विशुद्ध प्राकृतिक पर्व दशैं–तिहार

533

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैं र कात्तिक कृष्ण त्रयोदशीदेखि द्वितीयासम्म पाँच दिनको चाड तिहारलाई विभिन्न आख्यान÷आस्थाअनुरूप मनाइएता पनि प्राकृतिक आधारमा एकै मानिन्छ । विशेषतः दशैं वर्षमा चारपल्ट मनाइन्छ, चैत्रशुक्ल प्रतिपदादेखि रामनवनमीसम्म चैतेदशैं, माघशुक्ल प्रतिपदादेखि दशमीसम्म माघेदशैं आषाढ शुक्ल प्रतिपदादेखि दशमीसम्म हिलेदशैं, आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म बडादशैं तर मनाउने क्रममा चैतेदशैं र बडादशैं विशेष चर्चित ढंगले मनाइन्छ, किन ? यी दुई दशैंमध्येमा पनि आश्विन÷कात्तिक महिनामा पर्ने बडादशैं र सँगै आउने तिहार नै किन विशेष मनाउन थालियो त ? यसबारे तथ्य कुरै नबुझी मान्छेहरु पर्वकै विरुद्ध लाग्नेहरुदेखि अर्कै अमुक धर्म परिवर्तन गर्दै हिँड्नेहरुको संख्या बढ्दो छ । कतिपय किरातहरु दशैंतिहार भनेको त हिन्दूले मनाउने पर्व हो आदिवासीले मनाउनै हुँदैन भन्दै आफनो मौलिक पर्वको खोजीमा छन् भने यशु वा अन्य धर्ममा आश्था राख्नेहरुले टीका लगाउन हुन्न, प्रसाद खानुहुन्न भन्दै पन्छिँदै जानेहरु बढ्दो छ । तर सत्यतथ्य कुरा बुढापाकाहरू अहिले पनि भन्ने गर्छन्– ‘गर्मीका कारण धेरै खानपिन गर्दा झाडाबान्तालगायतका रोग लाग्ने भएपछि दशैंलाई आश्विनमा सारिएको हो । तर यहाँ जुनसुकै जात्रा–पर्वलाई पनि हिन्दूहरूको महान् पर्व भन्ने थेगो झुन्ड्याइँदा पर्वको मूल मर्मको हत्या भएको छ भने अर्कोतर्फ हिन्दूस्थान (भारत) को राष्ट्रियतालाई अङ्गीकार गर्न बाध्य पारिएको छ । हिन्दू वास्तवमा धर्म नभई हिन्दूस्थानी राष्ट्रियता हो । वेद मान्नेलाई वैदिक भनिन्छ, तर दशैं–तिहार वैदिक, बौद्धले मात्र मनाउने एकल पर्व नभई नेपाली हावापानी सुहाउँदो प्राकृतिक पर्व हो ।
‘जसरी नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि सर्वप्रथम म नेपालबाट आएको नेपाली हुँ भनी गौरव गर्छन् । त्यसै गरी हिन्दूस्थानी नेपाल छिरेर पृथ्वीनारायण शाहका वंशजले गौरवसाथ प्रयोग गरेको शब्द हिन्दूलाई धर्म बनाएर लाद्ने कार्य हुँदा प्रकृतिमा आधारित दशैं–तिहार हिन्दूकरणको मारमा परेको हो । जसको कारण आदिवासी जनजातिलगायतका अन्य सम्प्रदायले दशैंलाई संकुचित दृष्टिकोणले हेर्न थालेको पाईन्छ । सिन्धुघाँटी सभ्यतालाई फारसी भाषी मुसलमानले हिन्दू र सोही हिन्दोलाई बेलायती भाषामा इन्डो हुँदै भारत वर्तमानमा इन्डिया बनेको जगजाहेर छ । जुन सत्यतालाई कुना पन्छाएर भारत (हिन्दुस्थान)बाट नेपाल पसी हिन्दूत्वको गौरव गर्नेको लहैलहैमा लागि प्रकृतिमा आधारित दशैं–तिहारलाई हिन्दूको मात्र भनिनु पर्वलाई नबुझ्नु हो । दशैंलाई सम्पूर्ण नेपालीको राष्ट्रिय पर्वका रूपमा अगाडि बढाउनु पर्दछ । हामी आफैं अनुभूति गर्न सक्छौं, चैत, वैशाख, जेठमा हावाहुरीले दुःख दिने, असार, साउन र भदौमा बाढी–पहिरो र वर्षात्ले सताउने, मंसीर, पुस र माघ महिनामा जाडोले कठ्याङ्ग्रिने नेपाली हावापानीको स्वभाव हो । यस प्रकार अनेक उपद्रवबाट बच्दै ठूलो रोगव्याधि, दुःखबाट पार पाएको खुशीयालीमा आश्विन–कात्तिकको ऋतुराज शरदलाई नेपालीले आ–आफ्नो महान् चाड दशैं र तिहार मनाउन थालिएको हो । त्यो सत्यलाई न धर्म गुरुहरुले व्याख्या गरे न त विशुद्ध प्राकृतिक पर्व दशैंतिहारलाई आआफ्नो धर्मको पेवा भनी अपव्याख्या गर्न छोड्यो । फलस्वरुप धर्मकै मूलमा भुल पर्न गई जजमानहरु रनभुल्लमा पर्ने गरेको पाइएको छ । तर कसैको भुलभुलैयामा नलागी एउटै दशैंलाई समुदाय प्रकृति धरातलीय आधारमा छुटटाछुटै नाउँ रुपमा मनाउने गरेतापनि दशैं तिहार प्राकृति पर्व हो । हावापानी सुहाउँदो पर्व जसले जुनसुकै नामरुपमा मनाउन सकिने महान पर्व ।
घटस्थापनादेखि पूर्णिमासम्म दशैं :
उपत्यकावासी नेवारहरू दशैंलाई मोहनी र तिहारलाई स्वन्ति मान्छन् । दशैंको पहिलो दिन घटस्थापना (नलास्वनेगु)का दिन देवताको कोठामा नदीको पवित्र बालुवा ल्याई चोखोगरी विधिपूर्वक जौ, तिल, मकै, गहुँको जमरा राखिन्छ । हनुमानढोका र टोलटोलका तलेजु घरमा जमरा राखी बाँड्ने परम्परा छ । घटनास्थापनाको भोलिपल्टदेखि नवरथा घुम्न जाने गरिन्छ । जसअनुसार काठमाडौंमा भद्रकाली (लुमडी), संकटा, महांकाल, शोभाभगवती, इन्द्रायणी, (लुतिमरु अजिमा), नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, टुँडालदेवी (तोणँ अजिमा) दक्षिणकालीलगायतका शक्तिपीठमा दर्शनार्थी पुग्ने गर्दछन् ।
दशैंमा पाटनमा १० महाविद्या (भैरवी, सिद्धिलक्ष्मी–पूर्णचण्डी, मातङ्गी, तारा–खड्गयोगिनी, बंगलामुखी, त्रिपुरासुन्दरी, काली, भुवनेश्वरी, धुमावती र छिन्नमस्ता ) पुजिन्छ । भक्तपुरमा नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री ) लाई विशेष सम्मानका साथ पुज्ने र पञ्चबलि (हाँस, कुखुरा, भेडा, बोका र राँगा) दिने गरिन्छ । जीवितदेवी कुमारीलाई मूलमानी मातृशक्तिको सम्मान र पृथ्वीमाता, घरको मूलढोकामा पुज्ने चलन दशैंमा हुन्छ ।

