डा.बाबुराम भट्टराईले अगाडि सारे बृहत् सहकार्यको एजेन्डा

232

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले २०० औं माक्र्स जयन्तीको अवसरमा नेपाल र संसारभरिकै सच्चा समाजवादी, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुबीच बृहत् सहकार्य, ऐक्यबद्धता र एकताका लागि आव्हान गरेको छ ।
कार्ल माक्र्स द्विशताब्दी जन्मजयन्तीको अवसरमा सो पार्टीका संयोजक डा.बाबुराम भट्टराईले जारी गरेको प्रेस वक्तव्यमा एक्काइसौं शताब्दीको शुरुका दशकहरुमा नव–उदारवादी पुँजीवाद र राज्य–नियन्त्रित समाजवाद दुबै तीब्र संकटमा पर्दै गएको स्थितिमा माक्र्सका विचारहरुलाई समायानुकूल विकास र परिमार्जन गर्दै सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको दिशामा अघि बढ्न आग्रह गरेका छन् । डा.भट्टराईले जारी गरेको प्रेस वक्तव्यमा कार्ल माक्र्सको जन्म आजभन्दा २०० वर्ष पहिला मे ५ मा भएको उल्लेख छ । कार्ल माक्र्सको द्विशताब्दी जन्मजयन्तीको यस ऐतिहासिक अवसरमा नेपाल र संसारभरिकै न्याय, स्वतन्त्रता, समानता र मुक्ति पक्षधर सम्पूर्ण श्रमिकहरु र जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरिएको छ ।
त्यस्तै बक्तब्यमा भनिएको छ ः– कार्ल माक्र्सले तत्कालीन युरोपको प्रारम्भिक पुँजीवादी विकासक्रमलाई आधार बनाएर त्यसका वैचारिक, आर्थिक, राजनीतिक, सामाजिक र मनोवैज्ञानिक संकटहरुलाई उद्धिन्ने र मानव समाजलाई नयाँ समुन्नत भविष्यतिर अनुप्रेरित गर्ने काम गरेका थिए । मूलतः मानव इतिहासको आजसम्मको उन्नत विचार द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको विकास, पुँजीवादी समाजमा विद्यमान आर्थिक असमानता र त्यसको कारकतत्वको रुपमा अतिरिक्त मूल्य सिद्धान्तको प्रतिपादन, श्रमिक लोकतन्त्र तथा वैज्ञानिक समाजवादको अवधारणा र समाजवादी मजदुर आन्दोलनको उठानमा उनको योगदान अद्वितीय रह्यो । उनका यी महानतम् योगदानहरु मानव जातिले कहिल्यै भुल्ने छैन । एक्काइसौं शताब्दीमा उनका वैचारिक योगदानहरुको सान्दर्भिकता अझै बढेर गएको छ ।

तर कार्ल माक्र्सका वैचारिक योगदानहरुलाई जडता, अन्धता र मतान्धताका रुपमा ग्रहण गर्नु हुँदैन । मूलतः रुसी अक्टोबर क्रान्तिपश्चात् स्थापित सोभियत मोडेलको भ्रष्टीकरण पश्चात बनेको अति–केन्द्रीकृत राजनीतिक प्रणालीलाई माक्र्सवादको विरासतका रुपमा जोड्ने परम्पराबाट सबैले जोगिन आवश्यक छ । समाजवाद भनेको लोकतन्त्रको अभाव हैन, अझ बढी लोकतन्त्र हो । कार्ल माक्र्सले पुँजीवादी औपचारिक लोकतन्त्रलाई जनसमुदायको नयाँ स्तरको वास्तविक लोकतन्त्रमा विकास गर्नु पर्ने धारणा राखेका थिए । पेरिस कम्युन लगायत कतिपय रचनामा उनले ‘सहभागितामूलक लोकतन्त्र’ तर्फको यात्रालाई इंगित गरेका थिए ।

कार्ल माक्र्सपछि भौतिक विज्ञान तथा प्रविधिले जुन विकास गरेको छ, र उत्पादन प्रणालीका नयाँ नयाँ रुपहरु जुन आएका छन्, त्यसका आधारमा द्वन्द्ववादी विश्वदृष्टिकोणलाई अझ विकसित गर्नुपर्ने र समाजवाद र लोकतन्त्रको नयाँ मोडेल विकास गर्नुपर्ने दायित्व सबैको काँधमा आएको छ । कार्ल माक्र्सपछिको युगमा आइस्टाइन, माक्स प्ल्यांक र स्टेफेन हकिंग्सले गरेका वैज्ञानिक योगदानहरु द्वन्द्ववादको समृद्धीकरणका लागि उपयोगी हुन सक्छन् भने चौथो औद्योगिक क्रान्तिका भौतिक, डिजिटल र जैविक क्षेत्रका प्रविधिहरुले समुन्नत समाजवादको नयाँ मोडेल विकासमा मद्दत गर्न सक्दछन् । साथै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई यान्त्रिक भौतिकवादी तवरबाट ग्रहण गर्ने समस्याबाट जोगिनु पर्छ र यसकालागि पूर्वीय दर्शनका महत्वपूर्ण चिन्तक गौतम बुद्धका आत्मिक जीवन पद्धतिका नियमहरुलाई समेत एकाकार गरेर एक्काइसौं शताब्दीकालागि नयाँ वैचारिक संश्लेषण गर्ने कार्यकालागि माक्र्सवादका योगदानहरु आधारस्तम्भका रुपमा रहनेछन् भन्ने हाम्रो विश्वास छ ।

एक्काइसौं शताब्दीको शुरुका दशकहरुमा नव–उदारवादी पुँजीवाद र राज्य–नियन्त्रित समाजवाद दुबै तीब्र संकटमा पर्दै गएको स्थितिमा माक्र्सका विचारहरुलाई समायानुकूल विकास र परिमार्जन गर्दै सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको दिशामा अघि बढ्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

२०० औं माक्र्स जयन्तीको यस विशिष्ठ अवसरमा नेपाल र संसारभरिकै सच्चा समाजवादी, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुबीच बृहत् सहकार्य, ऐक्यबद्धता र एकताका लागि हार्दिक आव्हान समेत गर्दछौं । भनि बक्तव्य जारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here