हुम्लाको पर्यटन विकास र प्रवद्र्धन

568

 

डा. दीपेन्द्र रोकाया

१. विषय प्रवेश :
हामीले संवाद डवलीमा हुम्ला र समग्र कर्नालीको विकासका बारेमा दर्जनौ कार्यक्रमहरु सम्पन्न गरेका छौ । हुम्ला भौगोलिक हिसावले नेपालको दोश्रो ठूलो जिल्ला हो । अझै जिल्लामा राष्ट्रिय सडक सञ्जाल जोडिन सकेको छैन । त्यसैले हुम्लाको विकासको ढोका खुल्न सकेको छैन । हुम्लीहरुको विकासको चाहनाहरु सपनाका विषय बनेका छन् । जबसम्म राज्यले दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर कार्यान्वयनमा लाग्दैन, तबसम्म हुम्लाको विकास गर्ने सपना आकाशको फल बनीरहनेछ । हामीहरु हुम्लातिर जाँदा र आउँदा हवाई जहाज त चढ्छौ । तर त्यहाँ मान्छे भएर नभई प्रति मान्छे १०० के.जी. को सामानजस्तै कार्गो भएर आउने जाने गरिरहने छौ ।

२. विकासको पूर्व अभ्यासः
हुम्लाको विकासको लागि सकारात्मक सोचहरुमा साथ दिने र नदिने कार्यले काम गरेको छ । यो जहाँ पनि हुन्छ । यसलाई अन्यथा मान्न हुँदैन । राजनीतिशास्त्रको विद्यार्थीको नाताले के भन्न सकिन्छ भने हरेक विषयको कमाण्ड र फैसला राजनैतिक विचारले गर्दछ । ग्रामीण विकासको विद्यार्थीका नाताले के भन्न सकिन्छ भने सडक, विजुली, खानेपानी र सुरक्षित वस्ती तथा औधोगिक रुपले विकासको आधार निर्धारण गर्दछ । यसो त एक सञ्चारकर्मीका नाताले हेर्दा सुचना सञ्चारविनाको जीवन कल्पना समेत गर्न सकिदैन । जबसम्म सबैको हातमा मोवाइल र इन्टरनेटको पहुँच विस्तार हुँदैन, तबसम्म आफ्ना कुरा जति भर्जिन र अर्गानिक भएपनि ब्यापार गर्न सकिदैन रहेछ । यसो त शिक्षा विना केही हुँदैन भनी हेर्दा विगतमा पढ्नु भनेको कामको खती हुन्छ भन्ने समाजमा पढ्न पर्ने रहेछ भन्ने धारणा विकास भएको पाइन्छ ।


हामीले सडकको चाहना गरेको धेरै भयो । त्यसमा नेपाल सरकारले धिमा गतिमा भएपनि कर्नालीको तिरैतिर कर्नाली राजमार्ग बनाउँदै जाँदा कालिकोट र जुम्लाका पहुँचवालाहरुले आफ्नैतिर घुमाए । त्यसलाई हामीले खुलालु खोल्नका लागि नेपाली सेनालाई गुहार्न परेको छ । यसको विकल्पमा हिल्सा–सिमकोट, लिमी–लाप्चाजस्ता विकल्प रोज्नु प¥यो र यो पनि एकादेशको कथा जसरी हुँदै यही अषाढसम्ममा हिल्साबाट सिमकोटसम्म नियमित आवतजावत गर्न सकिन्छ कि भन्ने सुनिएको छ । स्थानीय तहको निर्वाचनले गर्दा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु छन् । उनीहरुले विकासका लागि भोका जनताको माग सम्बोधन गर्नु पहिलो कर्तब्य वा कार्यभार हुन गएको छ ।