दशै एक कथाकुथुरी अनेक
१) पचिम्ह« (आश्विनशुक्ल पञ्चमी) : पचली जात्रा कलिसंवत् ३८२५मा राजा गुणकामदेवले काठमाडौं नगर म्हेपीलाई मञ्जुश्री खड्गको शिर र पचलीलाई बीँड बनाई स्थापना गरे । फर्पिङका राजा मानिने तान्त्रिक पचली भैरव प्रत्येक दिन टेकुस्थित नईअजिमा (खड्गी कन्या) सँग प्रेमालाप गर्दै रात बिताउँथे । अभिभावकले थाहा पाई कुटपिट गरी पचली–झाडीमा फ्याँकिदिए,। जहाँ प्रत्येक वर्ष दशैंको पञ्चमीका दिन तामाको घ्याम्पोमा खड्गधारी त्रिशूल, ढाल, विन्दु मुद्रासहितको भैरव जात्रा गरिन्छ । टाउकोमा बुद्ध अङ्कित तर घ्याम्पोभित्र जाँड, रक्सी भरीे काेंचाद्यो जात्रा गरिन्छ । जात्रा दलाछीं, बकछें (इनाखा), यङ्गाल, न्हुघः नायापाच्वःका ज्यापूहरूले पालैपालो बर्सेनि चलाउँछन् ।
२) फूलपाती नवरथाको सातौं दिन :
दशैंको सप्तमीका दिन गोर्खा दरबारबाट मगर समुदायलाई बोकाई हनुमानढोकाभित्र नवपत्रिका (केरा, कल्चु, हलेदो, वैजयन्ती, बेल, दारिम, अनार, अशोक, मानापिँडालुको बोट, पात र धानको बाला) तरिकासँग बोकेर फूलपाती भित्र्याउने र टुँडिखेलमा राष्ट्रप्रमुखको उपस्थितिमा फूलपाती बढाइँ गरिन्छ । यसलाई मगर र नेवार खस ब्राह्मण समुदायबीचको सुमधुर सम्बन्धका रूपमा लिइन्छ ।
३) महाअष्टमी (कुछिभोय्) :
आश्विनशुक्ल अष्टमीका दिन मूल दशैं नुहाई–धुवाई गरेर शुद्ध चोखो भई समयबजी (समय, चिउरा, कालो भटमास, छोयला, गोजा) आदि राखेर पेखालुखा (घरको मूल ढोकाअगाडिको पृथ्वी), गणेश (गणशक्ति) र पञ्चबुद्ध पूजा गर्ने गरिन्छ । थापँ पूजा गरी साँझ नेवार समुदायमा कुछीभोय भनी केराको पातमा कुछी (दुई माना चिउरा),नौ थरी घासा (राँगाको मासु, बोडी, साग, आलु, तरकारी, अचार, आदि) राखी भोज खाइन्छ । दुई माना कुछी भोज खान नसक्नेहरूले मानाभित्र कागज कोचेर पनि भागमा दुई माना पु¥याउँछन् ।
४) मरु गणेश जात्रा :
ल्वहंशाला (चन्द्र विनायक), क्वयना गणेद्य (जल विनायक), इनाय गणेद्य (सूर्य विनायक) सिद्धि गोश (कार्य विनायक) मध्ये प्रत्येक वर्ष दशैंको कुछिभोय् (अष्टमि)देखि असं चालंसम्म मरु गणेश जात्रा हुने गर्दछ । आख्याननुसार राजा लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डप निर्माण गर्नुअघि अशोक रुखको मुन्तिर स्थापित गणेशलाई अशोक विनायक र गजुर नभएकाले मरु गणेश भनियो । राजाकै सल्लाहनुसार जामन गुभाजुले बौद्ध तान्त्रिक पद्धतिअनुसार देवन्यास गरी जात्रा चलाए । असन अन्नपूर्ण देवीस्थानमा रहेको अस्वाँ (अशोकारिष्ट रुख) को हाँगा मरु गणेशसम्म फैलिएको हुँदा जात्राका बेला असमरु अजिमां (अन्नपूर्ण) र मरुगणेशलाई आमाछोराका रूपमा लिइन्छ । तहविल चोकका धर्म नारायण साय्मिले सुन्दरताका लागि गजुर लगाउँदा अशुभ संकेतहरू देखिएपछि क्षमापूजा गरी जात्रा चलाएको बताइन्छ । प्रत्येक वर्ष दशैंको कुछि भ्वय् (अष्टमी)का दिन जात्रा गर्न फूलपातिका दिन खट बोक्ने र पूजारी ज्यापुहरूलाई साय्मि खलकबाट भोज खुवाइन्छ ।
नोचा गुथिको पुजा ः साँझ नाय्खिं बाजाले थकाली ल्याएपछि देवघरबाट देवतालाई खटमा प्रतिष्ठापित गराइन्छ । थकालीले ताय,अम्बा, केरा, मुला, फूलमाला सहित देवतालाई ३ वटा बोकाबली दिएपछि खट परम्परागत कुमारी रथारोहण गर्ने मार्ग थने र कोनेमा घुमाउछन् । मध्यराति मरु यज्ञकुण्डमा ३२ प्रकारको अन्न होम गरी राँगा बली दिइन्छ भने नवमिका दिन भक्तजनबाट पशुवली बली दिने गरिन्छ ।

