सांसदसमेत प्रताडित हुने हिन्दूसमाज सुसंस्कारित हुन्छ भनेर कसरी पत्याउने ?

209

चन्द्रप्रकाश बानियाँ
एकजना दलित समुदायकी प्रतिनिधिले काठमाडौंमा डेरा नपाएको समाचारलाई राजधानीबाट प्रकाशित हुने ठूला छापा मिडियाहरूले मुख्य समाचार बनाएको देखियो । वास्तवमै काठमाडौंमा पानीको जतिको दुःख छ, त्योभन्दा बढी डेराडण्डाको दुःख छ । जति नै दुःख भए पनि देशको सबै साधनसुविधा उपत्यकामा केन्द्रित भएका हुनाले काठमाडौं छिरेपछि त्यसबाट निस्कन गाह्रो पर्छ । त्यसैले होला अनेकौं दुखकष्ट खपेरै भए पनि मानिस काठमाडौंमा रहनबस्न अभिशप्त हुन्छन् । ‘गाउँबाट बजार झरेको कुकुर फेरि गाउँ फर्कन रुचाउँदैन’ भन्ने भनाइ छ । शहरबजारमा रमाउने प्रवृत्तिका दृष्टिले मानिस र कुकुर दुवै जीवमा आश्चर्यजनक समानता पाइन्छ । काठमाडौं अब विशुद्ध नेवार समाज रहेन । प्ररै छपाली समाजमा रूपान्तरित भइसक्यो । रस्तीबस्तीका दृष्टिले काठमाडौंमा सानो संसार नै बस्छ, तर सामाजिक परिवर्तनका दृष्टिले काठमाडौंको समाज अहिलेसम्म पनि रुढीग्रस्त छ, परम्परावादी छ र यथास्थितिबाट मुक्त हुन सकेको छैन भन्ने अनुभूति काठमाडौंमा बस्ने सबैले गर्ने गरेकै हुनुपर्छ । काठमाडौंले धेरै कुरा फेरिएको देखेको छ, तर सामाजिक विधि मान्यता फेरिएको देख्न अझै धेरै समय कुर्नुपर्ने छ भन्न सकिन्छ ।

 

धेरैका लागि काठमाडौंसँगको सहवास स्मरणयोग्य रहँदैन भन्न लाज मान्नुपर्छ जस्तो लाग्दैन । कमसेकम मेरो निजी भोगाइले त्यसै भन्छ । यद्यपि काठमाडौंको बसाइ रहरको उपज थिएन । किनकि जीवनको उकालो चढ्ने आयु लगभग समाप्त गरेपछि काठमाडौं छिरिएको थियो । र, त्यो पनि रहरभन्दा बाध्यताको परिणाम थियो । उसै पनि तत्कालीन देउवा सरकारले देशमा संकटकाल घोषणा गरेपछि प्रहरी, प्रशासन र सेनाको अचाक्लीको कारण मोफसलको जिन्दगी नर्क बन्दै गएको थियो । शहरबजार, सदरमुकाम र काँठहरूमा जिउनै गाह्रो भइसकेको थियो । त्यसमाथि ज्ञानेन्द्र शाहले सक्रिय शासनको मनसायले सत्तामा हस्तक्षेप बढाएपछि मेरो वासस्थान बेनी पनि गरुडपुराणको कुम्भीपाक नरकमा रूपान्तरित भैदियो । त्यसैले एकदिन ज्यान जोगाउने क्षुद्र स्वार्थबाट अभिप्रेरित भएर जिल्ला छोडिएको थियो । ज्ञानेन्द्र शाहको उदय नभैदिएका भए सायदै आफ्नो समाजमा स्वाभाविकरूपमा आर्जन हुनगएको जन्तीमलामी गुमाउनुपर्ने दिन नब्याउन पनि सक्थ्यो होला ! ज्यान जोगाउन काठमाडौं छिरिएको भए पनि ज्यानको खतरा टरेपछिका १०÷११ वर्ष बितेको पत्तै पाइएनछ । आन्दोलनले उत्कर्ष लियो । व्यवस्था उल्टियो । २०६३ साल वैशाख ११ गतेको शाही घोषणाले बहुदलीय व्यवस्थाको पुनःस्थापना मात्रै गरेको थियो । दरबारले पुनःस्थापना गरिदिएको संसद्ले भष्मासुर बनेर राजसंस्थालाई निलम्बन ग¥यो । सुरसा बनेर नारायणहिटी सर्लक्क निलिदियो । नवनिर्वाचित संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्नेछ भनेर समेत निर्णय लिइदियो । चौटा खान हिँडेको शाही सत्ताले झोलमै डुबेर आत्महत्या ग¥यो ।

 

