राधा बुढाथोकी मगर
नेपाली ‘लाहुरे’हरुले संसारका धेरै देशहरुमा ज्यान गुमाइरहेका छन् । कोही भाडाका सिपाही बनेर ज्यान गुमाइरहेका छन् भने कोही कारखानाका कामदार बनेर । नेपाली जनताको यो नियति कहिलेसम्म यस्तै रहने हो ? भन्न सकिने अवस्था छैन । नेपाली जनताको भविष्य उज्ज्वल देखिंदैन । अन्धकारै अन्धकार देखिन्छ अनन्तकालसम्मका लागि । नेपालका राजनीतिक दलहरुले नेपाललाई कसरी आत्मनिर्भर बनाउने भन्नेतर्पm सोच्न फुर्सद पाइरहेका छैनन् । यो स्थितिले गर्दा नेपालको अन्धकार भविष्यको निश्चित अवधि देखिँदैन ।
नेपालले चाहने हो भने दुई छिमेकी देशहरु भारत र चीनबाट धेरै लाभ लिन सक्दछ । तर दुवै देशहरुबाट लाभ लिन सक्ने कूटनीतिक हैसियत नेपालका राजनीतिक दलका नेताहरुले प्रदर्शन गर्न नसक्दा दुवै देशका शासकहरु नेपालप्रति सशंकित भइरहनुपर्ने अवस्था विद्यमान छ । नेपालको पहिलो दौत्य सम्बन्ध कायम भएको देश बेलायत हो । अझ दुवै देशमा अद्यापि गोर्खाली सेनाहरू कार्यरत छन् । दुवै देशको सार्वभौमसत्ता संरक्षण गर्न गोर्खालीहरूले रगत र पसिना पानीसरह बगाएका छन् । तर नेपालले लगाएको गुनको बदलामा भारतले पटक–पटक नाकाबन्दी लगाउँदै आएको छ भने चीनले नेपाललाई पूर्ण रुपमा विश्वास गर्ने आधार पनि बनिरहेको छैन । नेपालले भारतबाट लगाइएको नाकाबन्दीलाई अब बिर्सिसकेको छ । चीनतर्पm नाका खोल्नु नै नेपाललाई आत्मनिर्भर बनाउने आधार हो भन्ने कुरा नेपालका नेताहरुले बुझेकोजस्तो देखिन्छ । नेताहरुबाट यस्तै अभिव्यक्ति आउने गरेका छन् । चीनबाट रेल आउन थाल्यो । अब नेपालमा विकासको गति बढ्छ भन्ने जस्ता अभिव्यक्तिहरु नेताहरुबाट आउने गरेका छन् ।
एकातिर भारतका नेताहरुलाई खुशी बनाउनुपर्ने, अर्कातिर चीनका नेताहरुलाई खुशी बनाउनुपर्ने ! यो विडम्बनापूर्ण अवस्थाबाट नेपालका राजनीतिक दलका नेताहरु गुज्रिरहेका छन् । कुनै पनि चीनतिरको नाका खुलिहाल्यो र नेपालसम्म रेल आइहाल्यो भने पनि त्यो नेपालको आफ्नो रेल हुने छैन भन्ने कुरा बुझ्न जरुरी छ । चीनले चाहेपछि रेल बन्द गर्न पनि सक्ला ? भारतले नाका बन्द गर्न सक्छ भने चीनले नगर्ला भन्ने कसरी विश्वास हुनसक्छ ? त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा देशभित्रै दैनिक उपभोग्यवस्तुहरु उत्पादन गर्नु नै हो । त्यसो गर्न सकियो भने मात्र कुनै छिमेकीले नाकाबन्दी गर्ने हिम्मत पनि गर्न सक्ने छैन र गरिहाले पनि नेपाललाई खासै फरक पर्ने छैन ।
