५) महानवमी (स्याक्वत्याक्व):
कौलाथ्व नवमी (आश्विन शुक्ल नवमी)लाई दशैंको मूल काालरात्रि भनी महालक्ष्मी, महासरस्वती, महाकालीको पूजा गरिन्छ । अन्न, धन, शास्त्र (अर्थ, ज्ञान र शक्ति) सधँै स्थिर रहोस् भन्ने उद्देश्यका साथ देवीलाई कुखुरा, हाँस, बोका, राँगा, च्याङ्ग्रा आदि बलि दिइन्छ । पूजास्थलमा संस्कारअनुरूप वज्र, घण्टा, ताला, पुस्तक, अन्न, कुटो–कोदालो, हातहतियार स्थापना गरी नेवारहरुमा यस दिन माकःचामा मोहनी (कालो टीका) थाप्ने गरिन्छ ।
दशैंलाई मोहनी भन्नुको अर्थ देवीस्थलमा कालो टीका थापी तन्त्र साधना गर्नु नै हो । यस दिन कारखाना, पसल, मेसिन, सवारीसाधनलाई समेत बलि दिएर पूजा गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर भक्तजनका लागि खुल्ला गरिन्छ । भक्तपुरको नवदुर्गामा विधिवत पुजा लगतै जाँड रक्सि खुवाएर मातेको राँगालाई जनमानसले लखेटी लखेटी व्रम्हायणी थानमा पुर्याएर थाकेपछि वध गर्ने गरिन्छ । त्यो राँगाको मासु जनमानसले लुछाचुडी प्रासदको रुपमा लाँदा एउटा विवत्स परिघटना देखिन्छ । सोही राँगाको अस्तिपञ्जर जोडेर पुजा जात्रागर्ने गरिन्छ ।
६) दशैंको पायोजात्रा र तलेजुमा राँगाबलि : 
शक्ति साधक नेवार आफ्नो शरीरमा आफैंले देवता चढाई मनोकांक्षा पूरा गर्दछन् । यसका लागि काठमाडौंको हनुमानढोका,भक्तपुर र पाटनको तलेजुबाट पायोजात्रा निकालिन्छ । पायो,,खड्ग जगाउन आगम र निगमतन्त्रको गुढ विधि साधना परम्परा हो । यस दिन हनुमानढोका तलेजुचोकमा १०८ वटा सरकारी र अन्य राँगा, बोका बलि दिने गरिन्छ । खड्ग हातमा लिई तलेजु वा आगमघरबाट निकालिँदा खड्गधारी व्यक्तित्वमा देवता चढीरहेको हुन्छ । कथानुसार राजा गुणकामदेवले पीठ जगाउन पायोजात्रा निकाल्ने परम्परा बसाएका हुन् । भक्तपुरमा भने राजा हरिसिंहदेवले तलेजुबाट पायोजात्रा निकाल्न थालिएको हो । पायोको दर्शनले अष्टमहाभयबाट मुक्ति पाइन्छ भन्ने मान्यता छ ।
७) दशमी टिकाको दिन खटजात्रा :
यट्खा,कङ्केश्वरी देवीले तहविल थकालीको घरमा धिमे नायखिं बाजाका साथ पूजा थाप्न जाने गर्दछ । खटलाई नारायणहिटीसम्म पु¥याइछ । गणेश जात्रा एकादशी (असं चालं)पूर्णिमासम्म रहन्छ । बौद्ध चैत्यपछि उपत्यकामा सबैभन्दा बढी गणेशका मूर्ति छन् । बौद्धहरू मायाँदेवीले बुद्ध जन्मनु अघि सपनामा देखेको सेतो हात्ती शुभ संकेटका रूपमा लिन्छन् भने वैद्धिकहरू आकाश शिव र पृथ्वी पार्वतीबाट उत्पन्न मयल देवताका रूपमा पूज्दछन् । तर नेवार तान्त्रिक पद्दतिमा गणेशलाई गणप्रमुखका रूपमा रांगा, हाँस, कुखुरा, बोका,अािद पञ्चवली दिएर पुज्दछन् । लिच्छवीकालसम्म सादा ढुङ्गाका रूपमा पूँजिने गणका देवता गणेशलाई मल्लकालमा एक टोलबाट अर्को टोलको नामाकरण गर्दै स्थापित देख्न सकिन्छ ।
) दशमी टीका (विजयादशमी) देखि पूर्णिमासम्म :
आश्विनशुक्ल दशमी (कौलाथ्व दशमी)का दिन बिहान नित्यपूजा चोखोनितो गरी घटस्थापना (थापं)का दिन राखिएको जमरा घरको मूली महिलाले (थकालीनकींले) पूजा गरी निकाल्छन् । यस दिन आगमबाट, रातो वस्त्र लगाई कुमारी, पहेंलो वस्त्र लगाई बसुन्धरा, सुन्तला रंगका लुगा लगाई अजिमाँ र नीलो लुगा लगाई भैरवको पायो पनि निकालिन्छ । असन पायो भने एकादशीका दिन निकालिन्छ ।
विजया दशमीका दिनदेखि मान्यजनका हातबाट टीका थाप्न जाने परम्परा आश्विन पूर्णिमासम्म कायम रहन्छ । पारिवारिक सम्बन्ध सुमधुर बनाउने दशैंलाई मातृशक्तिको उपासना र उन्मुक्तिका दिनका रूपमा लिइन्छ । दशमीको भोलिपल्ट मरुगणेशलाई देवताघरमा राखी खटजात्रा गरिन्छ । आश्विनशुक्ल चतुर्दशीका दिन काठमाडौंको श्रीघःमा दीपावली हुन्छ भने कोजाग्रत पूर्णिमाको साँझ कौसी, बुइँगलमा मत्र्यमण्डलमा घुम्न आउने महालक्ष्मीको पूजा हुन्छ । बाँसको टुप्पामा आकाशदीप झुन्ड्याएर बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ ।
९) धर्मस्थली (धमाथु÷जात्रा) :
दशैं, कोजाग्रत पूर्णिमा र भोलिपल्ट दुई दिन धर्मस्थलीस्थित धमाथु बौद्ध चैत्य जात्रा मनाइन्छ । उसै त दशैंको अन्तिम दिन त्यसमाथि धान काट्ने चटारो खेतमा छाडी जात्रामा सहभागी हुनुपर्दा ठूलो कष्ट झेल्नुपरेको प्रत्यक्ष देख्न सकिन्छ । राजा मानदेवका पुर्खा धर्मदेवको राज्यकालमा स्थापित ऐतिहासिक बस्ती धर्मस्थलीमा मनाइने जुनसुकै जात्रा–पर्वमा पनि नायखीँ खड्गी बाजा बजाएर भक्तालुलाई निम्तो दिने र ज्यापु समाजद्वारा बजाइने धिमेबाजा जात्रास्थल पुगेपछि मात्र खट उठाउने परम्परा रहँदै आएको छ । बालाजु वाइसधाराबाट करिब ५ किमी पूर्वोत्तरमा डाँडैडाँडाले घेरी थुम्कोमाथि धर्मस्थली बस्ती रहेको छ ।
१०) वैदिक दशैंः
त्रेतायुगका पुरुषोत्तम श्रीरामद्वारा आफ्नी पत्नी सीता हरण गर्ने रावण वध गरेको खुसीयालीमा विशेषगरी मारबाडी समुदाय बलिरहित दशैं मनाउँछन् । यिनीहरूमा घटस्थापना गर्ने परम्परा त छैन तर रावणको ठूला–ठूला पुतला बनाई विशाल जनसमुदायका माझ बारुदद्वारा पड्काएर अन्त्य गरि खुशि साटिन्छ ।
११) अस्त्र परित्याग दिवसः
सब्बेतसन्ति दण्डस्स, सब्बे भायन्ति मच्चुनो । उत्तानंउपमंकुत्वा–नहनेय्यनधातिया । दण्ड देखेर सबै डराउँछन्, मृत्युबाट सबै भयभित हुन्छन्, यसैले सबैलाई आपूmसमान सम्झेर मार्ने नगर । यही बुद्ध सन्देशलाई आत्मसात् गर्दै सम्राट अशोकले शस्त्र परित्याग गरेको दिन बौद्धहरूले दशैंलाई लिन्छन् । अशोक सम्राट्, जसले तुच्छ सत्ताप्राप्तिका लागि ९९जना दाजुभाइको हत्या गरेछु भन्ने पश्चात्ताप गरी आश्विन पूर्णिमाका दिन शस्त्र परित्याग गरी सम्पूर्ण जनमा हिंसाभयबाट मुक्त गरे । यशु जन्मनु तीन शताब्दीअघि अशोकले आफू सम्राट बन्नका लागि कलिङ्गको युद्धमा १ लाखभन्दा बढीको हत्या । डेढ लाख जनालाई कैदी बनाइए ‘अस्त्र परित्याग दिवस’ दशैंमा स्मरण गरिन्छ । अशोक सम्राटले बुझे–‘रगतको टाटा (दाग) रगतले धोएर कहिल्यै मेटिन्न’, फलस्वरूप बुद्ध धर्ममा दीक्षित भई विश्वभर ८४ हजार बौद्धचैत्य स्थापना गरे ।

