२०७५ असार ३१ गते आइतबार जनयुद्धका महान शहीद विष्णु चौंलागाईं क. अभयको १५ और स्मृति दिवस मनाइएको बारे रामेछापको तत्कालीन माओवादी केन्द्रसंग सम्बद्ध केही व्यक्तिहरुद्वारा सार्वजनिक रुपमा गरिएको नकारात्मक टिप्पणीहरु प्रति दुःख लागेको छ । एक सहीदको सम्मानलाई विवादको विषय बनाउनु भनेको सहिदप्रतिको अपमान हो, सहिद परिवारप्रतिको दुराग्रह हो । आस्था, निष्ठा र कम्युनिष्ट आन्दोलनप्रतिकोे प्रतिबद्धताबाट विचलन हो । यो माफि मिनाह गर्न नसकिने र नमिल्ने घटना हो । यसको छिनोफानो हामीले नगरेपनि सहिदको रगतले लेखिएको इतिहासले अवस्य गर्ने छ । हामी आयोजक समितिको तर्फबाट घोर भत्सर्ना गर्दछौ ।
शहीद सम्मान कार्यक्रम पार्टीको सुनापति काठमाण्डौ सम्पर्क मञ्चले आयोजना गरेको हो । सुनापति स्थायी ठेगाना भइ त्यस दिन सहादत प्राप्त गर्ने कमरेड अभयको मात्र त्यस दिन स्मृति सभा हुनु अस्वभाबिक कुरा होइन । बरु, सार्वजनिक र सतही रुपमा आलोचना गर्न तम्सने स्थानीय तहका केही नेताहरुले घटनास्थल दोरम्बा गाउंपालिका वा कमरेड उन्नतको जन्मस्थान तिल्पुंगमा स्मृति समारोह आयोजना गर्न केले छेक्यो ? सुनापतिका नागरिकले आफ्नो गाउँका सहिदलाई सम्झेर के गल्ती गर्यो ? नौ महिना आफ्नो वर्भमा बोकेर जन्माएको आफ्नो सन्तानलाई, दुधको लाम्टा चुसाएर गु मुुत गरेर हुर्काएको मुटुको टुक्रालाई सम्झेको विषयलाई जसरी अराजनीतिकरण गरियो यो कुराले ती आमाको भावनामा कति चोट लाग्योे होला ? सहिद विष्णुको जीवनसाथी निर्मला गौतमको हृदयमा कति गहिरो चोट पर्यो होला ? जो आज पनि सहिद विष्णुको सम्झनामा बाँचिरहेकी छिन्, तड्पी रहेकी छिन् । सहिद विष्णुको छोरी नविनाले के सोचिरहेकी होलीन ? बाल्यकालदेखि सँगै हुर्केका सहिद विष्णुको दिदिहरु र दाजुलाई यसरी सामाजिक संजालमा जथाभावी लेख्दा कति विजेको होला मुुटुमा । हरक्षेण सम्झेर रुने सहिदको आमा वा, जीवनसाथी र आफन्तहरु अनि सहिदको सहादत भएको मिति कुरेर त्यो पनि हामीलाई सहिद फलानोको सम्झना गर्न खवरै भएन, सहिद सवैको साझा हो भन्ने सहिदका सम्झनाकारहरुको सम्झना र सहिदप्रतिको प्रेम उस्तै कुरा होइन । सहिदलाई सम्झने भनेको त हृदयले हो ।
सहिदलाई सम्झने भनेको त उनीहरुले देखाएको पदचापलाई पछ्याउने र सपनाहरुबाट अविचलित हुने हो । आफू बाचिरहेको अरु समय अनेक धन्दा गरेर, अनि भित्ताको क्यालेण्डरमा तिथि मिति हेरेर सम्झनु पनि सहिदलाई सम्झेको हुन्छ । अझ त्यो पनि मञ्चमा अथिति बन्न नपाए त सहिदको सम्झना गर्नु नै वेकार ठान्नेहरुको संख्या कम्युनिष्ट आन्दोलनजमा बढ्दै गएको छ । यो विषय निकै गम्भिर विषय हो ।
