सागमा २५ खेल समावेश गरिने

257

काठमाडौँः नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ।

आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, खो खो, कराते र गल्फ खेल समावेश हुनेछन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विगतका सागका शृङ्खलामा समावेश भएका खेललाई ध्यानमा राखी २३ खेलमा सहभागी राष्ट्रको सहमति भएको र बाँकी दुई खेल कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गर्न लागेको जानकारी दिए।

तेकान्दोमा नेपाल च्याम्पियन

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार भएको प्रतियोगितामा नेपालले सर्वाधिक १९ स्वर्ण जितेको हो नेपालले १६ रजत र ४२ कांस्यपदक पनि हात पार्न सफल भयो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय मार्सल आर्ट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा भारतले तीन स्वर्ण, छ रजत र दुई कांस्यपदक प्राप्त गर्यो। प्रतियोगितामा पुरुषमा राज श्रेष्ठ र महिलामा निशा लामा उत्कृष्ट खेलाडी घोषित भए।
विजेतालाई राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला, नेकपा माओवादी केन्द्रका पूर्वखेलकुद इन्चार्ज लीलाबहादुर थापालगायतले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा १५० खेलाडीले २२ स्पर्धामा भाग लिएका थिए ।
उसु च्याम्पियनसिपमा दुई खेलाडी
रुसको कजानमा हुने १४ औँ विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन्। यही असोज १० देखि १८ गतेसम्म हुने च्याम्पियनसिपको महिलातर्फ निमा घर्ती मगर र पुरुषतर्फ दीपक हमालले प्रतिस्पर्धा गर्नेछन् । दुवैले थाउलोको नान् छ्वान अलराउन्ड स्पर्धामा भाग लिनेछन् ।
निमाले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेकी थिइन् । भारतमा भएको १२ औँ सागमा उनले स्वर्ण जितेकी हुन् । उनको त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । विश्व च्याम्पियनसिप उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

त्यस्तै दीपकको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले खेलाडीलाई आर्थिक सहयोग र ट्रयाकसुट प्रदान गरी सफलताको शुभकामना दिँदै बिदाइ गरे। उनले खेलाडीलाई प्रोत्साहनस्वरुप जनही १३ हजार रुपैयाँ प्रदान गरे। कार्यक्रममा खेलाडीद्वय निमा र दीपकले सक्दो उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीमा क्षमता छ भन्ने सन्देश दिइने प्रतिबद्धता व्यक्त गरे। खेलाडी मंगलबार राति फ्लाइ दुबईबाट रुस प्रस्थान गर्नेछन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here