“वाम” गठबन्धनमा राप्रपा पनि सामेल

191

यसरी मिल्यो वाम गठबन्धनको टिकट भागबन्डा / दलहरुमा राजनीतिक आदर्श स्खलित

काठमाडौं / सशस्त्र युद्धकालमा पार्टीको निर्देशन बमोजिम हिंसात्मक कारबाहीको अगुवाई गरेका माओवादी कार्यकर्ताहरु मुद्दामा आरोपित गरिंदै र जेल पठाउँदै गर्ने अभियान एकातिर सुरु भएको छ भने अर्काेतिर निर्वाचनप्रक्रियाले पनि तीव्रता पाएको छ । दलहरुबीचको ध्रुवीकरणले दुई दलीय निर्वाचनजस्तो हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनका नाममा नेकपा एमाले र माओवादी केन्द्रले टिकट बाँडफाँड सम्पन्न गरेका छन् । दुवै दलले केही निर्वाचन क्षेत्रबाहेक अन्यमा उम्मेदवारको पनि टुंगो लगाएका छन् । प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ६१ क्षेत्र बाँडफाँड गरेका छन् । सूर्य चिह्नबाट लड्ने तीन स्वतन्त्र, राप्रपा र राष्ट्रिय जनमोर्चा गरी सात सिटमा अन्य दलका उम्मेदवार रहने भएका छन् ।

 
पहिलो चरणको निर्वाचनमा एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा उम्मेदवारी दिएका छन् । अब दोस्रो चरणमा एमालेका ७६ र माओवादी केन्द्रका ४५ उम्मेदवार प्रतिनिधिसभातर्फ प्रतिस्पर्धामा रहनेछन् । ६०÷४० को भागबन्डा अनुसार यी दुई दलले उम्मेदवार बाँडफाँड गरेका छन् । वाम गठबन्धनमा झापा, सुनसरी, चितवन, सल्यान र उदयपुरका केही क्षेत्रमा टिकट विवाद थियो । एमाले उपाध्यक्ष वामदेव गौतम निवास भैसेपाटीमा गत मंगलबार बसेको बैठकले निर्वाचन क्षेत्र बाँडफाँड सम्पन्न गरेको छ ।
गठबन्धनले झापामा १ क्षेत्र माओवादीलाई दिने सहमति गरेको छ । झापा १ मा माओवादी नेता तथा पूर्व सञ्चारमन्त्री राम कार्कीको उम्मेदवारी करिब निश्चित छ भने झापा ३ बाहेकका अन्य ३ क्षेत्रमा एमालेले उम्मेदवार दिनेछ । झापा ३ मा वाम गठबन्धनले राप्रपा उम्मेदवारलाई सहयोग गर्ने भएको छ । अन्य क्षेत्रमा राप्रपाले वाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । झापा ४ मा एमालेका एलपी साँवा र ५ बाट अध्यक्ष केपी शर्मा ओली चुनावी मैदान देखिंदै छन् । झापामा निर्वाचन क्षेत्र पाएपछि माओवादीले उदयपुरको दावी छाडेको छ । वाम गठबन्धनका नाममा भएको एमाले र माकेको गठबन्धनका तर्पmबाट राप्रपाका नेताले समेत उम्मेदवारी दिने भएपछि राजनीतिक आदर्श स्खलित भएको टिप्पणी कार्यकर्तापंक्तिमा व्यापक बन्न गएको छ ।

 
यसैबीच लामो विवादपछि चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल नै उम्मेदवार हुने भएका छन् । चितवन २ मा दावी गरिरहेका माओवादीका रामबहादुर थापा बादल काठमाडौं १० बाट चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । २०७० को संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं १० बाट पराजित भएका थिए भने सो क्षेत्रमा नेपाली राजन केसी विजयी भएका थिए ।
सल्यानमा एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वालालाई भाबी मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशसभामा उम्मेदवार बनाइएको छ । ज्वालालाई प्रदेशमा पठाइएपछि माओवादी केन्द्रका टेकबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बनेका छन् । ज्वाला र बस्नेत दुवैको दावीले उम्मेदवार चयनमा समस्या भएको थियो । सुनसरी १ मा पनि माओवादीले प्रतिनिधिसभा सदस्यतर्फको उम्मेदवार पाउने भएको छ । सुनसरीका अन्य क्षेत्रमा एमालेका उम्मेदवार बन्ने
भएका छन् ।

 
चुनाव सुनिश्चितताका लागि भन्दै सरकारमा सामेल भएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा वाम गठबन्धनसँग तालमेलको तयारी गरेको छ । सुरुमा कांग्रेससँग तालमेलको निर्णय गरे पनि झापा ३ मा कांग्रेस र राप्रपा दुवैका उम्मेदवार तय भएपछि गठबन्धनमा समस्या देखिएको थियो । झापा ३ मा कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाएको छ भने राप्रपाका तर्फबाट राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । दुवै उम्मेदवार घोषणा भएपछि तालमेल धरापमा परेको छ ।
वाम गठबन्धनले झापा ३ मा लिङ्देनलाई सहयोग गर्ने गरी सिट बाँडफाँड टुंग्याएको छ । झापाका अन्य क्षेत्रमा राप्रपाले सहयोग गर्ने गरी वाम गठबन्धनले क्षेत्र नम्बर ३ मा लिङ्देनलाई सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here