सुन तस्करीका नाइके कुनै पनि हालतमा समातिन्छन्

149

कृष्ण बहादुर महरा
उपप्रधानमन्त्री एवम अर्थमन्त्री
देशको राजनीतिक निकास कसरी खोज्दै हुनुहुन्छ मन्त्री ज्यू ?
राजनीतिक मार्ग पछिल्लो समयमा विस्तारै ठिक हुँदैछ । संसदमा बहस भएपछि यसको निकास निस्किन्छ भन्ने लागेको छ ।
प्रतिपक्ष दल एमाले संविधान संशोधनमा अबरोध बनेको छ नि ?
एमाले पनि पछिल्लो समयमा छलफल गर्न दिनेमा पुगेको छ । अबरोध हिजो जस्तो छैन । वहसमा के निस्किन्छ, त्यो पछिको कुरा हो । निष्कर्ष निस्किने कुरामा पर्खिने कुरा हो ।
पारित गर्नको लागि त दुईतिहार्ई मत चाहिन्छ, तपाईहरूसँग दुईतिहाई छैन त ?
वहस गर्दै जादा गणितको अंक तलमाथि हुन सक्छ । वहस गर्दै जाँदा सर्वसम्वत हुन पनि सक्छ ।
एमाले पार्टीले संविधान संशोधनमा सहयोग गर्ला ?
गर्नसक्छ । पहिले संसदमा वहस सुरु गरौँ , आ–आफ्ना कुरा राखौँ , विषय जे छ त्यसमा प्रवेश गरौं, मधेशवादीका आफ्नै माग होलान् , अरुका पनि आ–आफ्ना मागहरु होलान । छलफल पछि निष्कर्षमा पुग्न सकिन्छ । छलफल पछि सर्वसम्मतिको प्रस्ताव बनेर पारित हुन सक्ने अवस्था पनि आउन सक्छ ।
तपाईले यसो भनिरहँदा राष्ट्रघाती प्रस्ताव कुनै पनि हालतमा हामी छलफल गर्न दिदनाँै भनेको छ त एमालेले ?
हिजोको अडान भन्दा अलि पछाडी आएको छ एमालेपनि । संसदमा टेबुल भएको छ । हिजो त टेबुलै गर्न पाउनु हुन्न भन्नेमा थिए नि †
त्यसो भए संशोधन प्रस्ताव सदनमा अड्केर बस्दैन ?
बस्दैन । किन बस्ने ? केही प्रतिक्षा होला, संशोधन प्रस्तावलाई आलोचनात्मक रुपमा मधेशवादी दलले पनि प्रतिक्रिया जनाएकै छन् , त्यसैले छलफल सुरु हुन्छ , संशोधन गरेर सर्वसम्मतिबाट प्रस्तावलाई पारित गरेर चुनावमा जाने वातावरण बनाउन सकिन्छ ।
तपाईको निर्वाचन क्षेत्र पाँच नम्बर प्रदेशमा हो । पहाड र तराईलाई अलग बनाउने गरी संशोधन किन ल्याउनु भयो ?
प्रदेशको सिमाङ्कनलाई सिमाङ्कनको रुपमा मात्र हेर्नु हुँदैन । कतिपय ठुला अधिकारलाई जनताको बीचमा लान सजिलो हुन्छ । गाउँपालिका जिल्ला भन्दा शक्तिशाली हुन्छन् , जिल्ला भन्दा प्रदेश शक्तिशाली हुन्छ र त्यसपछि सिंगो देश अन्तिम निर्णयकर्ता हुन्छ नै ।
जनताको मर्म र भावना विपरीत भयो भन्छन् पाँच नम्बर प्रदेशको सिमाङ्कन प्रस्ताव ?