१२) तराईमा दुर्गापूजा :
तराई र भारतको विहारमा विजया दशमी माटोको कलात्मक दशहाते महिषमर्दिनीको मूर्ति बनाई ठूलो हर्षोल्लासपूर्वक पूजा गरी मनाइन्छ । दशमीको भोलिपल्ट सिन्दुरजात्राका साथ नदी, तलाउ पोखरीमा पु¥याई सेलाइन्छ । संसार अनित्य छ,त्यसैले सुन्दर सिर्जनाहरू यसरी नै अन्त्य हुन्छ भन्ने सन्देश प्रवाह गर्न कलात्मक मूर्ति नदीमा सेलाउने परम्परा बसेको बताइन्छ ।

१३) दशैं र गणनृत्य :
दशैंअघि आश्विनकृष्ण पक्ष दशमीको रातदेखि भक्तपुर नवदुर्गागणको नयाँ मुकुण्डो सहित विभिन्न क्षेत्रमा नचाइन्छ । भक्तपुर अन्तर्गत पशुपति, हनुमानढोका, पाटन दरबार, बनेपा, पनौतीलगायतका क्षेत्रमा गणनृत्य नचाइने परम्परा छ । राजा शिवदेवको राज्यकालमा भक्तपुरबाट पशुपतिक्षेत्र जहाँ ९ शिवलिङ्ग, ९ कुण्ड, ९ डबली, ९ टोल, ९ जातका नेवार रहेको स्थानमा गणनृत्य गराइरहेको बेला राजराजेश्वरी घाटनेर उज्यालो भएपछि सोही स्थानमा नवदुर्गा द्योछें निर्माण गराएको बताइन्छ । यी दुवै नवदुर्गास्थलमा पुरानो देवीगण मूर्ति बनाउनुप¥यो भने भलभल अष्टमीका दिन असार महिनामा नै बनाइन्छ । पाशुपत क्षेत्रमा प्रत्येक १२ वर्षको एकपल्ट दशैंमा ललितपुरको हरिसिद्धि गणनृत्य, ठिमी बोडेको नीलवाराही नचाइने परम्परा छ । गणनृत्यमा चार भैरव,चार वाराही,चार देवी, कङ्काल, ख्याकको सामूहिक नृत्य हुने परम्परा छ ।

१४) बाह« र पाँच वर्षे खड्गसिद्धि गथुप्याखँः
प्रत्येक ५वर्षमा मखन तारणीबहाल सिंहदोबाटोमा भद्रकालीसँग र प्रत्येक १२वर्षको एकपल्ट काष्ठमण्डप भूतिसःअगाडि राष्ट्रप्रमुख र किराँती राजाको वंशज गथुमाली पचली भैरवसँग खड्ग साट्ने दशंैको मौलिक परम्पराभित्र पर्दछ । विजया दशमीको राति यसरी खड्ग साट्नाले राज्यस्थिर भई शान्ति कायम हुन्छ भन्ने मान्यता छ । राजा गुणकामदेवद्वारा काठमाडांै नगर व्यवस्थित गर्दा प्रतिस्थापित गणदेवताहरूमा पचलीलाई बिँड र म्हेपीलाई शिर पर्ने गरी मञ्जुश्रीको खड्गाकार बनाएका थिए ।
चारैतिर स्थापित अष्टमातृका मध्ये भद्रकाली र पचली कडा पीठका रूपमा लिइने हुँदा यी दुईबाट विघ्न नपरोस् भनी राष्ट्रप्रमुखहरूले खड्ग साटेर शक्ति स्थिर गर्नुपरेको कथन छ । गथुप्याखँमा गणेश, भैरव, मनमैजु, धुम्बा, सिम्बा, दुरूपति, भद्रकाली, कङ्गअजिमा, वाराही र पचलीसहित १२देवीगणले एक वर्षसम्म टोल–टोलमा गणनृत्य गराइन्छ । २०५५मा स्वर्गवासी राजा वीरेन्द्र र २०६० को विजया दशमी राजाज्ञानेन्द्रसँग खड्गसिद्धि लिइएको थियो ।

