नेपालमा फस्टाउँदै गएको त्रासको मनोवैज्ञानिक व्यापार चन्द्रप्रकाश बानियाँ

352

‘हुन्छ कि हुन्न’ भन्ने अन्योल र आशंकाकै बीच पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको छ । सत्तारुढ गठबन्धन निर्वाचन गराउने मानसिकतामा छैन भन्ने हल्ला यसरी चलाइएको थियो कि नेकपा एमालेका एकजना उपाध्यक्षले त वर्तमान सरकाले वैशाख ३१ मा निर्वाचन गराउँदै गराउँदैन भन्ने सन्दर्भमा त्यस्तो भएछ भने आफूले राजनीतिबाट संन्यास लिने घोषणासमेत गरेका थिए । हुन त राजनीतिक नेताको बोलीमा विश्वासको अंश कति पो हुन्छ र ? उनीहरू सत्य बोल्दैनन् र बोलेको कुरामा अड्दैनन् । धेरथोर नेपाली समाज त्यो हल्लाबाट प्रभावित थियो । अर्थात् सरकारले तोकिएको मितिमै चुनाव गर्छ÷गराउँछ भन्ने कुरामा पत्यार गरेको थिएन र उनको संन्यासको गफलाई पनि ‘एक कानले सुनेर अर्को कानबाट उडाएको’ थियो । उनको बोलीलाई यति हलुङ्गोसँग लिइएको थियो कि त्यसलाई स्मरणमा राखिरहनुपर्ने आवश्यकता ठानिएकै थिएन । कुनै उचक्का पत्रकारले समेत ‘चुनाव त सम्पन्न भयो अब पीतवस्त्र पहिरेर पशुपतितिर लाग्ने हो कि नेताजी’ भनेर सोध्ने छैन । भन्नुको मतलब नेपाली समाजमा नेताको बोलीको रत्तिभर मूल्य छैन । जे होस्, मुलुकमा चुनाव सम्पन्न भयो । जनताको उत्साहजनक सहभागिता देखियो । निर्वाचन परिणाम पनि परम्परागतभन्दा उतिसारो भिन्न आएन÷आउने लक्षण देखिएन । दृश्यमा उनै काँग्रेस, एमाले र माओवादीको वर्चस्व देखियो । न अपेक्षा गरेजस्तो एमालेले दुई तिहाइ स्थान जित्न सक्यो न हल्ला गरिएजस्तो माओवादी केन्द्रको पत्तासाफ नै भयो । बरु एकीकृत भएको राप्रापाले सम्मानजनक उपस्थिति दर्ता गराउन समेत सकेन ।

महानगर, उपमहानगर र नगरहरूमा राम्रो वर्चस्व कायम गर्न सफल भएको नेकपा एमालेले मनाङ र डोल्पाजस्ता दूरदुर्गममा स्थानीय तहहरूमा विजयको एकलौटी झण्डा फहराएको छ । निर्वाचनमा जीतहार त स्वाभाविक विषय हो तर एउटा अचम्म मान्नुपर्ने कुरा के रहेको देखियो भने एमालेको वर्चस्व र प्रभाव कि त पिछडिएको समाजमा देखियो कि भने अपेक्षाकृत उन्नत चेतना भएको समाज भनेर मान्नुपर्ने सहर बजारहरूमा देखियो । यो आफैमा संगति नमिल्ने कुरा हो । वास्तवमा एमालेप्रतिको मतदाताहरूको आकर्षणको मुख्य कारण उसले सिर्जना गरेको मनोवैज्ञानिक त्रास हो भन्नु बढ्ता हुन्छजस्तो लाग्दैन । ‘राष्ट्रियता खतरामा छ ! लम्पसारवादीहरूले मुलुकको सार्वभौमसत्ता लिलाम गर्ने अाँटिसके !! मुलुकलाई भूटानको नियतितिर पु¥याइसके !!! राष्ट्रघातीहरूको त्यो अभियान रोक्न सकिएन भने सिक्किमीकरणको शिकार हाम्रो मुलुक पनि हुनेछ !!!!’ जनमत आफूतिर आकर्षित गर्ने एमालेको एकमात्र हतियार यस्तै हल्ला हो ।