मलाई त्यस्तो लाग्दैन । म २०५८ सालमा देउवा नेतृत्वको सरकारसँग युद्धरत माओवादी पक्षबाट प्रतिनिधित्व गर्दै वार्ता टोलीमा आउँदा राजतन्त्र अन्त्य गरौँ र सविधानसभाको चुनाव गरौँ भन्दा यो कुरै नगरौँ भन्नु भएको थियो देउवाको सरकारी टोलीले । त्यसैले त्यो बेला एमाले र काँग्रेस पार्टीका साथीहरु राजतन्त्र फाल्नेमा नै सहमत थिएनन् भन्ने प्रष्ट थियो नि ! आखिर सहमति भयो र संविधानसभाको चुनाव पनि भयो, राजसंस्था पनि त गयो ! त्यसैले सबैले आ–आफ्नो हठमा बस्नु ठीक हुँदैन । दश वर्षसम्म हामी माओवादीले सशस्त्र युद्ध लड्यौं । युद्धको एजेण्डा नौलो जनवाद नै थियो । तर जनवाद प्राप्त नगर्दै हामी सहमतिमा आयौं । हामीहरुले जनवाद नभई शान्तिप्रक्रियामा हामी आउँदैनौं भनेर अडान लिएको भए देशको स्थिति कहाँ पुग्थ्यो ? सबैले सोच्न जरुरी छ । मधेसी मोर्चाले पनि आफ्नो अडानबाट लचकता अपनाउनैपर्छ, एमालेले पनि आफ्नो हठबाट अलिकति लचकता देखाउनैपर्छ, त्यसपछि सर्वसम्मतिमै संविधान संशोधन गर्न सकिन्छ । राष्ट्रको हितमा र नेपाली जनताको हितमा सबै राजनीतिक दलहरुले सोच बनाउने हो भने सर्वसम्मतिको सम्भावना निश्चय पनि छ ।
संविधानको धारा २७४ लाई हेर्दा सीमांकनको प्रस्ताव संविधान विपरीत भयो भनेर एमालले भनिरहेको छ नि ?
एमालेको बुझाईमा अलिकति ल्याप्सेस भएको हो । तर्कहरू हिजोको आधारमा मात्रै गरेर हुँदैन ।
संविधान संशोधन अरुको इशारामा आएको भनेर आरोप लगाएको छ नि एमालेले त ?
कदापि होइन । यस्तो तर्कमा कुनै सत्यता छैन । संविधान परिवर्तनशील हुन्छ । जनताको आकांक्षालाई सम्बोधन गर्दै संशोधन गर्दै जाने दस्तावेज हो नि संविधान त ।
चुनावको मिति घोषणा गर्ने काममा दलहरूबीच सहमति हुन्छ अब ?
अवश्य हुन्छ, चुनावको विकल्प छैन । चुनावले नै संविधान कार्यान्वयन गर्ने र राजनीतिलाई परिवर्तित मोडलमा संस्थागत गर्ने हो ।
माओवादी नेतृत्वको सरकारले नै तीन वटै निर्वाचन गर्ने सहमति भएको हो ?
नेपाली कांग्रेस र राप्रपा लगायतको गठबन्धन बनेको छ । यही गठबन्धनले तिन वटै निकायको चुनाव गर्ने हो ।
मधेशवादी दलहरूले संशोधन नभईकन चुनावमा जादैनौँ भनेको छ नि ?
भन्ने कुरा एउटा हो । निर्वाचनबाट कसैले भाग्न मिल्दैन । चुनावले नै जनताको अधिकारको प्रतिनिधित्व गर्ने हो ।
बिकासको लागि दिनरात लागिरहनु भएको नेता हो तपाई ? तपाईको काममा कर्मचारीले सहयोग नगरे जस्तो देखिन्छ नि ?
बिकास सबैको लागि हो । मलाई कसैको असहयोग भए जस्तो लाग्दैन , तर काम चाँही गरेको देखिएको छैन । असारको मसान्तमा काममा तीव्रता दिने ,चैतमा कामको गति देखाउने भन्ने चलन छ । त्यो हुँदैन अब । अहिले नै काम गरिहालौं भनेर मैले भनेको छु ।
बिकासका काममा अनुगमन आवश्यक हुन्छ, हाम्रो देशमा अनुगमन किन फितलो हुन्छ ?
अधिकार दिएर अधिकार सम्पन्न गर्ने हुन्छ । पावर जोईन भयो भने फितलो हुँदैन । सबै राजनीतिक दलले साथ दिने हो भने फितलो हुँदैन । बिकासको लागि जसको सरकार भएपनि बिकासको काममा बाधा पु¥याउनु हुदैन । भएको पैसा खर्च नगर्ने, बजेट फ्रिज हुने जस्ता काम जायज हुँदैन ।
हाम्रो देशको बिकासको गति देखेर तपाई सन्तुष्ट हुनुहुन्छ त ?