३. हुम्लाको विकासको आधारः
हुम्लामा आधुनिक विकास भएको छैन तर विकासका स्वरुपहरु नै छैनन् भन्ने होइन । इतिहासका पानाहरुमा हुम्लालाई स्वर्णभूमि, स्वर्गभूमि, देवभूमि त्यतिकै भनिएको होइन । हुम्लातिरबाटै आएका किरातीहरुले काठमाडौमा राज्य गरेका थिए । त्यही बाटो प्रयोग गरी आएका नागराजले कर्नाली सभ्यतालाई विस्तार गरेका थिए । विभिन्न पैकेलाहरु नजन्मेका पनि होइनन् । तर अहिलेको जस्तो पछाडि पर्ने स्थिति इतिहासमा हुम्ला कहिल्यै देखा पर्दैन । यसो हुनाको कारण केन्द्रिय राज्यसत्तामा पहुँच नहुनु हो । भएको पहुँच पनि सही रुपमा सदुपयोग भएको छैन । अर्को महत्वपूर्ण कुरा माथि भन्ने अर्मुत र अध्यारा कुनाहरुले लाद्दै आएको दमन हो । अब हामीले यसबारे पीडा आकल्नु ओकली सक्यौ । समीक्षा मात्र गर्न सक्छौ ।
हामी जिउँदा मान्छेहरुले जिउने वर्तमानमा हो । हामीले केही गर्न सक्यौ भने समाजमा परिवर्तन ल्याउन सकिन्छ । भोलिको पुस्ताको अधिकारको पनि ख्याल राख्नै पर्दछ ।यसो भएकाले हाम्रो अहिलेको विद्यमान अवस्थामा गर्न सकिने विकासको आधार भनेको धुँवा नआउने उद्योगका रुपमा स्थापित पर्यटन उद्योग हो । नेपाल पर्यटन उद्योगमा विश्वको आकर्षक गन्तब्य भएपनि यहाँ भौतिक पूर्वाधार तथा प्रचार प्रसारको अभावमा सोचेजसतो प्रगति गर्न सकेको पाइँदैन । आफुसँग भएको विनाको वासना खोज्दै भौतारिएको कस्तुरीजस्तो देखिएको नेपालको पर्यटन उद्योग आफैमा अलमलमा परेको छ । तर यसको संभावनाहरु बढेकाले हुम्लाको विकासको भविश्य पर्यटन उद्योगसँग जोडिएको छ भन्दा अन्युक्ति नहोला ।

४. हुम्लाका पर्यटकीय क्षेत्रहरुः
हाम्रो उद्देश्य हुम्लाको पर्यटन सम्भावनाको उजागार गर्ने रहेको छ । राज्य र राजनीतिक पार्टीले हुम्लाको विकासबाट लिन सकिने फाइदाको आँकलन गरिदिऊन् भन्ने चाहना समेत राखेका छौ । मिडियाले हुम्लामा गरिबी, भोकमरी मात्र होइन, सम्भावनाको खानी पनि छ भन्ने देखाउन सकुन् भन्नेअपेक्षा राखेका छौ । यसका आधारमा केही चर्चा गरौः
क) रहस्यमय भूमि हो हुम्लाः
केही वर्षअघिसम्म हुम्ला पर्यटनका लागि खुल्ला थिएन । यसभित्रको मुख्य कुरा उत्तरको छिमेकलाई आफ्नो सुरक्षामा खतरा नहोस् भन्ने धेय रहने र दक्षिणको छिमेक तथा पश्चिमा देशहरुलाई त्यहाँको जानकारी लिने चाहनाको बीचमा रहेको थियो । नेपाल बिचारा चेपुवामा पर्ने नै भयो । यसै कारण भ्रमण गर्नलाई खुल्ला थिएन । तर अव त्यो अवस्था रहेन । अर्को कुरा पौराणिक कालदेखिको लडाई, झगडामा हिमालय क्षेत्र वरीको सुरक्षित क्षेत्र हुम्लामा धेरै प्रकारका साहित्य बचाउने कार्य भएको थियो । त्यो केही कुरा विभिन्न संस्कृतिका रुपमा अभिब्यक्त भएको पाइन्छ । पछिल्लो नेपाल विस्तार कालमा काठमाडौबाट ‘बाह्र वर्ष उभोकालाई साफ गर्न लगाएको नीति’ का कारण बच्न सकेन । यद्यपि विभिन्न देउ देउताका विदुआली तथा देवभूमि हुम्लाको अध्ययनबाट हुम्ला पूर्वीय दर्शनको ऐतिहासिक भूमि हो भन्ने देखिन आएको छ ।
ख) कैलाश मानसरोवरको सबैभन्दा सजिलो र नजिकको प्रवेशद्धारः
यदि तपाईहरुले कैलाश मानसरोवरको दर्शन गर्न जान चाहनु भएको छ भने सबभन्दा सजिलो, सस्तो र नजिकको प्रवेशद्धार हुम्ला हो । यो ठाउँ पूर्वीय दर्शनको केन्द्रिय स्थल हो । यहाँबाट चार सभ्यताको निर्माण भएको छ । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा सतलज, उत्तर हुँदै पश्चिमतिर गएको सिन्धु र दक्षिणमा कर्नाली सभ्यता (जसलाई सुविधाले गंगा सभ्यता निर्माण गरायो) देखा पर्दछ । तत्कालिन भूगोलका अन्वेषक तथा जंगली युगबाट जौ र तिलको उत्पादनले कृषि युगको शुरुवातकर्ता हुम्लाकै महादेउले संसारकै पवित्रस्थलका रुपमा कैलाशलाई रोज्नुको कारण पनि यही थियो जस्तो लाग्दछ । उच्च हिमाल खोज्ने हो भने सगरमाथा र हिमालहरुको नट खोज्ने हो भने पामिरको गाँठो नरोजी कैलाश पर्वत केन्द्र बन्नुको कारण करोडौ वर्षअघिको ज्वालामुखी र भूकम्पले यहाँ विभिन्न किसिमका घाउहरुले पनि आर्कषण गराइरहेको अनुभूति हुन्छ ।