एमालेको इशारा भारत र प्रतिद्वन्द्वी पार्टीहरूतिर हो । यहीँनेर बुभ्mनुपर्ने कुरा के हो भने भारत नामको एकीकृत मुलुक अस्तित्वमा आएको झण्डै तीन शताब्दी हुन आँटयो । इष्टइन्डिया कम्पनी सररकाले भारत एकीकरण गरेयता सामारिक शक्तिका दृष्टिले नेपालभन्दा सधैं बलियो रहँदै आएको छ । भूगोल, जनसंख्या र शक्तिसामथ्र्यका हिसाबले भारत र नेपालीबीच तुलना हुनै सक्तैन । भारतले नेपाल निल्ने नियत नै राखेको हो भने त्यो घटना एक÷दुई शताब्दी अगाडि नै सम्पन्न भइसकेको हुने थियो । सामथ्र्यले नभ्याएका कारणले अंग्रेजले नेपाल बाँकी राखेको होइन । काश्मीर, नेपाल, भूटान, सिक्किमजस्ता ससाना राज्यहरू हिमाली क्षेत्रमा लहरै अस्तित्वमा रहन दिनु अंग्रेजको विशेष रणनीतिक स्वार्थको परिणाम थियो । भारत स्वतन्त्र हुँदाका बखत नेपालले राष्ट्रसंघको सदस्यता लिइसकेको थिएन । भारतले जबर्जस्ती नेपाली भूमि कब्जा गरिहालेको भए न घुँयत्राको बलले जोगाउन सकिन्थ्यो न त स्वतन्त्र राष्ट्रको नातामा सार्वभौमसत्ताको लडाइँ लड्ने ठाउँ नै रहन्थ्यो । अर्थात् बिर्सन नमिल्ने कुरा के हो भने भारतले लिन नचाहेकै हुनाले नेपालको अस्तित्व इतिहासदेखि वर्तमानसम्म सुरक्षित रहँदै आएको हो । त्यसैले हिजो नहडपिएको स्वतन्त्रता अब खोसिन्छ भन्नु व्यर्थ हल्ला मात्र हो । आफ्नो पञ्जाभित्र राख्ने र मुठ्ठीको माखो बनाउने आशय अलग कुरा होला तर सार्वभौसत्ता र स्वतन्त्रता नै समाप्त हुन्छ भन्नु स्वैरकल्पना मात्र हो । वास्तवमा जानी बुझीकनै चलाइएको कुत्सित हल्ला हो । त्यसको निहितार्थ नेपाली समाजलाई त्रसित बनाएर आफ्नो राजनीतिक दूनो सोझ्याउने दुराशय हो । जनतालाई मनोवैज्ञानिक ब्ल्याकमेलिङ गरेर आफ्नो पक्षमा उभिन प्रेरित गर्ने रकमी जालसाँज मात्र हो । एमालेले नियतवश चलाएको त्यही कूटिल हल्ला पत्याउने मतदाताहरूले उसको पक्षमा मतव्यक्त गरेका होइनन् भन्न मिल्दैन । भर्खर चेतनाको दियो बल्न थालेको पिछडिएको समाजमा हल्लाको प्रभाव पर्नु अस्वाभाविक मानिँदैन । तर, चेतनशील मान्नुपर्ने समाजमा पनि त्यही बासी फर्मुलाले काम गर्नुको अर्थ त्यस्तो समाजले विषयलाई आवश्यकताभन्दा बढी बुझेको होइन भन्न मिल्दैन ।