गथु प्याखँदशैंमा ः
पचलीभैरव जात्रा दशैंको पञ्चमीमा र १२ वर्षमा एक वर्ष (गथुप्याखँ) गणनृत्य गराइन्छ उपत्यकामा । काष्ठमण्डपस्थित भूतिसतःनेर राष्ट्रप्रमुखको हातबाट पचलीभैरवसँग खड्ग साटेपछि प्रारम्भ हुने गथु प्याखँ देशमा अशान्ति, युद्ध, रोग, भोक, शोक आदि उपद्रव नहोस् र शत्रु पक्षमाथि विजय होस् भनी गथु प्याखँ ँ(माली) नेवार समुदायको नेतृत्वमा हुने गणनृत्य)) नचाइन थालिएको हो । १२ वर्षे पचली भैरव गणनृत्यमा धुम्बा (व्याघ्रिनी), सिम्वा (सिंघिनी), मनमयजु (इन्द्रायणी), अजिमा (चामुण्डा), वाराही, कौमार्य, नारायणी, दुरूपति (रुद्रायणी), ब्रह्मायणी र गणेशलाई तान्त्रिक साधनाका साथ मानव देवतालाई ज्याः बहालस्थित द्योछेंअगाडि सामूहिक गणनृत्य गराउने गरिन्छ । मल्लकालीन राजा थकु जुजुको घरमा, हनुमानढोकाको नासल चोकमा विधिवत् गणनृत्य गराइसकेपछि टोल–टोलमा राँगा आदि पञ्चबलि लिँदै गथु प्याखँ नचाइन्छ ।
देवीगणहरू जामा, मुकुण्डो गहना पहिरनमा, हातमा थरी–थरीका हतियारसहित उपस्थित हुन्छन् भने दुरूपतिबाहेक सबै देवगणले राँगा, हाँस, कुखुरा आदिको बलिको रगत काँचै पिएको देख्दा अनौठो अनुभूति हुन्छ । कलिगत संवत् ३८२५ (इ.सं.७२४)मा कान्तिपुर निर्माण गर्दा राजा गुणकामदेवले दक्षिणी क्षेत्रपालको रूपमा स्थापित पचलीभैरवको गणनृत्य शुरूमा राजोपाध्याय पुजारीको शरीरमा प्रत्यक्ष भई साक्षात्कार हुन्थ्यो । एक दिन फूल पु¥याउन गएका मालीको शरीरमा प्रवेश गरी अबदेखि यहिवंशकै नेतृत्वमा गणनृत्य चलाउनु भन्ने भगवानको आदेश भएछ । यसै बेलादेखि गथु प्याखँका लागि गुठीको प्रबन्ध र राज्यबाट आवश्यक व्यवस्था पाइन्छ ।
१५) दशैं–तिहार र चङ्गा ः
चंगा उडाउन केटाकेटी उत्सुक हुन्छन् तर युवा–युवती र वृद्धवृद्धाले पनि उडाएमा शारीरिक स्फूर्ति र मनोरञ्जन प्राप्त हुन्छ । चङ्गा उडाउनाले कतिपय मानसिक रोगसमेत निको हुने विश्वास गरिन्छ । नेपालभाषामा भुटुमाली, हिन्दीमा गुड्डी, पतङ्ग भनिने चङ्गाको आविष्कार चीनमा भएको मानिन्छ । चङ्गा उडाएपछि पानी पर्न रोकिन्छ भन्ने मान्यता छ । चङ्गा उडान प्रतियोगिताजस्ता नयाँ–नयाँ कार्यक्रममा युवायुवतीको सहभागिता बढ्दै गइरहेको छ । चङ्गा चाडपर्वको बेला मात्र होइन, मन बहलाउन पनि उडाउने गरिन्छ । चैत–वैशाखमा अत्यधिक गर्मी हुने, बढी वेगले हावा बहने बर्षातमा पानी पर्ने कारण चङ्गा उडाउने गरिँदैन । शरद ऋतु चङ्गा उडानका लागि उपयुक्त मौसम भएका कारण दशैं–तिहारमा चङ्गा उडाउने परम्परा बसेको हो । नेपालमा चङ्गा उडाउनुलाई मनोरञ्जनका लागि भनिए पनि चीनमा यसलाई दुष्ट आत्मा धपाउने प्रयासका रूपमा लिने गरिन्छ । नेपालमा चङ्गा सांस्कृतिक आदानप्रदान गर्ने क्रममा प्रख्यात वास्तुकलाविद् अरनिकोले चीनबाट भित्राएको कथन छ । तर नेपाली बजारमा भारतीय चंगाको हावी छ ।