स्वभावतः नयाँ संविधानसभाले देशमा गणतन्त्रको घोषण ग¥यो । १० वर्ष हतियारको अभ्यास गरेको माओवादीको हातमा सत्तानेतृत्व गयो । विचरा जङ्गलबाट सिंहदरबार छिरेको माओवादीलाई सिंहदरबारका कोठाचोटाहरूको परिचय राम्रोसँग लिन नपाउँदै सत्ताबाट बेदखल गरियो । तत्कालीन राष्ट्रपति रामवरण यादवको एउटै असंवैधानिक कदमले माओवादीलाई सत्ताच्यूत बनाइदियो । यादवको अनधिकार चेष्टाले माओवादीलाई सत्ताबाट च्यूत मात्र गरेन । त्यसले देशलाई पुनः अस्थिरताको दलदलमा फसायो । सरकार गठन विघटनको अनन्त सिलसिला पुनः सुरु भयो । चार वर्ष उसै बित्यो । निर्वाचन प्रयोजनका लागि भनेर बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा गैरदलीय सरकार निर्माण गर्नुपर्ने अवस्था सिर्जना भयो । नयाँ निर्वाचनले पुराना शक्तिहरूलाई पुनः सत्तामा फर्कायो । पुरानो शक्तिले पुरानै बाटो हिँड्न रुचाउनु स्वाभाविक थियो । नयाँ संविधानसभाबाट बनेको संविधानले जनताका अपेक्षा आकांक्षामाथि निर्ममतापूर्वक डोजर चलायो । चार दर्जन मधेसीहरूको ज्यान गयो । पहिलो संविधानसभाले संविधान बनाउने अवसर पाएका भए मधेश आन्दोलित हुनुपर्ने परिस्थिति उत्पन्न सायदै हुँदो हो । पहिलो संविधानसभालाई असफल बनाउने खेलका मुख्य गोटी राष्ट्रपति यादव बने । एउटा ठूलो हैसियतको मधेशीको गलत निर्णयको परिणामस्वरूप संविधान प्रतिगामी बन्यो र चार दर्जन मधेशीहरूको ज्यान लिने कारण बन्यो ।

 

यी यस्तै तमासाहरू काठमाडौंमै बसेर निकटबाट नियालियो । साँचो कुरा गर्ने हो भने दिव्य एक दशकको अवधि राजनीतिक राम हेर्दैमा बित्यो । रामरमिताले दिन मात्रै खाएन, स्वास्थ्य पनि खाइदियो । जन्मस्थानतिर फर्कनै दिएन । बस्दै रम्दै जाँदा झण्डै काठमाडौंकै बासिन्दा बनिएछ । काठमाडौं आश्रय होइन, आदत बनिसकेछ । लामो बसाइँले एकखालको सामाजिक सम्बन्ध विकसित विस्तारित गरिदिएछ । स्वभावतः घरडेरामा मानिसहरूको आउजाउ निकै बाक्लिँदै गयो । डेरा साँघुरो लाग्न थाल्यो । डेरामा जिन्दगी बिताउनेहरूका लागि नयाँ नौला घरहरू रोजी छाँटी उपयोग गर्ने अवसर मिल्नु स्वाभाविक भयो । डेरा खोज्दै जाँदा उपयुक्त ठाउँमा मनचिन्ते डेरा फेला प¥यो । खुसी खुसी डेरा सर्ने तयारीमा लागियो । त्यत्तिकैमा एकदिन अकस्मात मेरो डेरा सर्ने पारिवारिक अभियान स्थगित गर्नुपर्ने खण्ड उपस्थित भैदियो । मेरो डेरा सर्ने चेष्टा मेरा आफन्तजनहरूका लागि रुचिकर लागेको रहेनछ । “आफन्तहरूको आउजाउ बढ्यो, चिया खुवाउन गाह्रो भो भनेर डेरा सर्न लागेको हो कि क्या हो ?” एक जना आफन्तले मुख फोर्नु भो । उनको इशाराले दाँतमा ढुङ्गा लागेजस्तो भयो । नयाँ डेराका घरपति जातले “शूद्र” थिए । हाम्रै गाउँघरतिरका विश्वकर्मा बन्धुको घर थियो । आफन्तको एकै वचनको इशारा काफी थियो । डेरा सरिएन । समाजसँग डराइयो ।

 

