कामु प्रधानन्यायाधीशः फरक फरक परीक्षा, एउटै सिम्बोल नम्बर

159

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गर्ने क्रममा रहेका कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीको दुई तहको परीक्षा र विद्यालय फरक–फरक भए पनि सिम्बोल नम्बर एउटै फेला परेको छ । जोशीले कानुनको प्रमाणपत्र तह (आईएल) पढ्न नेपाल ल क्याम्पसमा पेस गरेको विवरणमा यस्तो तथ्य फेला परेको हो ।

संघीय संसद् सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको कागजातअनुसार ल क्याम्पसको ‘प्रोग्रेस रिपोर्ट’ मा जोशीको प्रवेशिका र त्यसभन्दा अघिल्लो परीक्षा दुवैको सिम्बोल नम्बर एउटै (३६६७) छ। उनले राजधानीको डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा विद्यालय तह अध्ययन गरेको र वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको बताएका छन्।

नेपाल ल क्याम्पसको अभिलेखमा रहेको जोशीको ‘प्रोग्रेस रिपोर्ट’ मा उनी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ। त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन्। पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ।

नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ। उक्त मार्कसिटमा परीक्षा केन्द्र ‘नक्साल–ख’ उल्लेख छ। दुवै तहमा उनी एकै वर्ष (२०२९ साल) उत्तीर्ण भएका देखिन्छन्। कान्तिपुर दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here