१२ वर्षे थेच्व नवदुर्गा गणनृत्यः
कोजाग्रत पूर्णिमाकादेखि थेच्व नवदुर्गा गणनृत्यको १२ वर्षेजात्रा विधिवत् सुरु हुन्छ । अन्तिम किरात राजा गास्तीका वंशज गथुमाली र आदिवासी ज्यापू समुदायको संयुक्त सहभागितामा हुने ललितपुरको थेच्व नवदुर्गा गणनृत्य दक्षिणकाली अजिमाँ, मनमयजु (महालक्ष्मी), म्हासख्वा माजु (ब्रह्मायणी), कु्मारी, बामुख्वा माजु (विष्णुदेवी) गणेश, तुयुख्वा माजु (गंगादेवी), सिंहिनी, ब्याघ्रेनी, भैरव, बाराहीको गणनृत्य हुने गर्दछ । गणनृत्यले पूर्व कर्मनासा,पश्चिम नख्खुबीच करिब १३००सय रोपनीबीच फैलिएको थेच्वमा बज्रबाराही (चापागाउँ), लेले, सुनाकोथी, धापाखेल (नागदह) बस्तीलाई ललितपुरको सातगाउँले जात्रा पनि भनिन्छ । आख्यानअनुसार अन्तिम किराती राजा गास्तिका वंशज गथुमाली समुदायलाई लिच्छविहरूले लखेट्दा लुकेकालाई पनि घेरा हाली हत्या गरिदिएछ । जसका कारण रगतको खोला बग्न थालेछ । भनिन्छ, त्यसै बेलादेखि वडा नम्बर–१ मा बग्ने नदीलाई हिल्वः खुशी (रगतको नदी) भनिए । हत्याकाण्डबाट बचेका गथुमाली र ज्यापुबीच वडा नम्बर– ५ र १ बस्ती साट्दा उस्ताउस्तै देखेपछि थेच्वँ भन्न थालिएको हो । थेच्व नवदुर्गा गणनृत्यको योम्हरी पूर्णिमा मंसिर महिनादेखि नै तयारी हुने गर्दछ । १२ वर्षे थेच्व नवदुर्गा गणनृत्यमा एक वर्षअघिदेखि नै थेच्ववासीले विवाह, व्रतबन्धलगायतका शुभकर्म गर्न नहुने, इष्टमित्र आफन्तलाई गाउँ घुमाउन र रातबस्न दिन नहुने परम्परागत मान्यता छ । पाहुनालाई रात बस्न दिए देवीघरमा दही–चिउरा खान जाने इच्छा गर्दै खान पाऊँ भनी माग्न जान्छन् र देवीलाई बलि दिई सो व्यक्तिको सिद्रा बनाई १२ वर्षसम्म नरधूप दिइन्छ भन्ने मान्यता छ । दशैंको फूलपातीका दिन नवदुर्गा देवीलाई जगाउन लेलेको तीनपाने भञ्ज्याङबाट आगासिं काठ ल्याई चोकमा नृत्य सिकाउने छाप्रो निर्माणसँगै १२ वर्षे थेच्वो गणनुत्य जात्रा सुरु हुन्छ ।
देवीलाई देवगणको शरीरमा जगाउन ः
महालक्ष्मी (मनमयजु) का लागि स्थानीय यामुन्या पुखु, विष्णुदेवी (वाङ्गुख्वा) लाई धापाखेल नागदह, गंगा (तुयुख्वामाजु) र गणेशका लागि थेच्वकै गलवलबाट चुल्याई विधिवत् गोप्य पूजा गरी मुकुण्डो र पोसाक लगाउने गरिन्छ ।
आश्विन फूलपातीका दिन ३४ जना ज्यापु तथा माली गुठियारहरूले कुश्ले बाजाका साथ सुनाकोथि पीठमा जिउँदै परेवा, भँगेरा, सर्प, राँगा र हाँस यज्ञस्थलमा होम गरेपछि १२ वर्षे गणनृत्य थालिएको थियो । गणनुत्यमा देवगणले, राँगाले काँचै रगत तनतनी पिएको देख्ने जस्तोसुकै नास्तिकलाई पनि सोच्नकर लगाउछ ।’ १६) कहिं नभएको जात्रा हाडीगाउँमा ः
शङ्खमूलदेखि बूढानीलकण्ठसम्म लिच्छविकालीन राज्य विशालनगर फैलिएको बेला दुई जीउकी दुई दिदी–बहिनी एकान्तमा नित्यकर्म गर्दै थिए । दिदीचाहिँले भनिछन्– बच्चा जन्माउन धेरै कठिन हुन्छ होला हगि ? मेरो त भगवान् सहारा छन् ।’ बहिनीले भनिछन्–‘भगवान््ले पनि पाइदिने हो र ? म त आफैं जन्माउँछु ।’ महिना पुगेपछि दिदीचाहिँले सहजपूर्वक शिशु जन्माइछन् भने देवताप्रति अविश्वास गर्ने बहिनीले १२ महिना भइसक्दा पनि जन्माउन सकिनछन् । ज्योतिषीले भगवान्प्रति अविश्वासका कारण क्षमा माग्नुपर्ने बताए । देवतालाई खुशी पार्न संसारमै नभएको जात्रा गर्ने र मैनफूल चढाउने भाकल गरिन्छ ।
त्यसै बेलादेखि प्रत्येक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि तीन दिनसम्म उल्टो खटको जात्रा र कहीँ नभएको मैनबत्तीको फूल चढाउने परम्परा चलेको हो । २४ जनाले तीन खट बोक्ने र २ जनाले खट घुमाउने ज्यापू समुदायबाट र मैनबत्तीको कलात्मक फूल बनाउने र उल्टो खटलाई चढाउने गुठी मानन्धर जातिले गर्दछन् । कोजाग्रत पूर्णिमालगत्तै हाँडीगाउँको दथु टोलबाट आमा खट, न्याल्मा टोलबाट बाबु खट र कोटाल टोलबाट छोरी खट बनाएर जात्रा गर्दछन् । जात्रामा धिमेय, बाँसुरीलगायत अनेक प्रकारका बाजाको तालमा हाँडीगाउँ पूरै घुमाइन्छ । चोकदे नारायणको जात्रा भनिने कहीँ नभएको जात्रा कोटाल टोलस्थित पुजारी हरिनारायण श्रेष्ठको घरअगाडिको नारायण मन्दिरबाट सुरु हुन्छ । त्यस बेला भक्तजन व्रत बस्ने र देवी–देवताको पूजा गर्न जानेको छुट्टै चहलपहल त्यहाँ देखिन्छ । पिता खटलाई ब्रह्मा (सृष्टि), छोरा विष्णु (पालक) र आमा खटलाई महेश्वर (संहारकर्ता) पनि मान्ने परम्परा रहेको छ । हिमालको प्रतीक सेतो कपडा, जङ्गलको स्वरूप सयपत्रीका फूलका बोट र तीन तहमा मैनको फूलले सिँगारी खटलाई उल्र्टो जात्रा गरिन्छ । हाँडीगाउँ भैरवलाई थुमा बलि दिई नायखीँ र म्वायली बाजाको तालमा मनाइने प्राकृतिक जात्राको लक्ष्य ईश्वर आस्थालाई जगाउनु हो ।

