साँच्चै नयाँ सरकारले कोर्स परिवर्तन गर्न लागेकै होला त ?!

215

चन्द्रप्रकाश बानियाँ
नेपालका अधिकांश पहाडी बस्तीहरूमा ‘कोट’ स्थापना गरिएको देखिन्छ । ती कोटहरूमा सालिन्दै बडादशंैको अवसरमा ‘दूर्गापूजा’ गरिन्छ । त्यस्तो पूजा ‘कोटपूजा’को नामले चिनिन्छ । कोटपूजा नाम दिइएको देवीपूजामा एउटा सर्वाधिक आकर्षणको विषय मानिन्छ ‘राँगो हान्ने’ परम्परा ! कालरात्रीको अवसरमा कोटको मौलोमा बलि दिइने राँगो हान्नका लागि मानिसहरूबीच प्रतिस्पर्धा नै चल्छ । रकम बढाबढको माध्यमबाट मार हान्ने बहादुर छानिन्छन् । ‘कोटको राँगो हान्ने मानिसले अर्को जुनी राजाको रूपमा लिन्छ’ भन्ने लोकमान्यता रहेको छ । जाबो एउटा राँगोको गर्दन छिनालेबापतको पुरस्कार राजगद्दी मिल्ने भएपछि गोजीमो पैसो र पाखुरीमा तागत हुने जोकसैलाई लोभसंवरण गाह्रै पर्छ । न राँगोको बलि खाएर देवी प्रसन्न भएको प्रत्यक्ष प्रमाण छ न कोही त्यही पुण्यकर्मबापत रानीको कोखमा जन्मिएको नै प्रमाण छ । डोरीले कसिएर मौलोमा तंग्रिएको निर्धो पशुको गर्दनमा खुकुरी चलाउनु न कुनै पुरुषार्थ हो न शूरवीरताको प्रमाण ?! तैपनि त्यो घोर अन्धविश्वासी र आततायी परम्पराले निरन्तरता पाएकै छ । निन्दनीय हिंसाको कुकर्मबापत शूरवीरताको प्रमाणपत्र हासिल गरेको ठानेर गजक्क फूल्ने मनोविज्ञानबाट परम्परावादी समाजले मुक्ति पाइसकेको छैन ।
अघिल्लो पटक प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष खड्गप्रसाद ओली निर्वाचित हुँदा मधेश अशान्त थियो । मधेश आन्दोलनकै कारणले भारतीय नाकावन्दीको सामना गर्नुपर्ने परिस्थिति सिर्जना भएको थियो । सुशील कोइरालाको प्रधानमन्त्रित्वकालमै ४ दर्जनभन्दा बढी मानिसहरूको ज्यान गैसकेको थियो । सत्तापरिवर्तनपछि मधेशका माग सम्बोधन हुनेछन् र मुलुकमा शान्ति र अमनचैन स्थापित हुनेछ भन्ने आशा देशवासीले गरेका थिए । दुर्भाग्यवश नयाँ सरकार पनि पुरानै सरकारले बनाएको डोरेटोमा हिँड्न रुचायो । मधेशलाई मिचेरै दबाएरै अघि बढ्ने निर्णय लियो । न्यायको लागि मधेशले गरेको निहोरा सरकारले सुनेन । मधेश नेपालै हो र मधेशी नेपाली नै हुन् भन्ने खालको भावना व्यवहारमा प्रदर्शन गर्न सकेन । राँगोेको मार हान्ने मोहीतीघे्रलाई कोटका रमितेहरूले स्याबासी दिएजस्तै अकस्मात् जागेको पहाडी अन्ध राष्ट्रवादले ओलीको मधेशविरोधी अडानलाई समर्थन ग¥यो, स्याबास् भनेर पीठ ठोक्यो । नेपाली नेपालीहरूबीच विभाजन, विभेद र मनभेद स्पष्ट झल्कने सरकारको राष्ट्रघाती नीतिलाई राष्ट्रवादको पगडी गुथायो । जातीय श्रेष्ठताको झुटो दम्भ प्रदर्शन गरेबापत धुरन्धर राष्ट्रवादीमा दरिन पाउँदा ओलीको पनि भूईंमा खुट्टो पर्न छोड्यो । उनको आफ्नै दम्भ र असहिष्णु व्यवहारले सत्ताबाट गर्धनिनुपर्ने परिस्थिति समेत सिर्जना हुनगयो । पछिल्लो समय विकसित हुनथालेका घटनाक्रमले सम्भवतः आफ्नै अविवेकको परिणास्वरूप आफ्नो सत्ता खोसिएको हो भन्ने आत्मज्ञान उनलाई मिल्यो होला भनेर अनुमान गर्न सकिने भएको छ ।

