–निमकान्त पाण्डे
शीर्षपंक्तिका शब्दहरू मन भित्रैबाट आएका हुन् । यी शब्दहरूमा कुनै लोभ छैन, कुनै चाहना छैन, कुनै पूर्वाग्रह छैन र कुनै आग्रह पनि छैन । दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका कमरेड केपी शर्मा ओली देशको प्रधानमन्त्री बनेदेखि उहाँको विरोधमा लेख्न नपरे हुन्थ्यो भन्ने चाहना भइरह्यो । ओली कमरेडले देशको लागि गर्न चाहने हो भने रोक्ने कुनै शक्ति छैन । उहाँको इच्छाशक्ति नै नभएपछि कसको के लाग्यो र ! देशको अवस्थाबारे कमरेड ओलीलाई जानकारी नभएको विषय होइन । जनताको जीवनस्तर कस्तो छ भन्ने बारे पनि कमरेड ओली अनभिज्ञ हुनुहुन्न । त्यसैले ओली कमरेडलाई यस्तो गर्नुस् र यस्तो नगर्नुस् भनेर सुझाव दिइरहनु पर्छ जस्तो पंक्तिकारलाई लाग्दैन ।
केपी ओली पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा तत्कालीन एनेकपा (माओवादी)को समर्थन थियो । ओलीका कामहरूमा एमाओवादीको पनि हिस्सेदारी रहन्थ्यो । तथापि ओलीलाई छोडेर नेपाली कांग्रेससँग एमाओवादीले सहकार्य गर्ने भएपछि ओली नेतृत्वको सरकार ढल्न पुगेको हो । इतिहासको विश्लेषण गरेर नै वर्तमानको मूल्यांकन र भविष्यको आँकलन गर्न सकिने हुन्छ । त्यस आधारमा ओली कमरेडको इतिहासको समीक्षा गर्दा खुशी लागेर आउँछ । देश नाकाबन्दीको चपेटामा परेका बेला जनताले एउटा ग्यासको सिलिण्डरलाई चार हजार रूपैयाँ लगानी गरेर र एक लिटर मट्टितेलको ५ सय रूपैयाँ तिरेर पनि गुजारा गर्दै केपी ओलीको देशभक्ति अडानलाई समर्थन गरेका थिए । जनताले त्यो खालको धैर्य नदेखाएको भए ओली कमरेडको देशभक्ति प्रदर्शित हुन कठिन हुन्थ्यो भन्ने कुरा स्पष्ट छ । जनताले कष्ट सहेरै पनि केपी ओलीको नेतृत्वलाई धन्यवाद दिएका थिए, वाहवाही गरेका थिए । देशभक्ति उचाइ चुम्न पाएका केपी ओलीलाई सरकारबाट अलग गराएर कांग्रेससँगको सहकार्यमा प्रचण्डले आपूmलाई रूपान्तरित गरेपछि प्रचण्डको सर्वत्र आलोचना भएको थियो । त्यो आलोचना पनि केपी ओलीप्रतिको सकारात्मक भावनाको परिणाम बन्यो । केपी ओलीलाई जनताले देशभक्त ठानेका थिए । पंक्तिकारको कलम पनि कमरेड केपी ओलीको देशभक्ति उचाइको प्रशंसामा रमाएको थियो ।
प्रचण्डले स्थानीय तहको चुनावमा समेत नेपाली कांग्रेससँग गठबन्धन गरेर नेकपा एमालेलाई कमजोर बनाउने प्रयास गरेका थिए । कांग्रेस र तत्कालीन एमाओवादीको चुनावी गठबन्धनबाट पनि एमालेको विजय अभियान रोकिएन । स्थानीय तहमा एमालेका उम्मेदवारहरूले प्राप्त गरेको विजय कमरेड केपी ओलीको देशभक्ति अडानकै परिणाम हो भन्ने कुरा सबैलाई थाहा छ ।
