अन्ततः हार्यो भारतीय दम्भ डोक्लममा

169

सूर्य खड्का

२८ अगस्ट अर्थात भदौ २४ का दिन चीनले भारतले भुटानसँग सीमा जोडिएको विवादित डोक्लम भूभागबाट भारतीय सैनिकहरू फिर्ता भएको जनाएसँगै नेपालका दुई छिमेकीबीचको तनावबाट नेपालले मुक्ति पाएको मात्रै छैन, एशियामा जारी युद्धको संकट गर्भमा नै तुहेको छ । भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेका कारण दुई देशबीच युद्धको खतरा सामुन्नेमा थियो ।
तर चीनले डोक्लम आफ्नो भूमि भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गर्दै आफ्नो जारी सडक निर्माण नरोक्ने अडान राख्दै आएको थियो ।
डोक्लमबारे दुवै देशबीच महिनौंयता विवाद चलिरहँदा यसअघि सोमबारै भारत सरकारले हिमालय क्षेत्रमा अवस्थित विवादित डोक्लम क्षेत्रबाट फौजहरू फिर्ता गर्न चीनसँग समझदारी भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो । भारतीय विदेश मन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको जनाएको थियो ।
‘हालैको हप्तामा डोक्लम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एकआपसको चिन्ता र हितका बारेमा छलफल गरेका छौँ । यसै आधारमा डोक्लममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रुतरूपमा हटाउने निर्णय गरेका छौं र यस दिशामा काम अघि बढेको छ,’ भारतीय विदेश मन्त्रालयले भन्यो ।
तर यो भारतीय दाबीलाई एक घन्टाभित्रै जवाफी चुनौती दिँदै चीनले भारतीय सेना चिनियाँ भूभागबाट पछि हटेको जनायो । चीनले भारतीय सेना डोक्लमबाट घर फर्केको पुष्टि गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको पुष्टि ग¥यो । भारत र चीनबीच डोक्लम विवाद भएपछि चिनियाँ मिडिया आक्रामक रूपमा उत्रिएको थियो । चीनले भारतीय सेना गैरकानुनी रूपमा चिनियाँ भूभागमा रहेको बताउँदै आएको थियो र सत्य पनि त्यही थियो । डोक्लम विवादले दुई शक्तिशाली मुलुक चीन र भारतबीच सम्बन्ध चिसिएको मात्रै थिएन, युद्धको स्थितिलाई निम्त्याइरहेको थियो ।
तर अब भारत र चीनबीचको डोक्लम तनाव अन्त्यसंगै यसले नेपाललाई भने राहत मिलेको छ । दुईतिरका ठूला छिमेकको घम्साघम्सी अब पुनःशान्ति र मित्रतामा फर्केको छ । नेपालका र खासगरी नेपालीमूलका भारतीय गोर्खाज फौजका करीब ४० हजार भारतीय सेनाको सम्भावित डोक्लम तैनाथीमा पूर्णविराम लागेको छ । यदि डोक्लममा युद्ध भएको र त्यसमा गोर्खा फौज परिचालित हुँदा नेपालमा त्यसको अतुलनीय बहुआयामिक नकारात्मक असर पर्नेवाला थियो । किनकि भारतीय गोर्खा सैनिकका परिवार नेपालमा छन् । चीनले भारतीय सेना डोक्लमबाट घर फर्केको पुष्टि गरेसँगै अब शान्त दक्षिण एशिया र एशियाको नयाँ सुखद सञ्चारण भएको छ ।
आधुनिक नेपालका एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहकै शब्दमा दुई ढुंगाबीचको तरुल नेपालका लागि यो सुखद सौभाग्यको विषय किन हो भने डोक्लममा भारत र चीन छाती जुधाएर लड्दै गर्दा पनि नेपाल दुवैको बीचमा परेन । आफ्नो तटस्थताको नीतिलाई नेपालले काठमाडौं, दिल्ली र बेइजिङमा उत्तिकै समान भोलुममा गुञ्जयमान ग¥यो, गरिरह्यो । र, अन्ततः नेपालले आफ्नो अडानमा बाजि मा¥यो, कागताली संयोगकै रूपमा भए पनि ।
अझ भदौ ५ देखिको ५ दिने भारत भ्रमणका दौरान प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चीनसँग समस्यारहित सम्बन्ध रहेको र चीनबाट नेपालको सार्वभौमिकतामाथि कुनै प्रकारको खतरा नरहेको सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसले सिंगै भारतमा नयाँ तरंग ल्याएको समाचार विवरणहरू प्रकाशमा आए ।
नयाँदिल्लीमा गएर पनि जसो जसो हिन्दूस्तान उसै उसै स्वाहा गर्ने वा भजनमण्डली बन्ने होइन, चीनलाई समेत रिझाउने स्वतन्त्र, स्वाभिमानी नेपाली धारणा र अडान राख्न सक्नु देउवाको यस पटकको भारत भ्रमणको स्वागतयोग्य कदम हो । नेपालको तटस्थताको अडानबाट न दिल्ली रिसायो, न बेइजिङ नै झस्कियो । बरु नेपालको तटस्थताको नीति अरु मुखरित भयो ।
यसप्रकार भारतीय ज्यादतीको एक अवसान पनि हो, डोक्लम विवाद अन्त्यको यो घोषणा । भारतले भुटानको बुई चढेर विश्वशक्ति देश चीनसँग अनाहकमा सिंगौरी खेल्न गरेको दुस्साहसको गर्भमा नै पराजय पनि हो यो पछिल्लो डोक्लम ट्विष्ट । चीनले भने जस्तै सन् १९६२ को जस्तै भारत फेरि बहादुरीपूर्वक आफू डोक्लमबाट पछि हटन बाध्य भएकै हो । चीनको चट्टानी अडानको विजय त यो हो नै, साथमा भुटान जस्ता साना मुलुकको काँधमा बसेर भारतले छिमेकमा टिमेक झिक्ने जालसाझीपूर्ण कूटनीति र सैन्य तथा सामरिक दम्भको पतन पनि हो । विनामानवीय र सामरिक क्षति भारत चीनलाई जिस्क्याउने मूर्खता बन्द गरेर करीब सातापछि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको बेइजिङ भ्रमणलाई सार्थक बनाउन आफ्नो हैसियतमा फर्केको छ । अब चीनलाई यस्तै हरूवा हुंकार दिने र अरु दक्षिण एशियाली देशलाई मनोवैज्ञानिक युद्ध त्रासमा राख्ने भारतीय युद्ध हुंकार सदाका लागि अन्त्य हुन सके शान्त दक्षिण एशियामा समृद्धिको यात्रा जारी रहने नै छ । डोक्लममा गलित, थकित, चकित वा पराजित भारतीय दम्भ अब पाकिस्तान, नेपाललगायतका छिमेकसँगका सीमा समस्या सल्टाउनर सम्बन्ध सुमधुर बनाउन समर्पित हुन सक्नुपर्छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here