एक भारतीय युवतीले आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी छिन् । उनको साहसिक कार्यले सामाजिक सञ्जालमा खुबै प्रशंसा पाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार धर्मगुरु हरी स्वामीले २३ वर्षीया युवतीलाई पाँच वर्षदेखि यौन शोषण गर्दै आएका थिए । अति भएपछि युवतीले तकियामुनि राखेको चक्कु झिकेर स्वामीको लिंग काटिदिएकी हुन् ।
तर, ती स्वामीले भने आफ्नो लिंग आफैंले काटेको हाँस्यास्पद दाबी गरिरहेका छन् । घटना भएको स्थान केरला राज्यका मुख्यमन्त्री पिनारयी विजयनले युवतीले चालेको कदम साहसिक र प्रशंसनीय रहेको जनाए ।
पीडित युवती कानूनकी विद्यार्थी हुन् । उनी केरलाको राजधानी थिरुभनाथपुरममा रहेको आफ्नो घरमा रहेका बेला ५४ वर्षीया स्वामीले उनीमाथि जाइलागेका थिए । युवतीको परिवारले उनलाई गुरु मान्दै आएको थियो । युवतीमाथि स्वामीले यस्तो हर्कत गरिरहँदा घरमै रहेको परिवार भने बेखबर रहेको प्रहरीले जनाएको छ । आपत्कालीन उपचारपछि अहिले उनको अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले स्वामीविरुद्ध बलत्कार तथा यौन शोषणको मुद्दा दायर गरेको छ ।

