सहिद अभयको सम्झनामा सुनापतिले स्मृति सभा गरेर तिमीले देखाएको महान यात्रामा हामी अविचलित भएर अगाडि बढ्ने छौं भनेर संकल्प गर्दै गर्दा सहिद उन्नतलाई सक्म्झेन गनेर विषय उचाल्ने काम कतैबाट पनि न्यायोचित देखिदैन । बरु सहिद उन्नको सम्झनामा लिखु क्षेत्रका कम्युनिष्टहरुले स्मृति दिबस मनाएर संकल्प गर्नुपर्ने हैन र ? त्यसो गरिएको भए कम्तिमा सहिद उन्नतको परिवारलाई थोरै भएपनि गौरव त हुन्थ्यो । जिल्ला सम्पर्क मन्चले कार्यक्रम गर्दा उन्नतको नाम छुटाएको भए कुरा उठाउ तर सुनापदा सान्दर्भिक नै हुने थियो । तर यो त सुनापति गाँपालीकाको सम्पर्क मन्चले आफ्नो गाउंपालिकाको सहिदलाई स्मरण गरेको घटना थियो । यो कुनै गल्ती गरेको विषय पनि थिएन । तर यो विषयलाई किन अनाश्यक उचालियो ? यो खोजीको विषय अवश्य हो ।
देशमा एकै दिन दर्जनौंको शहादत भएका छन् । ती महान सहिदहरुलाई एउटै कार्यक्रममा सम्झन सम्भव हुने कुरा पनि होइन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त सहिदहरुको सम्झनामा बलिदानको दिन पारेर स्मृति दिवस मनाउनु र सहिदलाई सम्झनु एउटै कुरा पनि होइन । यो सामाजिक संजालमा मनमा जे लाग्यो त्यो टिप्पणी गर्दै हिड्ने हलुका विषय पनि होइन । सहिदको सम्झनाको निगै गहन अर्थ छ,हचुक्ता गर्न नसकिने अमूल्य छ । सहिदको सम्झनालाई ठेक्का पट्टाबाट आएको कमिसन जसरी हिसव किताव गरेर भागबण्डा गर्न सकिँदैन । कुनै एक कार्यक्रम र सन्दर्भमा सबै सहिदका व्यानर र तस्विर राखेर कार्यक्रम गरिएन भन्दैमा अर्को सहिदको अपमान गरेको र विर्सेको भन्ने हुँदैन । त्यसको अर्थ अर्को सहिद परिवारको अपमान गरेको भन्ने पनि हुँदैन । सबै सहिदको एकै ठाउंमा स्मरण नगर्दा अरुको अपमान भयो भन्ने अर्थ कसरी लगाउन मिल्छ ? विगतमा बेथान, दिनेश, रामजी, अनिश कल्याण आदि सहिदहरुको नाममा पहिला ब्रिगेड बने, यी पनि कुनै भौगोलिक वा व्यक्तिगत इकाइका नाम हैनन र ? त्यस्तो गर्दा अर्को सहिदको अपमान भएको थियो र ? बलिदान र आस्थाको प्रतीक मानिएको सहिदलाई एक अर्कासंग तुलना गर्ने , एकलाई सम्झदा अर्कों अपमानित भएको ठान्ने सोच ग़लत छ । यस्तो सोच सहि नियतले आउँन सक्दैन । सहिदप्रति इमान्दार भएर यस्ता अभिव्यक्ति दिन सकिँदैन । यस्ता सोच र प्रवृत्ति विरुद्ध हरेक क्रान्तिकारीहरुले निर्मम भएर संघर्ष गर्न जरुरी छ , घोर निन्दा र भत्र्सना गर्न जरुरी छ । यस्ता सोच र प्रवृतिको भण्डाफोर गर्न जरुरी छ ।