नेपाली कांग्रेससँग सत्ता सहकार्य गरेपछि प्रचण्डबाट ५ नं. प्रदेशलाई तराई र पहाडको रूपमा छुट्याउने कामले प्राथमिकता पायो । त्यसलाई भारतीय दूतावासले वक्तव्य निकालेरै स्वागत ग¥यो । केपी ओलीले सत्ता बाहिरै बसेर त्यो षड्यन्त्रको विरोध गरेपछि एमालेको देशभक्तिमा अरु शक्ति थपिएको थियो । स्थानीय तहको चुनावमा नेकपा (एमाले)को पक्षमा देखिएको जनलहर यस्तै गतिविधिको परिणाम थियो । यो वास्तविकतालाई नेकपा (एमाले)को नेतृत्व पंक्तिले बुझेको छ, नेकपा एमालेका आम कार्यकर्ताहरूले बुझेका छन् । नेकपा एमाले सत्ताबाहिरै बसेर पनि स्थानीय तहको निर्वाचनमा होमिएर जनताको मत प्राप्त गरी आफ्नो बहुमतको सरकार बनाउन सफल भयो । यो विजय अभियानले प्रचण्डलाई लोभ्याउनु स्वाभाविक थियो । कांग्रेससँग चुनावी सहकार्य गरेका प्रचण्डले एमालेसँग सहकार्य गर्ने चाहना देखाउनु त्यसकारण आश्चर्य मानिरहनु पर्दैन ।
एमालेसँग प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी गठबन्धन गर्ने निर्णयमा प्रचण्ड पुगेपछि स्वाभाविक रूपमा देशभक्त नेपाली जनतामा उत्साह थपियो नै । त्यही उत्साहको परिणाम प्रदेशसभा र प्रतिनिधिसभामा वामगठबन्धन उम्मेदवारहरू धेरैजसो ठाउँहरूमा विजयी बन्दै गए । वामगठबन्धनका उम्मेदवारहरूको विजयको लहरले नेपाली कांग्रेसलाई अत्याउनु स्वाभाविक थियो । पार्टीको नेतृत्वबाट उम्मेदवारी टिकट पाउनका लागि मरिहत्ते गर्ने कांग्रेसका जिल्ला तहका नेताहरूले टिकट पाए पनि वाम गठबन्धन पक्षधरका उम्मेदवारको प्रभावका कारण उम्मेदवारी दिने हिम्मत समेत नगरेको अवस्था देखिएको थियो । यी सबै गतिविधिहरू कमरेड केपी ओलीबाट देखाएको भारतीय नाकाबन्दीविरुद्धको अडानको परिणाम थियो भन्ने कुरा स्पष्टै छ ।
परन्तु ओली कमरेड नेपाली जनताले गरेको विश्वासप्रति इमानदार बन्न नसक्ने अवस्था देखियो । भारतीय नाकाबन्दीको पक्षमा खुला रूपमा प्रस्तुत हुँदै नेपालको तराई भूभागलाई बिखण्डन गराउनेसम्मका गतिविधि गरेर जनताबाट लखेटिँदै आएका राजेन्द्र महतोजस्ता विवादास्पद व्यक्तिलाई प्रतिनिधिसभाको उम्मेदवारमा विजयी गराउन ओली कमरेडको भूमिका निर्णायक बनेको देखियो । यो अवस्था किन सृजना भयो ? कमरेड ओलीबाट जवाफ आउनुपर्ने आवश्यकता एमालेभित्रका देशभक्त नेता तथा कार्यकर्ताहरूले किन महसुस गरेनन् ? यसलाई पनि कूटनीतिक चालबाजी ठानेर कसैले विरोध नगरेको हो कि ? हो भने यो कस्तो कूटनीति हो ? ओली कमरेड बाहेक अरु कसैले बुझ्ने कुटनीति भएन यो ।
ओली कमरेड दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि देशले ठूलो उपलब्धि हासिल गरेको महसुस गर्नुपर्ने अवस्था थियो । जनतामा त्यत्तिकै उत्साह थपिएको थियो । अब देशमा जनताले चाहेअनुसारकै परिणाम देखिने आशा जागेको थियो । यस्तो अवसर नेपालको इतिहासमा यसअघि कहिल्यै आएको थिएन र अब फेरि यस्तो अवसर आउने पनि छैन भन्ने नेपाली जनतामा लागेको हो । कमरेड केपी ओली निःसन्तान हुनुहुन्छ । उहाँलाई सम्पत्तिको लोभ नहुनुपर्ने हो । चीनका राष्ट्रपति सी जिन पिङले निजी सम्पत्तिको लोभ गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् भनेर अभिव्यक्ति दिएपछि उहाँको सर्वत्र प्रशंसा भयो । नेपालको राजनीतिमा समेत राष्ट्रपति सीको अभिव्यक्तिले तरंग ल्यायो । परन्तु नेपालको कम्युनिष्ट आन्दोलनमा आफूलाई मूलधार