काठमाडौं/ हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ ।
सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जनाएका छन् ।
उक्त तालीम सञ्चालाका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन् । तालीममा दुईदेशका विज्ञबीच मकैको उत्पादन र उत्पादकत्व बढाउन चिनियाँ प्रविधिसहितको विविध विषयमा ज्ञान, अनुभव र प्रविधि साटासाट गरिएको छ
नेपालमा झण्डै आठ लाख ५० हजार हेक्टर जमीनमा मकैखेती गरिने र प्रत्येक वर्ष १५ लाखदेखि १७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव आठदेखि दुई टनको हाराहारीमा रहेकामा हाइब्रिड मकैखेती अवलम्बन गर्दा सातदेखि आठ टनसम्म फल्ने चिनियाँ वैज्ञानिक तथा मकैविज्ञ वाङ चिसङ जनाउनु हुन्छ ।
व्यापक प्रयासका बीच पनि नेपालमा मकै उत्पादन र उत्पादकत्वमा उल्लेख्य प्रगति नभएको सन्दर्भमा यो तालीम उपयोगी हुने चर्चा गर्दै चिनियाँ वैज्ञानिक वाङ यो तालीम नेपालमा पहिलो पटक भएको र चीनको सहकार्य निरन्तर रहने जनाउनु हुन्छ ।
मकै उत्पादनका क्षेत्रमा दुई देशबीचका प्रविधि साटसाट गर्न, नेपालमा मकैखेतीबारे अनुसन्धान तथा विकास गर्न, नेपालमा मकै खेतीमा नयाँ प्रविधि अवलम्बन गर्न र दक्ष मानव संशाधन उत्पादन गर्न सहयोग पुग्ने डा कोइराला विश्वास व्यक्त गर्नुहुन्छ । तालीममा मकैको ब्रिडिङ प्रविधि, उत्पादन प्रविधि, उच्च गुणस्तरसहितको मकै लगाउने तरिका र मकै पाकेपछि गरिने प्रशोधन प्रविधिकाबारे छलफल, अनुभव साटासाट, अन्तरक्रिया र स्थलगत अध्ययन गरिएको ४६ दिने सो तालीमको मुख्य केन्द्रविन्दू रामपुरलाई बनाइएको छ ।


