छैन , म विल्कुलै सन्तुष्ट छैन, बिकास अलि छिटो हुनुपर्छ । असारमा गएर गर्ने, जेठमा गएर तातिने काम राम्रो होईन । त्यो समयमा त बर्ष भरिका कामको समिक्षा गर्नुपर्छ ।
हाम्रो देशको बिकासमा सबै भन्दा दोषी को हो ? नेता कि, कर्मचारी ?
त्यसो त एउटालाई मात्र दोष दिएर हुँदैन । प्रक्रिया नै गलत छ ।
प्रक्रियालाई सच्याउन सकिदैन ?
सकिन्छ । हामीले सच्याउन खोज्दैछौँ ।
राजस्वको कुरामा तपाईको बिचार के छ ? सन्तुष्ट हुनुहुन्छ ?
राजश्व उठिरहेको छ । सबै निकाय लागिरहनु भएको छ । राजश्वमा म सन्तुष्ट छु ।
जनताले कर तिरेका छन् त्यो राजश्वको सदुपयोग भएन भनिन्छ नि ?
राजश्व उठ्ने कुरामा दुइमत छैन । यसलाई कसरी खर्च गर्ने भनेर लागिरहेका छौँ । जनताको कुरा पनि ठीक हो । खर्च गर्ने समयमा झमेला गर्ने, जुन बेला चटारो सुरु हुन्छ त्यो बेला तातिने कामले गर्दा यस्तो भएको हो ।
प्रसंग बदलौं , सुन तस्करीको बारेमा तपाईले अनुगमन गर्नु भएन भन्ने छ नि ?
हेईन । यो सुन तस्करी सानो एउटा दुईटा शक्तिले गरेको छैन । राष्ट्रिय तथा अन्तिराष्ट्रिय शक्ति यसमा क्रियाशील छ । भन्सार बिभागमा काम गर्ने कर्मचारी लगायत सबै माथि निगरानी भईरहेको छ । सिआईबी त्यसको अनुगमनका लागि खटिरहेको छ । पत्ता नलागी यसै यही हो भन्न सकिने अवस्था छैन । राज्य संयन्त्र छानविनको लागिरहेको छ , कर्मचारी यता र उता गरेर मात्र यो समस्या समाधान हुँन सक्दैन ।
हाम्रो देशमा भरियाहरू समातिन्छन् तर मालिकहरू समात्नको लागि सरकार किन सफल हुँदैन ?
सफल हुन सकिन्छ । मालिक समातिन्छन् , कुनै पनि हालतमा समातिन्छन् । प्रशासनलाई पनि मैले भनेको छु ,कुनै पनि हालतमा सुन तस्करको मुल जरो पत्ता लगाउनुस् र कानुनी दायरामा ल्याउनुस् भनेर मैले भनेको छु । अपराधीहरू उम्किन पाउँदैनन् ।
सुन तस्करी रोकिन्छ त अब नेपालमा ?
रोक्नु पर्छ । नरोकी सुखै छैन । गृहमन्त्री र मेरो बीचमा कुरा भएको छ । नीतिगत रुपमा सुधार गर्नुपर्छ ,त्यो पनि बुझौँ भनेर मैले भनेको छु ।
पेखरामा गएर भन्नु भयो, हामी त साना माछा हौँ,ठुला माछा त अरु नै छन् भनेर । त्यसको अर्थ के हो ?
त्यो एकदमै झूट प्रचार हो । कुनै मिडियाले दुराग्रह तरिकाले गराएको प्रचार हो त्यो । अर्थमन्त्रालयको भन्सार बिभाग छ । त्यहा केही कमजोरी भएको छ । त्यहाँका कर्मचारीलाई मैले भूरा माछा भन्न खोजेको हुँ । तर गलत अर्थ लगाएर प्रचार गरियो ।
त्यहाँ तपाईको नाम आयो नि त ?
भन्सारमा पनि साना देखि ठुला माछा छन् । केही त्रुटी भएकै छ भनेको कुरालाई गलत ढंगले प्रचार भयोे । सबै दोषीहरुलाई कारबाही गर्नै पर्छ भनेर मैले भनेको छु । – प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here