ठान्नेहरूबीच पार्टी एकीकृत भएपछि शक्तिशाली बन्न पुगेको पार्टीको नेतृत्वपंक्तिलाई राष्ट्रपति सीको अभिव्यक्तिले कुनै प्रभाव पारेको देखिएन । बहुमतको सरकार बनिसकेपछि यो सरकारबाट गर्न सकिने धेरै कामहरू थिए । यो सरकारलाई दुईतिहाइ बहुमत जुटाउने आवश्यकता थिएन । जनताको पक्षमा काम गर्दा दुईतिहाइ आवश्यक हुँदैन, बहुमत भए पुग्छ । जनताको पक्षमा निर्णयहरू लिंदै अगाडि बढ्ला भन्ने आशा गरिएको सरकारले दुईतिहाइ बहुमत बनाएर छिमेकी देशको स्वार्थलाई सम्बोधन गर्न संविधानमा संशोधनको वाचाबन्धन गर्नतर्पm लागेको देखियो । त्यसैगरी एकपछि अर्काे गर्दै देशको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेका नदीहरू भारतको स्वामित्वमा पु¥याउने हतार पनि ओली कमरेडलाई नै हुन गयो । देशलाई आत्मनिर्भर तुल्याउने पेट्रोलियम पदार्थलगायतका देशभित्रका खनिज पदार्थहरू उत्खननतर्पm नाकाबन्दीताका विशेष चासो देखाएका कमरेड ओली अहिले त्यतातिर फर्केर पनि हेर्न चाहेको देखिंदैन । बेरोजगार युवाहरूलाई रोजगार सृजना गर्न उद्योगहरू स्थापना गर्ने तर्पm ओली कमरेडको ध्यान देखिदैन । पाइपलाइन विस्तार गरेर पेट्रोलियम पदार्थ आयात गर्ने, रेल र पानीजहाज भिœयाएर भारतबाट सबै दैनिक उपभोग्य सामग्री आयात गर्नेतर्पm नै कमरेड ओली कृतसंकल्पित भएको देखिन्छ । ती रेल र पानीजहाजमा नेपालबाट के पठाउने ? यसतर्पm कुनै योजना छैन । कृषि उत्पादन बढाउन भूमिमा जोताहाको स्वामित्व कायम गर्न कुनै योजना छैन । शिक्षामा जनताको सहभागिता कसरी बढाउने ? जनतालाई लुटिरहेका शैक्षिक संस्थाहरूलाई लुटेरा बन्नबाट कसरी रोक्ने ? वित्तीय संस्थाहरूबाट जनतामाथि भइरहेको चर्काे व्याजको शोषण कसरी अन्त्य गर्ने ? अन्य देशहरूमा सरकारले अस्पतालहरूको विकासतर्पm ध्यान पु¥याएका हुन्छन्, तर हाम्रो देशमा स्वास्थ्य उपचारमै जनता लुटिएका छन्, यसको अन्त्य कसरी गर्ने ? कमरेड ओलीले यस्ता गतिविधितर्पm ध्यान दिने हो भने अब नेपालमा वाम सरकारको विकल्प जनताले आवश्यक ठान्ने छैनन् ।
परन्तु गर्नैपर्ने कामहरू नगरेर जनतालाई सरकारको विरोध गर्न निषेध गर्ने, बिना हातहतियार भेला हुने अधिकारबाट जनतालाई बञ्चित गर्दै पञ्चायतकालको स्मरण गराउने, पञ्चायतकालकै अनुशरण गर्दै मन्त्रीहरूलाई करोडौंका गाडी खरिद गरेर राज्यको ढुकुटीमा लूट मच्चाउने, नदीहरू उधारो निर्माणमा भारतलाई जिम्मा लगाएर पुर्परोमा हात राखेर बस्ने, विमान खरिद गर्ने नाममा अपारदर्शी लगानी गरेर आलोचित बन्ने, ओली कमरेड ! यस्ता कामहरूको समर्थनमा के लेखेर कसरी कलम चलाउने ? वाम पार्टीको बहुमतको सरकारले देश र जनताको हितमा काम गर्ला भनेर आशा गरेका जनतालाई निराश तुल्याउँदै छिमेकी देशकै कठपुतली सरकार बन्नेतर्पm तपाईको अग्र्रसरताको स्तुतिमा कलम चलाउन सकिदैन । ओली कमरेड तपाईको सरकारको पक्षमा लेख्ने वातावरण तपाई आफैले बनाउनुपर्छ । यसपटकलाई यत्ति !
(- जनधारणा साप्ताहिक)
