यस मार्ग प्रयोग गर्नेहरुले काठमाडौ–नेपालगञ्ज, नेपालगञ्ज–सिमकोट हुम्ला, सिमकोटबाट हेलिकोप्टरमा हिल्सा, पैदल सात दिन वा आउँदो अषाढबाट गाडीमा समेत जान सकिने भएको छ । यही मार्ग भएर गत वर्ष १० हजार भारतीय पर्यटकले मानसरोवर कैलाशको यात्रा गरेर फर्केका थिए । यो वर्ष चैतदेखि नै घुइचो लागेको छ । यसका लागि सिमकोटमा ८ वटा हेलिकोप्टर काठमाडौमा ट्याक्सी प्रयोग गरेझै यात्रुहरुले प्रयोग गरिरहेका छन् । यहाँको समस्या भनेकै नेपालगञ्जदेखि सिमकोट र सिमकोटदेखि हिल्सासम्मको यात्रा मौसम र हवाई यात्रामा भर पर्नुपर्ने विषय बनेका छन् । यसका साथै, ब्यवस्थित होटलहरु प्रयाप्त नहुनु पनि समस्याको रुपमा रहेका छन् । होटलहरुको मागले हुम्लाको रोजगारी तथा ब्यापार ब्यवसाय बढाउने माग भइरहेको रुपमा लिन पर्दछ । एक नेपाली पदपर्दशकले दिएको जानकारी अनुसार एक जना बम्बैको तीर्थयात्रीले एक लाख साठी हजार भारतीय रुपैयामा काठमाडौदेखि हिल्सासम्मको यात्रा गर्दा खर्च गर्ने गर्दछ । एक समुहमा ७० देखि १०० जनासम्म रहने गरेको पाइएको छ । यसरी तीर्थ यात्री पर्यटकलाई भारतीय सरकारले राज्यअनुसार कर्नाटकमा ३० हजार, तमिलनाडुले ४० हजार र उत्तर प्रदेशले १ लाख रुपैया दिने गरेको पाइन्छ । यसो गर्दा हुम्लामा कति पैसा आउँछ ? हिसाव गरौ, प्रतिब्यक्ति एक हप्तामा १०÷१५ हजारसम्म मात्र खर्च भएको पाइएको छ ।
ग) साँस्कृतिक क्षेत्रः
यदि तपाई सामाजिक तथा साँस्कृतिक जीवनको अध्ययन गर्नु हुन्छ भने हुम्लामा प्राचीन पाण्डव विवाह शैलीलाई नजिकबाट बोध गर्न सक्नु हुन्छ । नेपाल बहुभाषा, धर्म र संस्कृतिको धनी छ । यसका पछाडि विभिन्न कालखण्डको विश्वका लडाईहरु जिम्मेवार छन् । यसैले प्रत्येक गाउँमा पनि फरक फरक सँस्कृति देखा परेका छन् । हामीले हाम्रा पाहुनाहरुलाई त्यो प्रर्दशन गरेर आम्दानीका स्रोत बढाउन सक्छौ । अर्कोतर्फ यस कार्यले कला, गला र संस्कृति बचाउनेहरुलाई प्रोत्साहन मिल्नेछ ।
घ) अलौकिक क्षेत्रः
हुम्ला देवपुरी हो भन्ने आधार अझै जुन गाउँ गएपनि त्यस गाउँको छेउतिर मारुको थान देख्न पाउँछौ । मारुको अर्थ मार्ने नै हो । यो नकारात्मक अर्थले स्थापित किन भएको हो भने तत्कालीन अवस्थामा त्यस बाटो भएर दुस्मन गाउँभित्र छिर्न खोजेमा मार्ने वा दुस्मनलाई ठेगान लगाउने स्थान भएकाले मारु भनिएको हो । हामी अचेल त्यसलाई मन्दिर भनेर पुजा गर्ने भनिरहेका छौ । वली दिएर रगतको पुजा गर्ने स्थान कसरी मन्दिर हुन सक्छ ? यो वहस आफ्नो ठाउँमा छ । तर यहाँ प्रत्येक गाउँठाउँका मारु तत्कालीन परिवेशका सुरक्षाकर्मी हुन् । उनीहरुका प्रतिनिधि अहिले धामी डाँग्री बनेकाहरुको विदुआल तथा उनीहरुको मनोवैज्ञानिक उपचार पद्धति पनि बाँकी विश्वको लागि चासोको विषय हो । यसलाई धार्मिक पर्यटक बढाएर क्यास गर्न सकिन्छ ।

