विश्व वातावरण दिवस र काठमाडौंको प्रदूषण

215

राज्यलक्ष्मी शाक्य
सरकारले हालै मात्र विश्व वातावरण दिवसका अवसरमा विभिन्न स्थानमा वृक्षरोपण गरी मनाएको छ । काठमाडौं उपत्यकाको वातावरण कुरा गर्ने हो भने यहाँको वातावरण दिनप्रतिदिन मानव बसोबासका लागि अयोग्य बन्न थालेको छ । उपत्यकाका चारैतिर रहेका डाँडाका वनजंगलका कारण मात्र यहाँको वातावरणमा केही सन्तुलन रहेको छ । अनियन्त्रित र अव्यवस्थित बसोबास, बढ्दो सवारीसाधन, उद्योगधन्दा कलकारखाना र सडक निर्माणमा गरिएको लापरबाहीका कारण यहाँको वातावरण दिन प्रतिदिन प्रदूषित हुँदै आएको हो । यो रोग विस्तारै मुलुकका अन्य सहरहरूमा पनि सर्दै गएको छ । सहरी सभ्यतालाई व्यवस्थित गर्न नसक्दा हाम्रा सहरहरू बोटबिरुवाविहीन भएका छन्, जसले मानव जीवनयापन नै कष्टकर बन्दै गएको छ ।

 

नेपालमा विभिन्न दिवसका अवसरमा त्यसबारे विभिन्न कार्यक्रम गर्ने, जनचेतना जगाउने र आआफ्नो क्षेत्रबाट सहभागी भएर दिवसलाई सफलतापूर्वक सम्पन्न गरेको देखाउने चलन छ । तर, वास्तवमा कुनै दिवसको एक दिन मनाएर त्यो दिवस सफल हुन सक्दैन । वातावरण दिवसकै कुरा गर्ने हो भने पनि यो दिवसका अवसरमा सरकारले विभिन्न कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा फलफूलको बिरुवा रोपेका छन् । अन्य सरकारी निकायका पदाधिकारीले पनि वृक्षरोपण गरेर आजको दिवस मनाएका छन् । तर, ती पदाधिकारीले सोच्न जरुरी छ, के हामीले वर्षभर वातावरण बिग्रन नदिन केही योगदान गरेका छौं ? अथवा वातावरण प्रदूषण गर्ने काममा हामीले सघाउ पु¥याइरहेका त छैनौं ? यदि त्यसो गर्दै आएको हो भने यो एक दिन मात्र वृक्षरोपण गरेर वातावरण संरक्षण हुने छैन ।
काठमाडौं जिल्ला अव्यवस्थित बसोबासका कारण ठूलो सकसमा परेको छ । यहाँ पर्याप्त खुला ठाउँ र बोटबिरुवाको कमी रहेको छ । त्यसकारण यहाँको स्थानीय निकायले यो सहरलाई कसरी हरियाली बनाउने भन्नेतर्फ ध्यान दिन आवश्यक छ । सोही दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले पनि वृक्षरोपण गरेको छ । कामपाले आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य भएको जनाएका छन् । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण गर्न मुख्य चुनौती रहेको धारणा राखेकी छिन् ।

 

कामपा वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले आउँदो पाँच वर्षमा हरियालीका क्षेत्रमा देखिने उपलब्धि हासिल हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । यस अवसरमा कामपाले प्रत्येक वडालाई २०० बिरुवा रोप्न निर्देशन दिँदै केही समयभित्र तथ्यांक दिन आग्रह गरेको छ । वातावरण दिवसको सन्दर्भ पारेर यस वर्ष महानगर क्षेत्रभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी तथा वित्तीय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत क्षेत्रमा वृक्षरोपण गर्न शुरु गरिएको छ । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन आग्रह गरेको हो ।

 

यस वर्ष कामपाले ‘काठमाडौं हरियाली मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली’ भन्ने नारासहित अभियान थालनी गरेको छ । रोपिएका बिरुवाको तथ्यांक लिने, ती बिरुवा संरक्षणको निरन्तर नियमन गर्ने र बिरुवा हुर्काउने जो कोहीलाई मूल्यांकन गरी कामपाले सम्मान गर्ने छ । कामपाको यो कदमलाई सकारात्मक रूपमा लिन सकिन्छ । तर, यसको कार्यान्वयनमा भने जनप्रतिनिधिले कडाइ गर्न आवश्यक छ । आगामी वर्षको यही अवसरमा कामपाले यो कार्यक्रमबाट केकति सुधार हुनसक्यो भनेर प्रगतिविवरण सार्वजनिक गर्नुपर्दछ । यसले मात्र जनप्रतिनिधि जनताको दैनन्दिनी समस्याहरूप्रति अवगत र गम्भीर रहेछन् भन्ने कुरालाई पुष्टि गर्नेछ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here