१७) खोकनाको सिकाली जात्रा ः
पचली भैरवका पूजारी ज्यापु विषमज्वरका कारण अचेत अवस्थामा गुथियारहरूले मरेको ठानी जब जलाउन थाले तब ठूलो बाढीपहिरो आई सबै बगाएर नदीको बगरमा उतारेछ । ज्वरोबाट बिउँझदा आफूलाई निर्जन एकलास नदीको किनारमा पाएपछि रोईरोई आफ्नो कथाव्यथा बुङमतिबासीलाई सुनाएछन् । घर जाउँ भने घाट पु¥याएकालाई भित्र्याउँदैनन् भन्ने थानी सोही ठाउँकी एक आइमाइसँग घरजम गरी बसाएको बस्ती भएको हुँदा सो बस्तीलाई ख्वकना (रोइरोई बसाएको बस्ती) भनियो । देवमाला वंशावली अनुसार ने.सं. ६३३ मा राजा अमर मल्लले रुद्रायणी अष्टमातृका पिठलाई मूल बनाई थापना गरिएको खोकनामा दशैं मनाइँदैन । देशभर दशैंको टीका लगाई घर–घरमा पारिवारिक व्यस्तता रहेको बेला यहाँ तृतियादेखि षष्ठीसम्म सिकाली गणनृत्य जात्रा भनाइ रहेको हुन्छ । त्यसैले खोकनालाई दशैं नभएको देश पनि भनिन्छ । जात्रा हुनु चार दिन अगाडि ताःगुथि, सलांगुथि र जाःगुथिका ३ जनाले देवीको जात्रा थाप्ने पालो बस्ने गरिन्छ ।

१) कौलाथ्व तृतिया र गुप्त पूजाः
मध्यरात देश रक्षार्थ स्थापित सिकाली अजिमाँ पिठ (देशबाहिर चिखोना) लाई चोखो खोट नभएका रांगा बली दिइन्छ । बली दिइएका मध्ये दुईवटा राँगाको रगत पाता ख्वला (कचौदा)मा थापी विधिपूर्वक पुजा गरिन्छ ।

२) कौलाथ्व चौथि र छ्वयलाभूः
देवीलाई चढाएको राँगाको मासुको छोय्ला बनाएर भोज खाइन्छ । छोय्लाबू भनिने यस दिन भात खानु हुँदैन ।

३)कौलाथ्व पञ्चमी मूजात्राः
पचली–टेकुमा भैरवको क्वँचाद्यो जात्रा भैरदाँ यहाँ सिकाली माजुको जात्रा गरिन्छ । महाकाल र वीरभद्रलाई बलि दिई मध्यरात सिकाली ख्योमा ९ वटा भैरवगण जगाउँदै जात्रा गरिन्छ । मूलजात्राका दिन हुने अश्वमेध यज्ञमा दक्ष प्रजापतिले महादेवलाई गरेको अपमान सहन नसकी देवी अग्निकुण्डमा हामफाली उत्पन्न भयावहको स्थिति उजागर जात्राको रूपमा लिइन्छ ।

४) कौलाथ्व षष्ठी र सिकाली प्याखँ ः
देवी प्याखँ ने.सं.६३३मा राजा अमर मल्लले गुथि राखी सुरु गरेको बताइन्छ । १२ वर्षमा सिकाली गण नृत्य काठमाडौं हनुमानढोका, पशुपति, बुङ्गमति लैजान्छ ।

१८) फर्पिङ हरिशंकर जात्राः
दशैंअघि भाद्रशुक्ल द्वादशीदेखि आश्विनकृृष्ण एकादशीसम्म फर्पिङ हरिशंकर जात्रा दक्षिणकाली गोपालेश्वरला मूल मानी मनाइन्छ । फर्पिङको प्राचीन दरबार झम्केश्वरी (गृह्यदेवी) पीठबाट शुरू हुन्छ । गुह्यदेवी पीठ झम्केश्वरीनजिक तलेजुमा द्वादशीको बिहान दक्षिणकालीका पुजारीले दुईवटा बोका बलि दिई पूजा गर्दछन् । सो अवसरमा फर्पिङ क्षेत्रका सम्पूर्ण गुठीका पुजारी गुठियारहरूको उपस्थिति रहन्छ ।
त्रयोदशीका दिन ःगोपालेश्वर आगंछेबाट देवता कोटाल गणेश पाटीमा ल्याएर रातभरि पूजा गरी राख्ने गरिन्छ ।

चतुर्दशीको दिन ः

शेषनारायण र गोपालेश्वरका राजोपाध्याय र कर्माचार्य दुई पुजारीहरूले फर्पिङका देवीदेवताहरूलाई धागो(पुधिका)चढाई रातभरि यज्ञ–होमादि गर्दछन् । अमात्यलाई यजमान राखिने यस परम्परालाई ‘पुच्छा यायगु’ भनिन्छ ।

भाद्रशुक्ल पूर्णिमा ः
यस दिन हरिशंकर जात्राको प्रमुख पूजा हुन्छ । दिउँसो १२ बजेदेखि गोपालेश्वरको खट तयार गरी अपराह्न ४–५ बजेतिर चतुर्मुखी शिवलिङ्गजस्तै ठूलो तामामा सुनको लजप लगाएका गोपालेश्वर खटमा राखिन्छ । गहना–लुगाद्वारा सिँगारिएका देवतालाई राजप्रतिनिधिस्वरूप प्राचीन रीतिअनुसार थकु जुजू मल्ल जातिका थकालीद्वारा पूजा गराइन्छ । सेतो जामा सेतै फिता लगाई पूजा गर्ने थकु जुजूलाई राजोपाध्याय ब्राह्मणले पूजा सञ्चालन गराइनुपर्ने प्रचलन रहेको छ । पूजापश्चात् ४ जना विसेतहरूले टोलका ५०–६० जनालाई खट बोक्न बोलाउँछन् र खटलाई कोटाल गणेशपाटीको प्राङ्गणमा राखिन्छ ।

आश्विनकृष्ण चौथीः
दिउँसो कोछु टोलमा कुमारी (तिलविक्रमेश्वर), ढल्कु टोलमा नीलवाराही (अघोरेश्वर), यल्खु टोलमा इन्द्रायणी (नन्दिकेश्वर), थर्पु टोलमा शेषनारायणको खट राखिन्छ । सोही दिन थेव टोलमा लमीद्यो (महालक्ष्मी) र टिपी टोलमा कङ्ग अजिमा (दक्षिणकाली)को खट तयार गरिन्छ । खटमा जीवन्यास गर्न रकमी पुजारीद्वारा पीठबाट ‘जीवघट’ ल्याई स्नान गराइन्छ । पञ्चमी, षष्ठी र सप्तमी तीन दिन खटलाई यथास्थानमा राखी अष्टमीको दिनविशेष तान्त्रिक जीव बलि पूजाको तयारी गरिन्छ ।