ङ) उपचारक क्षेत्रः
ब्यास ऋषि, गौतम ऋषि लगायतका ऋषिमुनीहरुले अध्ययन गरेको भूमि हिमालय क्षेत्रको हुम्लामा जैविक विविधताका आधारमा धेरै प्रकारका जडिबुटी पाइन्छ । त्यही प्रकारले अन्न उत्पादन हुन्छ । फलफुलको उत्पादन हुने देखिन्छ । र, पशुपालन पनि भइरहेको छ । यहाँ हरेक उत्पादनले औषधीको रुप दिइरहेको छ । यसका साथै, अन्तरिक्ष यात्रुले खानाको लागि प्रयोग गर्ने मार्सेको समेत राम्रै उत्पादन हुन्छ । यहाँको चिसो वातावरणले पनि कयौ प्रकारका विरामीलाई हुम्ला पुग्नासाथ रोग निको हुने आधारहरु भेटिएका छन् । यसैले भारतीय नागरिकहरु स्वर्गका रुपमा पुग्ने स्थल, बाँकी विश्वका लागि खुल्ला अस्पताल हुने स्थल हामी हुम्लीले नजानेर मात्र नर्कजस्तो ठानिरहेका हौ । यसैले हरेकले आफ्नो धारणामा सकारात्मकपनको पाइन हाल्न जरुरी छ ।
    च) ब्यापारिक क्षेत्रः
हिल्साको पुल औपचारिक रुपमा प्रयोगमा आइसकेको छ । यस पुलको उपादेयता कर्नाली राजमार्गबाट आवत जावत गर्ने अवस्था निर्माण भएपछि हिजोका दिनहरुमा तातोपानी र आजको केरुङजस्तै मात्र होइन, योभन्दा रणनैतिक महत्वको रुपमा प्रयोगमा आउने छ । रुसबाट युरोपतिरको रेलमार्गझै चीनबाट युरोपतिर समानान्तर रुपमा सिल्क रोड विस्तार भईरहेको छ । यो सडकको हिसावले युरोपतिरको गेट समेत हुने देखिएको छ । यस मार्गबाट हिमाली क्षेत्रका उत्पादन तथा जडिबुटीको ब्यापार गर्न सहज हुनेछ । अहिलेको एकमना भारतीय बजारको विकल्प छनौटको आधार पनि बन्न जानेछ । यसका लागि पनि पर्यटन क्षेत्रको विकासले बाँकी विश्वसँग साक्षात्कार गर्ने आधार मिल्नेछ ।

