्रन्थहरुको मान्यता पाएका वेद, उपनिषद्, ब्राह्मण ग्रन्थ वा स्मृति, पुराणहरु कतै पनि हिन्दू शब्द फेला पर्दैन । हिन्दू धर्म भनेको हिन्दूस्तान भनेर परिचित राज्यमा अवलम्बन गरिएको धार्मिक सामाजिक संस्कृति हो । हिन्दू भन्ने शब्द धर्मसँग भन्दा बढी राष्ट्रसँग सम्बन्धित छ । त्यही भएको हुनाले भारतीय विद्वान पण्डित श्री हरिभाउजी उपाध्यायले “हिन्दू शब्दको इतिहासले हामी (भारतीयहरु)लाई गौरवान्वित गराउँदैन” भनेका छन् (कल्याण, हिन्दूसंस्कृति अङ्क, पृ.–१७७) । उनको इशारा हिन्दू शब्दको उत्पत्तितिर होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।
हिन्दू भन्ने शब्द हिन्दूस्तानबाट आएको हो र पछिल्ला संस्कृत साहित्यहरुले हिन्दूभूमिको परिभाषा यसरी गरेको भेटिन्छ–
“हिमालयं समारभ्य याविन्दुसरोवरम् ।
तं देवनिर्मित देशं “हिन्दूस्थानं” प्रचक्षते ।।
हिन्दूस्तानको उत्तरी सीमा हिमालयपर्वत श्रृङ्खलालाई मान्ने भारतको सनातन मिचाहा प्रवृत्ति धर्मग्रन्थहरुकालबाटै प्रारम्भ भएको हुनुपर्छ र आजपर्यन्त जारी छ । भारत भनेको इन्डिया मात्र होइन, संविधानले मान्यता नदिए पनि व्यवहारमा हिन्दूस्तान पनि हो । भारतभूमि बाहिरका मानिसहरुले न्वारान गरिदिएकै भए पनि देशको नाम हिन्दूस्तान भयो र हिन्दूस्तानमा विकसित भएको धर्मसंसकृति पनि हिन्दू कहलिन गयो । हिन्दूस्तानमा बोलिने भाषा हिन्दी भयो । हिन्दूस्तानमा बस्ने मानिसहरु हिन्दू भनिए । खसभाषा नेपालभर बोलिन थालेपछि नेपाली भाषाको पगरी पाएजस्तै हिन्दूस्तानभर मानिन थालेको धर्मसंस्कृतिको नाम हिन्दू भएको हो । नेपालभूमि कहिल्यै पनि भारत अर्थात् हिन्दूस्तानको अधिनस्थ रहेको इतिहास प्रमाण छैन । त्यसैले नेपाल हिन्दुस्तानको अंश पनि होइन र नेपालीहरु हिन्दू अर्थात हिन्दूस्तानका नागरिक इतिहासको कुनै कालखण्डमा थिएनन् र आज पनि होइनन् । सांस्कृतिक अतिक्रमणको चपेटामा पारेर नेपालका आदिवासी खस, किराँत र लिच्छवीहरुलाई समेत हिन्दूस्तानमा विकसित भएको संस्कृति र धार्मिक परम्पराहरु अवलम्बन गर्न गराउन बाध्य पारिएको हो । नेपालका खस, किराँत, लिच्छवी र मगरहरुको मौलिक धर्मसंस्कृति हिन्दू होइन ।
अन्तमा,
भारतमा पछिल्लोपटक आयोजित “अखील भारतवर्षीय हिन्दूसभा”ले यस्तो निर्णय गरेको थियो–
“आसिन्धोः सिन्धुपर्यन्ता यस्य भारतभूमिका ।
पितृभूः पुण्यभूमिश्चैव स वै हिन्दूरिति स्मृतः ।।
(अर्थात सिन्धु नदीदेखि सागरसम्मको भारतभूमिलाई आफ्नो पितृभूमि र पुण्यभूमि मान्नेहरुलाई “हिन्दू” भनेर मान्न सकिन्छ । )
खसहरुको नेपाल आगमनमार्ग वैदिकआर्यको भारत आगमन मार्गभन्दा अलग थियो भन्ने कुरा पुष्टि भैसकेको सन्दर्भमा तराईमूलका हिन्दूहरुको पितृभूमि भारत हुनसक्छ तर खसहरुले भने भारतलाई पुण्यभूमि माने पनि पितृभूमि मान्न मिल्दैन । भारतलाई पितृभूमि नमानेपछि आफूलाई हिन्दू भनाउने दाबी पुग्दैन । वर्ण वा जातिलाई अपरिवर्तनीय मान्नु हिन्दूधर्मको मुख्य विशेषता हो भनेर मानिन्छ (ब्रह्मानन्द सरस्वती, कल्याण, हिन्दूसंस्कृति अंक, पृ.२७)। अर्थात् हिन्दू भनाउने अधिकार जन्मले मात्र प्राप्त हुन्छ, कर्म वा आचारबाट होइन । राजतरङ्गिणी, महाभारत, मनुस्मृति आदि ग्रन्थहरुका आधारमा वैदिक वर्णइतर (अवर्ण)को जाति ठहरिने हुनाले खसहरु हिन्दू हुनसक्ने प्रावधान देखिँदैन । त्यसअर्थमा नेपालका खसहरुले हिन्दूधर्मका लागि आन्दोलन चलाउनु अज्ञानता र भ्रम मात्र हो भन्नु आग्रह ठहर्लाजस्तो लाग्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here