पछिल्ला केही वर्षयता नेपालीहरुको औसत आम्दानी मात्र नभएर व्यापारिक घरानाहरुको संख्यासमेत थपिदै गएको छ । नयाँ थपिएका मात्र होइन पहिलेदेखि नै अस्तित्वमा रहेका व्यापारिक घरानाहरुको पुँजी पनि ह्वात्तै वृद्धि भइरहेको छ । नेपालीहरुको पुँजी वृद्धिसँगै पुँजी पलायनको समस्या पनि विकराल बन्दै गइरहेको छ ।
नेपालबाट पुँजी पलायन गराउनेमध्ये पहिलो नम्बरमा पर्छन् विश्व अर्बपतिको सूचीमा परेका नेपाली व्यापारी विनोद चौधरी । भलै उनले कानुनी रुपमा पुँजी पलायन गरिरहेको दावी गर्दै आएका छन् । तर उनले दावी गरिरहेको कानुन बाटो नै ‘चोर बाटो’ भएको भनी आफैले स्वीकार गरेका छन् । उनी आफैले लेखेको आफ्नो वृत्तान्तबारे पुस्तकमा यस्तो स्वीकारोक्ति छ । उनले विभिन्न मुलुकमा व्यापार सुरु गर्ने तथा नयाँ–नयाँ प्लान्टहरु स्थापना गर्ने नाममा वार्षिक अर्बाैं रुपैयाँ नेपालबाट विदेशतिर पलायन गराइरहेका छन् ।
चौधरीले आफूले विदेशमा लगानी गरे पनि मुख्यालय नेपालमै हुने दावी गर्दै आएका छन् । तर उनका गैरआवासीय दुई छोराहरुमार्फत् विदेशमा लगेको पुँजी नेपालमा आउने कुनै सम्भावना छैन । विदेशमै कम्पनी खडा गरेर तथा प्लान्टहरु स्थापना गरेर नेपाली पुँजी लगानी गरिरहेका उनले अन्ततः आफ्नो पुँजीलाई विदेशतिरै ‘सिफ्ट’ गर्न खोजिरहेको संकेत मिल्छ ।
चौधरी मात्र होइन अन्य कैयाँै नेपाली व्यापारीहरुले पनि विभिन्न बहानामा नेपालको पुँजीलाई विदेश पलायन गराइरहेको भेटिन्छ । कतिपय व्यापारीहरुले त सरकारको आँखा छल्दै गैरकानुनी रुपमा समेत पुँजी पलायन गराइरहेका तथ्यहरु सार्वजनिक हुने गरेका छन् । तर नेपाल राष्ट्रबैंकको कमजोर नीतिका कारण नेपालबाट वैध तथा अवैध रुपमा भइरहेको पुँजी पलायन रोकिन सकिरहेको छैन । कतिपय व्यापारीहरुले नेपालमा रहेको कालो धनलाई विभिन्न ढंगले विदेश पलायन गराइरहेको अर्थविद्हरुको विश्लेषण पाइन्छ । विदेशबाट सामान आयात गर्दा खरिद मूल्यभन्दा दशौं गुणा बढीको बिल देखाएर नेपालको पुँजीलाई विदेश पलायन गराउने प्रवृत्ति पनि देखिएको विज्ञहरुले जनाएका छन् । नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालको लागि पुँजी पलायन प्रवृत्ति अत्यन्त खतरनाक आर्थिक अपराधका रुपमा देखा परिरहेको उल्लेख गर्नुभएको छ । तर यस्तो प्रवृत्तिलाई रोक्नका लागि सरकारले कुनै नीति अबलम्बन गरेको देखिदैन ।
पछिल्लो समय पुँजी पलायनको अर्काे समस्याका रुपमा राजनीतिक दलहरुले आर्जन गरेको अवैध सम्पत्ति देखिदै आएको छ । विज्ञहरु भन्छन, ‘राजनीतिक दलका नेताहरुले अवैध तथा भ्रष्टाचार गरेर कमाएको रकम अवैध रुपमै पलायन गराइरहेका छन् ।’ नेताहरुले त्यस्तो अवैध रकम स्वीस बैंकलगायतका विदेशी बैंकहरुमा अबैधरुपमा जम्मा गर्ने गरेको कतिपय विज्ञहरुको दावी छ । कालो धनको सुरक्षाका लागि नेपालबाट पुँजी पलायन गराउनेमा राजनीतिक दलका नेताहरु पनि अग्रपंक्तिमा रहेको पाइन्छ ।
विकासको बाटोमा अघि बढिरहेको नेपालका लागि अहिले जतिसक्दो ठूलो लगानीको आवश्यकता छ । त्यसका लागि नेपाली लगानी मात्र पर्याप्त हुन सकिरहेको छैन । त्यसैलाई मध्यनजर गर्दै सरकारले विदेशी लगानीलाई समेत भिœयाउने प्रयास गरिरहेको छ । विदेशी लगानीलाई भिœयाउने प्रयास गरिरहेको मुलुकका उद्यमीहरुले नेपालकै लगानी विदेशतिर किन लगानी गर्नुमा बहादुरी देखिरहेका छन् ? यो गम्भीर प्रश्न हो । नेपालभित्र रहेको ठूलो पुँजीलाई स्वदेशमै प्रयोग गर्नुको सट्टा विभिन्न बहानामा बाहिरतिर पु¥याउन चोर बाटो अपनाउने व्यापारीहरुलाई कसरी नियन्त्रणमा राख्ने भन्नेबारे सरकारी नीति आवश्यक छ । विकासको पाइला पछ्याइरहेको नेपालजस्तो मुलुकका लागि वैधानिक वा अवैधानिक जुनसुकै रुपमा पनि पुँजी पलायनको प्रवृत्ति शुभ संकेत होइन । त्यसैले नेपालबाट हुने पुँजी पलायनलाई रोक्नका लागि राज्यले जतिसक्दो छिटो आवश्यक पहल गर्न तथा नीतिगत रुपमा समेत पुँजी पलायनलाई रोक्न आवश्यक छ । नेपालकै पँुजीलाई रोक्न नसकेको अवस्थामा विदेशबाट पुँजी भिœयाउने योजना प्रभावकारी हुने सम्भावना हुँदैन ।
