५. नयाँ संभावनाः
     क) मन्दिरसहितको बाह्रदेउ बाह्रतले भ्यु टावरः
हुम्ला ऐतिहासिक भूमि हो र यसै आधारमा टेकेर हुम्लाको सम्बृद्धि निर्माण गर्ने हो भने एसियाकै एक नयाँ गन्तब्य स्थापना गर्न पर्छ । यसका लागि हुम्लाका जनप्रतिनिधि, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, कर्नाली विकास आयोग, कर्नाली पर्यटन प्रवद्र्धन समिति लगायत सरोकारवालाहरुसँग नियमित पैरवी गर्न थालेको पनि आधा दशक बिति सकेको छ । तर न यसलाई कर्नालीको रणनैतिक १० वर्षे योजनामा समेटियो, न त अगाडि बढाउन चाहेको देखियो । कृपया, म दुःखका साथ भन्दैछु, यसखाले भ्यु टावर निर्माणले हुम्लाको धार्मिक तथा परम्परागत धारणाको ब्यवस्थापन हुनेछ । धार्मिक गन्तब्यस्थल निर्माण गर्दा यसबाट हुम्लाले आम्दानीको स्रोत समेत बढाउनेछ । सबै भारतीयहरु कैलाश मानसरोवर पुग्न सक्तैनन् ।
स्वर्गस्थलको रुपमा रहेको हुम्लाबाट उत्तरको कैलाश मानसरोवर, दक्षिणको तराईको भू–भाग, पूर्वको हिमालय रेञ्ज हुँदै सर्वोच्च शिखर सगरमाथा र पश्चिमको काश्मिर क्षेत्र देखिने गरि बाह्रदेउको नाममा एउटा नयाँ गन्तब्य स्थापना गरेमा यो पूर्वीय दर्शनको केन्द्र बन्नेछ । यो संभावित भूमि हुम्लाको पाक्सिवारादेखि मारघोर क्षेत्र हो । यहीँ नजिकै सिंगो पहाडमा प्वाल परेको भिउदुलो छ । त्यसको एक साइडमा दुदे दह छ भने अर्को साइडको उत्तरमा रल्लिङ गुम्बा र दक्षिणमा खार्पुनाथ मन्दिर छ । मान्छेहरुले सानो कुरा कति ठुलो बनाएर प्रचार गरिरहेका छन्, तर हामीले यसको ब्यापार गर्न नसक्नुले पनि हुम्लामा सम्वृद्धि ल्याउन सकिरहेका छैनौ ।
       ख) ब्यवस्थित वस्ती विकास तथा पूर्वाधार विकासः
हुम्लामा प्राकृतिक जोखिम छ । सात गाउँपालिकाका १४४ गाउँहरुको अध्ययन गर्दा बस्न लायक बस्ती बढीमा एक दर्जन मात्र गाउँहरु छन् । यसैले व्यवस्थित वस्ती विकास र वैज्ञानिक पूर्वाधार निर्माणमा ध्यान दिई पर्यटकीय आर्कषणमा कत्ति पनि प्रभाव नपर्ने कुरामा बेलैमा सचेतना अपनाउन आवश्यक छ ।
      ग) केवलकारको सञ्जालः
विश्वभरको अध्ययनले के देखाउँछ भने नेपाल स्वर्ग हो । नेपालको स्वर्ग पनि कर्नाली हो । कर्नालीको हुम्ला अझ पवित्र स्थान हुनुले यदि आफ्नै अगाडि मरेर बगीरहेको कर्नाली नदीबाट विद्युत निकाल्न सकिएमा कर्नालीको लिमीदेखि सिमकोट, सिमकोट देखि खार्पुनथा–रल्लिङ गुम्बा–भीउदुलो–बाह्रदेउ भ्यु टावर–ह्याप्स्या–चंखेली हुँदै रारा र राराबाट डोल्पा हुँदै हिमायको काखैकाख इलामसम्म केवलकार निर्माण गर्न सकेमा सडक सञ्जालबाट आइपर्ने प्राकृतिक विपतिबाट जोगिने मात्र होइन, संसारमै नयाँ अनुभव बटुल्न सकिनेछ । यसको प्रस्तावक हुम्ला जिल्ला भई दिदा के विकासको प्रस्तावक हुम्ला हुन सक्तैन र ?

६. निष्कर्षः
अहिले हामी कैलाश मानसरोवरको प्रवेशद्धारको प्रचारबाट संसारको ध्यान आकृष्ट गर्दछौ । हामीसँग रहेका पर्यटकीय आकर्षणका गन्तब्यहरुको लेखाजोखा गरी जिल्लालाई पर्यटन उद्योगका माध्यमबाट आत्मनिर्भर बनाउन सकिन्छ । हुम्लालाई राज्यले हेर्ने नजरमा फरक ल्याउन त्यहाँ भएको सम्भावनालाई खोजी र उपयोगको विकल्प खोजिनु पर्छ । हिजो नुन बाहेक अरु सबै कुरामा आत्मनिर्भर हुम्लामा सम्वृद्धि कायम गर्न तपाई हामीले संभावनाको खोजी गर्ने, विकासका लागि जोखिम उठाउने संकल्प गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here