संसद्मा एमालेको अहंकार / प्रचण्ड आफ्नैसित आक्रोशित

142

काठमाडौं / प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । एमालेले पुन: मतदानमा जाने निर्णय गरे एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्ने चेतावनी पनि दिएको छ । व्यवस्थापिका– संसद्को हिजोको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको आरोप लगाए ।
एमाले उम्मेदवार देवी ज्ञवाली विजयतर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको आरोप लगाउादै पाण्डेले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने जिकिर गरे ।
भरतपुरमा पुन:मतदान गरे नेपालभर अर्को चुनाव हुन नसक्ने चेतावनी पनि पाण्डेले दिएका छन् । पाण्डेले चेतावनीकै शैलीमा भने– ‘यो कुरा बुझिराखे हुन्छ, हार्न लागेपछि ५ वटा मतपत्र च्यातेपछि, पुन: मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैंभरि चुनाव मात्र गरेर बस्नुपर्नेछ । ५ वर्ष चुनाव गर्नुपर्ने स्थिति हुनेछ ।’
संसदको राज्य व्यवस्था समितिमा पनि भरतपुरमा मतपत्र च्यातिएको प्रकरण प्रवेश भएको छ । हिजोको बैठकमा एमाले सांसदद्धय यज्ञराज सुनुवार र रामेश्वर फुयालले भरतपुर प्रकरणमा समिति चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन् । निर्वाचन आयोग हेर्ने जिम्मेवारी राज्य व्यवस्थाको रहेको भन्दै भरतपुर प्रकरणबारे निर्वाचन आयोगसाग छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने पनि उनीहरुले सुझाव दिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरमा मतपत्र च्यात्ने जो कोही भए पनि कारबाही हुने चेतावनी दिनुभएको छ । उहााले निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदनअनुसार सरकार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनु भएको छ । हिजो बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि उन्मुक्ति नपाउने दोहोर्‍याउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो– ‘भरतपुरको घटना थाहा पाउादाबित्तिकै मलाई एकदमै नराम्रो लाग्यो, मैले तुरुन्त छानबिन गर्न निर्वाचन आयोगलाई अनुरोध गरें ।’
बैठकमा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावमा कार्यकर्ता, नेता तथा सांसदहरुले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । उहााले दोस्रो चरणको चुनावमा पनि उत्साहका साथ लाग्न निर्देशन दिनुभएको छ । माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको गुनासो प्रधानमन्त्रीको रहेको छ ।
प्रधानमन्त्रीले भन्नुभयो– ‘इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं । अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौं ।’ प्रधानमन्त्रीले निर्देशात्मक शैलीमा पार्टी मातहतका सांसदहरुलाई भन्नुभयो– ‘तपाई सांसदहरु गाउा–गाउा पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस् । अरुले पिठो बेचे, हामी चामल त बेचौं ।’
प्रचण्डले बैठकमा माओवादी नेतृत्वको सरकारले गरेका कामहरूबारे चर्चा गर्दै माओवादी नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गरेर उज्यालो युगको सुरुवात गरेको छ, वर्षौंदेखि रोकिएको १ हजार ४ सय किलोमिटरको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ, हाम्रै पालामा महाकाली नदीमा पुल बन्दैछ, हाम्रै पालामा १४ वटा ठूला सडकहरु बन्दैछन्, हाम्रै पालामा काठमाडौं–निजगढ फास्टट्रयाक शिलान्यास गरेर काम अघि बढेको छ, बुढीगण्डकी जलाशययुक्त आयोजना हाम्रै पालामा सुरु हुादैछ, हाम्रै पालामा आर्थिक बृद्धिदर ७.५ प्रतिशत पुगेको छ, मूल्यवृद्धि नियन्त्रण हाम्रै पालामा भएको छ, इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउा र नगरमा पुर्‍याउने काम हाम्रै पालामा भएको छ र २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन पनि हाम्रै पालमा सम्पन्न भएको छ, तर हामी यसको स्वामित्व लिन सकिरहेका छैनौं भन्दै सबैलाई आ–आफ्नो कमजोरी स्वीकारेर प्रचार अभियानमा लाग्न पनि निर्देशन गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले माओवादी संसदीय दलको बैठकमा आगामी सरकार गठनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने पूर्वसहमति कार्यान्वयन गर्ने बचनबद्धता पनि दोहोर्‍याउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here