 
शक्तिको प्रतिरूप मानेर कोटहरूमा देवीको पूजा गरिन्छ । मूलतः कोटहरूमा पुराना हतियारहरू रहेका हुन्छन् र नवरात्रीमा तिनै हतियारहरूलाई शक्तिको प्रतीक मानेर पूजा गर्ने चलन छ । अर्थात् नेपाली समाज शक्तिपूजाको परम्पराबाट संस्कारित छ । सरकार र सरकारमा रहने मानिसहरूको मनमस्तिष्कमा पनि त्यो संस्कारले राम्रै जरो गाडेर रहनु स्वाभाविक हो । अघिल्लोपटक जुँगामा आँसु चुहाउँदै बालुवाटारबाट गलहत्तिनु पर्नाको कारण देवी अर्थात् शक्तिलाई दाहिना बनाउन नसकिएको परिणाम हो कि भन्ने हाम्रा प्रधानमन्त्रीलाई लागेको हुनुपर्छ । सार्वभौम स्वतन्त्रताको उपभोग गर्ने धृष्टताको दुष्परिणाम दोहो¥याउने मूर्खता नगर्ने चेत खुलेको हुनुपर्छ भन्ने कुरा व्यवहारबाट खुल्न थालेजस्तो देखिन्छ । ‘स्वराज’ नामकी जीवित देवीको वरदहस्त शिरोपर गरेपछि प्रधानमन्त्रीको मनोविज्ञानमा बिल्कुलविपरीत (भर्टिकल) रूपान्तरण आएको छनक देखिन थालेको छ । पहिलो कार्यकालको चेष्टा अविवेकपूर्ण नै भए पनि एकअर्थमा आफ्नो खुट्टामा उभिने प्रयत्न थियो भने अब अनुशरण गरिने व्यवहार स्वाभिमानको बलि चढाइनेछ र त्यसैको निमित्त शीर्षासनको अभ्यास गरिने लक्षण देखिन थालेको छ ।
आजका ओली हिजोको जस्तो अब नरहने भए सायद । पछिल्ला परिदृश्यहरूले फरक परिणामको छनक दिन थालेका छन् । अपेक्षाकृत नयाँ सरकार गठनप्रक्रिया अनावश्यकरूपमा लम्बिएकै हो । हतारमा जारी गरिएको संविधानमा रहेका त्रुटि कमजोरीहरूका कारणले पनि नयाँ जनादेश प्राप्त सरकार तत्काल सत्तारोहण गर्नबाट वञ्चित भयो होला । जसको परिणामस्वरूप नयाँ सरकार निर्माण हुँदा जनतामा देखिनुपर्ने उत्साह उमङ्ग शिथिल बन्यो । नयाँ प्रधानमन्त्रीले शपथ लिएपछि पनि सरकारले पूर्णता पाउन नसकेको कुरा आमजनताको लागि सुपाच्य बनेको थिएन । सरकारले पूर्णाकार ग्रहण गर्ने कुरामा भएको विलम्बलाई नेताहरूबीच सत्ताको लुछाचुँडीको परिणामको रूपमा जनताले अथ्र्याउन थालेको थियो । तर सरकार गठनमा देखिएको विलम्बको कारण ससफोलाई पनि सरकारमा सामेल गर्ने प्रयत्नको हो भन्ने कुरा खुल्न आएको हुनाले त्यसलाई सहजरूपमा समाजले लिएको छ । ‘ढिलो होस् बरु, तर राम्रो होस्’ भन्ने लोकोक्तिले सार्थकता पाउने कुराले समाजलाई उत्साहित बनाएको छ । मधेशको असन्तुष्टि सम्बोधनको ढोका खोलिनेगरी मधेशी दलहरूसँग समझदारी बन्न सक्यो भने देशले दीर्घकालीन शान्तिको अपेक्षा गर्नसक्ने परिस्थिति निर्माण हुनेछ । त्यो वास्तवमै देश र जनताको समृद्धिको सपना साकार गराउने अभियानको शिलान्यास मानिने छ ।