अस्ति २२ गतेको प्रतिनिधिसभाको बैठकमा कञ्चनपुरबाट निर्वाचित सांसद कालुदेवी विश्वकर्माले आफू दलित भएको कारणले काठमाडौंमा डेरा पाउन मुश्किल परेको दुःखेसोतर्फ संसदको ध्यानाकर्षण गराएको घटनाले पुरानो घटनाको स्मरण गरायो । जातगत भेदभाव र छूवाछूतको अन्तको प्रयत्न कानूनीरूपमै २०२० सालको नयाँ मुलुकी ऐनले गरेको हो । पूरै आधा शताब्दीको कानूनी अभ्यासले हाम्रो समाजको संकीर्ण र परम्परावादी चेतनामा कुनै अन्तर ल्याउन सकेको रहेनछ । ५० वर्षेको अवधिलाई इतिहास अनुसन्धानका दृष्टिले दुई पुस्ताको मानक मानिन्छ । छूवाछूत र भेदभावविरुद्धको सामाजिक अभियान त धेरै अगाडिदेखि नै चलेको हो । कानूनले निषेध गरेको पनि दुई पुस्ता बितिसकेछ । समाज यथावत् छ भन्नुपर्दा लाज लाग्छ र तर समाजले लाज मान्दैन । धर्मको नाममा, राजनीतिको नाममा, परम्पराको नाममा, संस्कार संस्कृतिको नाममा, पहिचानको नाममा उल्टो पाङ्ग्रो घुमाउने धम्मरधुस प्रयत्न जारी छ ।
गीतामा कृष्णले ‘गुणधर्मका आधारमा चार वर्णको व्यवस्था मेलै गरेको हुँ’ भनेका हुन भनेर लेखिएको छ । गीतालाई महाभारतको अभिन्न अङ्ग मानिन्छ । र त्यो ग्रन्थ ईसवीको प्रथम शताब्दी यताउतितिर लेखिएको भनेर पनि मानिन्छ । अर्थात् कृष्णको मृत्युको २,५००–३,००० वर्षपछि गीता लेखिएको हो । त्यसैले गीतामा लेखिएको दर्शन ज्ञान कृष्णको उपदेश हो भन्न मिल्दैन । लेखकले आफ्नो कुरा समाजमा स्थापित गर्ने उद्देश्यबाट प्रेरित भएर कृष्णको नामको दुरूपयोग गरेको मात्र हो । भैगो, कृष्णलाई औतारी देवता नै मानिदिऊँ । त्यसमा कुनै कठिनाइको अनुभूति गर्नुको आवश्यकता छैन । र, वर्ण व्यवस्था देवताकै सिर्जना हो भनेर मान्न पनि धक मान्नुपर्दैन । किनकि ऋग्वेदको दशम मण्डलमा परमेश्वरका विभिन्न अङ्गबाट चार वर्ण उत्पन्न भएका हुन भनेर लेखिएको छ । त्यसको अर्थ “हिन्दू” भनेर पुराणकालपछि चिनिन थालेको धर्मसंस्कृतिले देवताकै युगबाट जात विभाजन र विभेद सुरु भएको हो भनेर मान्छ । वर्णव्यवस्थाको हिन्दू धर्मसँग अभिन्न साइनो गाँसिएको छ । जातभेदको व्यवस्था विगत ६÷७ हजार वर्षदेखि अविछिन्न अभ्यासमा रहेको छ । हिन्दू समाजमा धर्मकै नाममा प्रचलनमा रहेका दर्जनौं कुपरम्पराहरू मध्येको एउटा छूवाछूत पनि हो । यही एउटा परम्परा हटाउन आधा शतकको प्रयत्नले सफलता पाउन सकेको छैन भने सबै गलत मान्यता र परम्पराहरू निर्मूल गरेर हिन्दू समाज कहिले सुसंस्कारित हुन्छ र खोई ? हजारौं वर्षदेखि समाजमा जरो गाडेर रहेका अपसंस्कृतिहरू दुईचार दशकको प्रयत्नबाट उखेलिन सक्दैनन् भन्ने कुराको गतिलो उदाहरण छूवाछूत र जातिभेद बनेको छ । साँचो कुरा गर्ने हो भने हिन्दू धर्मको सबैभन्दा डरलाग्दो रोग “पुरेतवाद” हो । जबसम्म पुरेतवादको अन्त्य हुँदैन तबसम्म हिन्दूसमाज सामन्तवादी शोषण र उत्पीडनबाट मुक्त हुन सक्दैन । हाम्रो समाजमा विकसित भएको सबभन्दा बलियो र डरालाग्दो सामन्तवादको आधार “ब्राह्मणवाद” हो । ब्राह्मणवादबाट मुक्त नहुँदासम्म नेपालीसमाजले वास्तवमै सामन्तवादबाट पूर्णरूपामा मुक्ति पाउन सक्तैन । तर दुर्भाग्य, यसको उन्मूलन होइन, उन्नयनतिर समाज प्रतिबद्ध छ । हिन्दूसमाज आँखामा पट्टि बाँधेर यथास्थितिमा रमाउनमा मस्त छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here