काठमाडौं/ प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको जनाएका छन् ।
सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको जनाउँदै भने, ‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
हाम्रा क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा ओलीको जोड थियो । चरम गरिबीले दुष्चक्रतिर डोर्याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको उनले जनाउँदै बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको उनले सम्मेलनमा जनाए । ओलीले भने, ‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’
सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिहरूको सम्मानमा आयोजित रात्रीभोज होटल हयातमा शुरु हुनेछ ।
बिहान साढे दश बजे बिमस्टेक सम्मेलनको दोस्रो दिनको सत्र शुरु हुनेछ ।शुक्रबार विहानको कार्यक्रम प्रधानमन्त्री ओलीद्वारा आयोजित ‘रिट्रिट’ बाट शुरु हुनेछ । सम्मेलनको अन्तिम दिन महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी हुनेछ ।

