 
दक्षिणतिर चोरऔलो ठड्याएर ‘बुर्लुक्क, बुर्लुक्क उफ्रने’ उद्दण्ड राष्ट्रवाद भिजेको बिरालोजस्तो बनेर धनुषटंकारको मुद्रामा सुष्मा स्वराजको दर्शनखातिर ताहाचलतिर लागेको देख्नेसुन्ने राष्ट्रवादी मनहरूमा ठेस नलागेको होइन । तर ‘जसले जित्छ, उही मेरो भाले’ भन्ने हुतीहारा मनोविज्ञानबाट खारिएको नेपाली समाजले आफ्नो मनको बह मनमै दबाएर बस्न रुचाउनु स्वाभाविक थियो । विद्रोहमा उत्रने हिम्मत देखाउने कुरा त परै रहोस्, विरोधको मसिनो स्वर निकाल्ने चेष्टा पनि गरेन, गर्दैन नै । ‘क्षणमै मासा, क्षणमै तोला’ भनेजस्तो हद दर्जाको अवसरवादी चरित्र सार्वजनिकरूपमा प्रदर्शन गर्न नेताजीहरू अग्रसर हुनुको कारण त्यही हो । यसपटक आफूले अवलम्बन गर्न खोजेको बाटोको विपक्षमा जनता देखिन्छ कि देखिँदैन भन्ने कुराको परीक्षण गर्न खोजिएको पनि हुनसक्छ । कतैबाट नकारात्मक प्रतिक्रिया नदेखिनु समर्थक, शुभचिन्तकहरूको मात्र होइन आम जनताको समेत ‘ग्रीन सिग्नल’ ठानेर बाटो परिवर्तन गर्ने आँट नेतृत्वमा पलाएको हो कि भन्ने कुराको लक्षण मधेशीसँग, खासगरेर उपेन्द्र यादव नेतृत्वको पार्टीसँग समझदारी बढाउन खोजेबाट स्पष्ट हुन्छ । हुन त प्रधानमन्त्रीको मनपरिवर्तनको यो घटनालाई ‘पुन मुषिको भवः’ को चर्चित कथाको पुनरावृत्तिको रूपमा अथ्र्याउने पण्डितहरू पनि मुलुकमा होलान् नै ।

 
देवीको मन्त्रणा, आशिर्वाद वा निर्देशन होस् अथवा आत्मबोधको कारणबाट होस्, नवनियुक्त प्रधानमन्त्रीमा विचारपरिवर्तनको दिव्य लक्षण देखिएको छ र त्यो बिल्कुल सकारात्मक छ । देशहितमा छ । मधेश पनि नेपाल हो, मधेशीहरू पनि नेपाली नै हुन् । मधेशको समस्या नेपालको आफ्नो समस्या हो । उनीहरूको मर्का हामी सबै नेपालीहरूको साझा हो भन्ने ज्ञानद्वार खुल्ने कुरालाई प्रशंसनीय भन्नै पर्छ । हिजोका दिनहरूमा मधेशलाई हेपेर, होच्याउर, दबाएर वा मिचेर हिँड्न गरिएको चेष्टा गलत थियो । राष्ट्रवादको नाममा गरिएको त्यस्तो अन्धचेष्टा प्रकारान्तरले जघन्य राष्ट्रघात थियो । हिजो प्रधानमन्त्री गलत थिए, उनको सरकार गलत थियो । गलत कामका उक्साउने र पीठ ठोक्ने जनमत पनि गलत नै थियो । यतिखेरको चेष्टा साँचो मनले हिजोको गल्ती सुधार्ने इमान्दार प्रयत्न हो, त्यसमा कहीँकतै छलछाम छैन भने त्यो देश र जनताको हितकल्याणको कारण बन्नेछ । दुर्भाग्यको कुरा कति मात्रै हो भने हिजो त्यही कर्म गर्ने बुद्धि पलाइदिएको भए जनधनको अपूरणीय क्षति हुँदैनथ्यो । मधेश र पहाडबीच तिक्तताको मसिनो नै भए पनि विभाजनारेखा कोरिने थिएन । आपसी अविश्वास उत्पन्न हुने थिएन । ढिलै भए पनि सुद्धि सुध्रनु रामै्र हो । त्यस्तो बुद्धि दक्षिणबाट अनुदानमा प्राप्त भएको होस् अथवा आफ्नै अन्तरात्माको उपज होस्, त्यो स्वीकारयोग्य छ । प्रसंशायोग्य छ । हिजोको गल्ती सच्याउने इमानदारिता र सदाशयता राखिएको हो भने सरकार गठनमा गरिएको विलम्ब पनि प्रशंसनीय कर्म नै मानिन्छ । साँचै मधेशी, जनजाति पिछडिएको समुदायहरूको असन्तुष्टि सम्बोधन हुने ढोका खोल्न इमान्दार प्रयत्न थालिएको हो भने साँचो अर्थमा नयाँ सरकार ‘खाँट्टी राष्ट्रवादी’ प्रमाणित हुनेछ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here