स्वतन्त्र चिन्तन गर्ने र निष्पक्षरूपमा विना आग्रहपूर्वाग्रह विषयलाई पर्गेल्ने मानिसहरूले नेपाली राजननीतिको यो बुझाइलाई निराशाजनक मान्दछन् । ‘एकातिर आँधी, अर्कोतिर झोलुङ्गो’ भनेजस्तो नेकपा माओवादीले अघि सारेका एजेण्डाहरूले राष्ट्रियस्वरूप ग्रहण गरेका छन् । अर्थात् पछिल्लो दशक माओवादी एजेण्डाबाट मुलुकको राजनीति डोरिएको कुरा यथार्थ हो । पूर्ववर्ती सरकारहरूको तुलनामा वर्तमान सरकारले अपेक्षाकृत राम्रो काम गरेको छ । राष्ट्र र जनताका पक्षमा भए गरिएका उल्लेखनीय कामहरू एक÷दुई तीन गरेर गन्न सकिने भएको छ । तर, निर्वाचनको माहोल भने उसको विपक्षमा गएको हो कि जस्तो देखियो । अर्थात् ‘काम गर्ने कालु, मकै खाने भालु’ भनेजस्तो काम र एजेण्डाका दृष्टिले अरुभन्दा वर्तमान सरकार अब्बल नभए पनि तद्विशेष रहेको कुरा कसैले इन्कार गर्न सक्तैन । विना काम हल्ला गरेकै भरमा एमालेको लोकप्रियताको ग्राफ भने चुलिएको देखिनु आश्चर्य मान्नुपर्ने विषय होइन भन्ने आधार भेटिँदैन । यो उदाहरणले नेपाली जनता कामको होइन, हल्लाको पछि दौडिन्छन् भन्ने कुरा प्रमाणित गरिेदिएको छ । ‘आफ्नो कान छाम्न छोडेर कागको पछि दगुर्ने’ प्रवृत्ति नेपाली समाजमा व्याप्त रहेको छ भन्ने धारणा स्वतन्त्र चिन्तकहरूको रहेको देखिन्छ ।

हुन त भुल्न नमिल्ने कुरा के पनि रहेको छ भने मुलुकले लामो संक्रमणकाल भोगिरहेको छ । स्वभावतः संक्रमणकालमा प्रणालीले काम गर्दैन । सरकार कमजोर हुन्छ । कमजोर सरकारको प्रदर्शन राम्रो हुँदैन । जनताका अपेक्षा र सरकारको सामथ्र्यबीच सन्तुलन मिल्दैन । परिणामस्वरूप समाजमा असन्तुष्टि व्याप्त हुन्छ । सरकारको अलोप्रियताको फाइदा स्वभावतः प्रतिपक्षलाई मिल्दछ । स्थानीयतहको पहिलोचरणको निर्वाचनमा एमालेले पाएको सफलता र जनसमर्थनको कारण त्यो पनि एउटा हो । दोस्रो चरणको निर्वाचन भने एमालेका लागि पहिलोजस्तो सहज अवश्य रहनेछैन भनेर सजिलै अनुमान गर्न सकिन्छ । किनकि राष्ट्रवादको फर्जी नारा मधेशमा बिक्ने सम्भावना देखिँदैन । न भूटानीकरण न सिक्किमीकरणको त्रासले मधेशलाई प्रभावित गर्नेछ । त्यसबाहेक एमालेको हातमा मतदातालाई लोभाउने दोस्रो कोशेली केही छैन । एमालेको अडान संविधान संशोधनको अवरोध बनिरह्यो भने मधेशमा निर्वाचन होला भन्न सकिन्न । मधेशको माग सम्बोधन हुनेगरी संविधान संशोधन हुनुको अर्थ एमालेको अडान तोडिनु हो । विचार पराजित हुनु हो । त्यसले एमालेको साख थप पुड्को बनाउने छ । उसै पनि एमालेको भन्दा मधेशमा काँग्रेसको प्रभाव बलियो रहँदै आएको परम्परा छ । त्यसमाथि पछिल्लो मधेश आन्दोलन र एमालेको मधेशविरोधी रवैयाले उसको परम्परागत समर्थनमा क्षति पु¥याएको छैन भन्न सकिँदैन । त्यसैले दोस्रो चरणको निर्वाचन एमालेका लागि ढुङ्गो चपाउनुजत्तिकै कठिन साबित हुने अनुमान गर्न सकिन्छ । पहिलो चरणको मतपरिणामबाट हौसिएको एमाले दोस्रो चररणमा थच्चिने सम्भावना प्रबल देखिन्छ । एमालेले चलाएको त्रासको मनोवैज्ञानिक खेती दीर्घकालीनरूपमा फलदायी हुने देखिँदैन । हुन पनि शूरवीर, बहादुर र लडाकु जातिको रूपमा विश्व इतिहासमै विशेष स्थानमान बनाएका गोर्खेहरू राष्ट्रियता नामको काल्पनिक जुलुङ्गोको मानसिक शिकार कतिञ्ज्याल होलान् र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here