युवालाई जिम्मेवारी दिन जरुरी

177

राज्यलक्ष्मी शाक्य

विश्वका धेरै देशहरूमा अहिले दुईथरी उमेरका नेताहरूले नेतृत्व गरिरहेका छन् । चीन, भारत, रसिया र अमेरिकाजस्ता देशहरूमा अहिले ५० भन्दा बढी उमेर भएका नेताहरूले नेतृत्व लिएका छन् भने, अष्ट्रिया, फ्रान्स, उत्तर कोरियालगायत देशमा युवा नेताहरूले देशको नै बागडोर सम्हालेका छन् । त्यसकारण नेपालमा पनि अबको नेतृत्व कस्तो उमेरकालाई दिने, के उमेरले राजनीतिमा केही असर गर्छ र भन्ने विषयमा तीव्र बहस भइरहेको पाइन्छ । विशेषगरी विभिन्न राजनीतिक दलहरूमा रहेका युवानेताहरूले त सार्वजनिक रूपमा नै बढी उमेरका नेताहरूले सफल नेतृत्व दिन नसकेको भन्दै विरोध पनि गरेका छन् ।

 
हालै मात्र नेपाली कांग्रेसका सात युवा नेताहरूले एक विज्ञप्ति नै जारी गरी नेतृत्वमाथि दबाब बढाएका छन् । उनीहरूले केन्द्रीय समितिलगायतको बैठक माग गरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि प्रश्नचिह्न उठाएका छन् । हालै भएको निर्वाचनमा पहिलो दलबाट दोस्रो दलमा झर्नु र पहिलो दल नेकपा एमालेभन्दा धेरै सानो हुनुले पनि कांग्रेसमा अहिले एकप्रकारको विद्रोहको माहोल देखिएको छ । अहिले त्यहाा पहिलो पुस्ताका नेताहरूले नेतृत्व ओगटिरहन छोड्नुपर्ने र दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठेको छ । त्यस्तै युवाहरूलाई पनि जिम्मेवारी दिनुपर्ने माग छ । यस्तो माग गर्नेमा युवानेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेता छन् ।

 
यस्तो माग कांग्रेसमा मात्र होइन, नेकपा एमालेमा पनि उठेको छ । वाम गठबन्धनअन्तर्गत चुनाव लडेका एमाले र नेकपा माओवादी केन्द्र अहिले पार्टी एकीकरणको छलफलमा छन् । एकीकरणपश्चात् को प्रधानमन्त्री हुने र को पार्टी अध्यक्ष बन्ने भन्नेमा अहिले मन्थन चलिरहेको छ । दुवै पदका लागि दुवै पार्टीमा एकसे एक नेताहरू तम्तयार छन् । तर, एमालेका युवा नेता र प्रवक्ता समेत रहेका योगेश भट्टराईले भने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकीकरणपश्चात् नेल्सन मण्डेला बन्न आग्रह गरेका छन् । नेता भट्टराईको यो आग्रहले यी दुई पार्टीमा पनि हलचल मच्चाएको छ भने विस्तारै युवा नेताहरूको मनोबल बढ्दै गएको बुझ्न सकिन्छ । माओवादीमा भने त्यस्तो माग कमै मात्र देखिन्छ । अध्यक्ष प्रचण्ड नै अहिले माओवादीभित्र सर्वेसर्वा रहेका छन् ।
उल्लिखित अवस्था हेर्दा नेपालमा युवाशक्तिले बारम्बार आफूहरूलाई पार्टी तथा देशको नै जिम्मा दिन अघिल्लो पुस्तालाई आग्रह गरिरहेको पाउन सकिन्छ । विशेषगरी अघिल्लो पुस्ताले देश विकासको मार्ग कोर्न नसकिरहेको अवस्थामा आफ्नो क्षमताको उपयोग नगरेको युवाको आरोप छ । यस्तो माग धेरै वर्षदेखि चलिआएको पनि हो, तर त्यो कार्यान्वयनमा भने आउन कठिन देखिएको छ । लोकतान्त्रिक भनिएको पार्टी कांग्रेसमा एकजना व्यक्ति सभापति भइसकेपछि उसको निधन नभएसम्म अर्कोले सभापति पाउने आशा नगरे पनि हुने देखिन्छ । पछिल्लो समय गिरिजा कोइरालाको निधनपछि सुशील कोइराला पार्टी सभापति भए भने सुशीलको निधनपश्चात् मात्र हालका सभापतिमा देउवा भए । त्यस्तै कम्युनिष्ट पार्टी माओवादीमा पनि सुरुवातदेखि नै अध्यक्षमा प्रचण्ड नै विराजमान छन् । उनले पार्टीको नेतृत्व हस्तान्तरणमा कुनै इच्छा देखाएका छैनन् ।

 
यस्तो परिस्थितिले कुनै पनि नेतृत्वलाई कतिसम्म स्वीकार्ने भन्ने प्रश्न उब्जन्छ । जस्तै चीनमा निरन्तर सत्तामा सी चिनफिङको नै वर्चस्व रहेको छ भने रसियामा पनि लगातार भ्लादिमिर पुटिनले सत्ताको नेतृत्व गरिरहेका छन् । यी देशका नागरिकहरूले उनीहरूलाई स्वीकारिरहनुको अर्थ उनीहरूको नेतृत्व सफल भएकै कारणलाई मान्नुपर्छ । नेतृत्वले सही रूपमा देशलाई डोहोर्‍याइरहेको छ भने त्यस्तो नेतृत्वलाई स्वीकार्न सकिन्छ । किनभने जसमा युवाको भावना, योजना, जोश जाागर र केही गरौं भन्ने भावना रहिरहन्छ, तबसम्म त्यस्तो व्यक्ति जति नै वर्ष भएपनि युवा मान्न सकिन्छ । युवा भएर पनि त्यसअनुरूप सोच, जाागर, इच्छाशक्ति नहुने व्यक्ति वृद्धबराबर मानिन्छ ।
नेपालको सन्दर्भमा ६० भन्दा माथि उमेर भएका नेताहरूले देश र प्रमुख पार्टीको नेतृत्व सम्हालिरहेका छन्, तर उनीहरू आफूले लिएको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सकिरहेका छैनन् । उनीहरूले अनावश्यक राजनीतिक विवादको भूमरीमा देशलाई वर्षौंदेखि फसाइरहेका छन् । जसको कारण देश दिन प्रतिदिन कंगाल बन्दै गएको छ । त्यसकारण त्यस्ता समग्र नेतृत्वहरूले अब आफ्नो असफलतालाई स्वीकार्न जरुरी छ र युवालाई नेतृत्व हस्तान्तरण गर्न अत्यावश्यक देखिन्छ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here