राष्ट्रसंघबाटै सुडानीहरुलाई नरसंहारको चेतावनी

155

सुडान । संयुक्त राष्ट्रसंघले नै दक्षिणी सुडानमा नरसंहारको खतरा रहेको भनी चेतावनी दिएको छ । राष्ट्रसंघले दक्षिण सुडानका सेना र विद्रोहीहरुले नस्लीय आधारमा नागरिकलाई निशाना बनाइरहेको आरोप लगाउँदै नरसंहारको चेतावनी दिएको हो । दक्षिण सुडानमा हाल गृहयुद्ध जारी छ । सोही गृहयुद्धको आडमा नस्लीय हिंसा भइरहेको राष्ट्रसंघको दाबी छ ।
हिंसा प्रभावित क्षेत्रकी एक महिला बीबीसी संवाददातासँग कुरा गर्दै भन्छिन्, ‘मेरो छोरा माछा मार्न गएको थियो । उसले यो लाश देख्यो । यहाँ यस्तो घटना प्रायः भइरहन्छ ।’ सुडानका बिभिन्न क्षेत्रमा जनजातिहरुले गृहयुद्ध छेडेका छन् । सदियौंदेखि सँगै बस्दै आएकाहरु कोही सेनामा गएका छन् त कोही विद्रोहीको समूहमा ।
अफ्रिकाका संवाददाता एलिस्टेयर लीथहेड भन्छन्, ‘सेनाले आम सर्वसाधारण नागरिकको सुरक्षाको कुरा त गर्दछ । तर, त्यही सेनाविरुद्ध प्रश्न उठिरहन्छ ।’ हिंसाप्रभावित क्षेत्रका एक व्यक्ति बीबीसीसँग भन्छन्, ‘तीन जना सैनिकहरुले मेरी बहिनीलाई बलात्कार गरे ।’
अर्का एक प्रत्यक्षदर्शीले भने, ‘१० जना युवाहरुलाई लाइनमा उँभ्याएर सेनाले गोली हानेर मा¥यो । र, एक महिलालाई सैनिकहरु घरभित्र पसेर कुटपीट गरे ।’
यस लडाईंमा सैनिक र विद्रोही दुबैपक्ष शंकाको घेरामा छन् तर, यी सबै आरोप सरकारी सेनालाई लागेको छ । सुडानको सरकारी सेना यी सबै आरोप स्वीकार गर्न तयार छैन ।
पिपुल्स लिवरेशन आर्मी सुडानका चोल डेंग चोल भन्छन्, ‘यहाँ कुनै हत्या र बलात्कार भएका छैनन् । हामी केबल विद्रोहीहरु मार्दछौं । जब विद्रोहीहरु मारिन्छन् तब स्थानीय दाबी गर्दछन् कि यिनीहरु आम सर्वसाधारण थिए ।’
सेनाको दाबीको बाबजुद पछिल्ला आठ महिनामा एउटै प्रान्तबाट आठ लाख नागरिक विस्थापित भइसकेका छन् । यहाँ हरेक ठाउँमा रित्ता घर र विराना गाउँमात्र देख्न सकिन्छ । र, यी सबैको पछाडि खतरनाक नस्लीय कारण पनि छ । यसैकारण संयुक्त राष्ट्रसंघले यहाँ नरसंहारको चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here