आश्विनकृष्ण नवमी ः
राँगाको विधिपूर्वक बलि दिई मासु सातै टोलका परिवारलाई प्रसाद बाँडिन्छ । रात ९ बजे धिमे बाजाका साथ दक्षिणकालीको खट टिपीटोलबाट जात्रा गरी कोछु टोल, यल्खु टोल हुँदै थल्खु पु¥याउँछन् भने यल्खु टोलको इन्दायणी (नन्दिकेश्वर) खटलाई भक्तजनहरूले टिपी टोल, कोछु टोल घुमाई यल्खु टोलमा लगेर राखिन्छ । सोही रात कर्माचार्यबाट पूजा गराई विसेत जातिले बौलोंह स्वच्छन्द भैरव, कोछु टोलमा बोका बलि दिन्छ । सो बोकाको खप्पर खुइल्याई श्रीकुमारी रथको टाकलमुनि भुजुङ्गोमा पकाएको भात राखी सातै टोलका विसेतहरूले देवीदेवताको क्षेत्रमा दोबाटो–चौबाटोहरूमा छर्ने गर्दछन् । नायाखिं बाजाका साथ भात छर्ने प्रथालाई ँभुया बनेगु’ भनिन्छ । पकाएको भात छर्नाले भूतगण तथा क्षेत्रपालहरूलाई सन्तुष्टि राख्न सकिने विश्वास गरिन्छ । यस दिन घर–घरमा ‘छोयला बु’ गरी भोज खाने चलन छ ।

आश्विनकृष्ण दशमी ः
बिहानै कोर्पु टोलका स्वच्छन्द रक्तभैरवलाई कर्माचार्यद्वारा पूजा गरी बोका बलि दिइन्छ । भैरवको प्रसाद र तामाको घ्याम्पाभरि जाँड राखिन्छ । कोटाल टोलबाट रक्सीसहितको प्रचण्ड भैरव (क्वचाद्यो) सँगै त्रिशूल, डमरु हातमा लिएकाहरूले भैरवलाई बिहानभरि देश परिक्रमा गराउँछन् । क्वँचा द्यो जात्रा दशैं पञ्चमीको दिन काठमाडौंको पचली भैरवमा गरिने भैरव जात्रासँग मिल्ने गर्दछ । सोही दिन राति १०–११ बजे शेषनारायण (शिखरनारायण) र महालक्ष्मीको खट जात्रा बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ ।

मूल जात्रा ः
आश्विन एकादशी जात्राको प्रमुख दिन, आफ्ना ज्वाइँ–चेली, इष्टमित्र, नाता–कुटुम्बलाई भोज खुवाउने गर्दछन् । मूल जात्राको दिन चक्रपूजाका लागि फर्पिङ कोटु टोलमा नयाँ ९ वटा जाँड भरिएको माटोको घ्याम्पा राखिएको हुन्छ । साथै ७ महिना ७ दिन ७ घण्टा उमेर पुगेको एउटा राँगो र एउटा सानो कालो वा रातो रंगको भाले चढाउने परम्परा छ । तत्पश्तात् पशुपति गोरक्षपीठबाट आएका कनफट्टा जोगीलाई राति १० बजेतिर जुगी चक्र कलशमा पूजा गराइन्छ । चक्रपूजाको समाप्ति हुनासाथ बाँधिराखेको राँगा र कुखुरालाई एकैचोटमा काट्ने गरिन्छ । लगतै कुमारी, गोपालेश्वर र महालक्ष्मीको ३ खट जात्रा गरी देश घुमाइन्छ । सोही समय शेषनारायणको खटलाई झम्केश्वरी (गुह्यदेवी) परिक्रमा गराई उक्त स्थानमा रहेको ‘या लोहं’ नघाइन्छ । यदि उक्त ठूलो ढुंगा नाघ्यो भने ‘या न्यात्’ भनी हर्षोल्लासपूर्वक जात्रा सकिएको मानिन्छ भने ढुंगा नाघेन भने पुनः दोहो¥याएर माथि वर्णन गरेजस्तै गरी जात्रा दोहो¥याउनुपर्ने बाध्यता रहन्छ ।
जात्रा समाप्तिको भोलिपल्ट फर्पिङभरिका देवी–देवताहरूलाई पूजा गर्न जिम्मावाल मानन्धर खलक थकालीले राजप्रतिनिधिस्वरूप थकु जुजु, शेषनारायणका पुजारी, दक्षिणकालीका पुजारी, वज्रयोगिनीका पुजारी रकमी प्रधान, माने साही, कुश्ले, पोडे, को, नौं, भाः बाजा खलक आदि गुठियारहरूलाई एक–एक पाउ सिन्दुर पोको बाँडिन्छ । त्यसपछि सबै जनाले खाली खुट्टाले जात्रा गरेका सातै टोलका खट देवताहरूलाई अबिर चढाउनुपर्छ । द्वादशीको दिन पूजा सकि हरिशंकर जात्राका सबै खटहरू देश घुमाई झम्केश्वरी टोलमा सबैभन्दा माथि गोपालेश्वर, इन्दायणी, कङ्गअजिमा, नीलवाराही, महालक्ष्मी, कुमारी, शेषनारायण क्रमशः राख्ने गरिन्छ । यसलाई समापनको सुरुवात मानिन्छ । त्यस दिन रथ बोक्नेहरूलाई टोल–टोलमा खाना पकाएर खुवाइन्छ ।

आश्विन त्रयोदशी ः
त्यस दिन दिउँसो १२–१ बजे बाजागाजाका साथ गोपालेश्वरको खट फर्पिङको सातै टोल घुमाएर पोडे टोलमा खटलाई योम्हरी फलफूलले पूजा गरिन्छ । बाजा बजाउने, साई, पोडे, कुश्लेहरूलाई दही–चिउरा, योम्हरी फलफूल बाँडिसकेपछि गोपालेश्वर पु¥याई नेपालभाषामा ‘नाङगोल’ भनिने पूजा गरिन्छ । गोपालेश्वरको जात्रा गरिने चतुर्मुखी देवतालाई गोपालेश्वरको मूल लिङ्गोमा चार दिनसम्म राखी हवन–पूजापश्चात् आँगछेमा राख्न लगिन्छ । गोपालेश्वर आँगछेमा पुगेपछि मात्र अन्य खटहरू ६टोलबाट आ–आफ्ना आँगछेमा पु¥याइन्छ । damcha@hotmail.com

(-स्वाभिमान नेपाल मासिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here