समाजको रुपन्तराणका निम्ति गरिएको बलिदान खेलबाडको विषय होइन । सहिद परिवार खेलबाडको विषय होइन, यो त संवेदनाको विषय हो । सहिद परिवार त क्रान्तिको सम्पक्ति हो । हरेक परिवर्तनहरु सहिदका रगतले र सहिद परिवारका आँशु र सोदनले निथ्रुक्क भिजेर आएको हुन्छ । यस्तो योगदानको मूल्य वर्तमानमा चुक्ता हुन सक्दैन । वलिदानको मूल्य युग युगमा पनि चुक्ता हुँन सक्दैन । त्यसैले यस्तो विषयमा हलुका ढंगले टिप्पणी गरेर जोक्कर बन्ने काम कसैले पनि नगरेको राम्रो हुन्छ ।
कार्यक्रमबारे जिल्लाका सबै नेताहरुलाई ख़बर गरिएको थियो । पार्टीका जिल्ला स्थित केन्द्रीय सदस्यहरुलाई जिम्मेवार नेताले नै फोन र म्यासेज गरेको हो । नेकपा का नेता कार्यकर्ताहरुको त्यस कार्यक्रममा बाक्लो उपस्थिति रहेको पनि थियो ।
कार्यक्रम पार्टीमा छलफल भएर नै आयोजना गरिएको हो । कार्यक्रमको तैयारी बैठकदेखि मन्तव्यसम्म जिल्ला पार्टीका प्रमुख नेताहरुले सक्रिय सहभागिता जनाएको सबैको अगाडी छर्लंग्ग छ । सबै कार्यक्रममा एक व्यक्ति पुग्न नपाएको होला, तर पार्टी नै सहभागी थिएन भन्नु सहि होइन ।
कतिपय नेताहरुले पार्टी केन्द्रका ज़िम्मेवार नेताको नामै किटेर सार्वजनिक रुपमा अपमानित गर्ने र धम्की दिने काम भएको छ । यसबारे पार्टी केन्द्र र अनुशासन विभागको ध्यानाकर्षण हुनुपर्दछ ।
सहिद एक प्रतीक हो। सहीदबारे सार्वजनिक रुपमा नकारात्मक टिप्पणी गरेर कोही अग्लो हुंदैन । चप्पल लगाएर माननीय र अध्यक्ष भएका झुपडीका मान्छेहरुले एक सहिद प्रति अपमानित गरेर के सन्देश दिन खोजेको ? के अब हामीमा भावना भन्ने कुनै चिज छैन ? राजनीतिको दाउपेचमा लागेर शहीदकी आमा, विधवा र टुहुरी छोरीलाई आफ्ना नेताहरुको अगाडी एक पटक धक फुकाएर रुन पनि अब कुनै अमुक व्यक्ति वा सानो झुन्डको अनुमति चाहिने हो ? आफैं सहिदको लागि केही गर्न पनि नसक्ने, सहीद परिवार स्वयंको पहलमा पार्टीको एक आधारभूत इकाइले गरेको कार्यक्रम बारे पनि अनर्गल प्रचार गर्नेहरुको नियत के हो रु हामी कता पुग्दै छौं ? त्यसैले यस्ता अनावश्यक विवादमा हामी कोहि पनि आफ्नै वुद्धि र विवेकले पनि नलागौं र अरुको लहडमा त झनै नलागौं । यो आन्दोलनको गम्भिर विषय हो । बरु सहिदलाई नसम्झिन पाइन्छ तर अपमान गर्न पाइदैन । कसैले पनि सहिदको बलिदानमाथि खेलबाड नगर्रौं ।
माधब चौलागाईं
उपाध्यक्ष
सुनापति काठमाण्डौ संघीय जनसम्पर्क मञ्च ।


















