नयाँ प्रधानसेनापतिसामु यस्ता छन् चुनौति र अवसर

115

काठमाडौं । नेपाली सेनाको ४३ औं सेनापतिका रुपमा पूर्णचन्द्र थापाले आइतबारदेखि जिम्मेवारी सम्हालेका छन् । मुलुक लामो समयको द्वन्द र अस्थिरतापछि शान्ति प्रक्रियामा प्रवेश गर्नु, नयाँ संविधानको कार्यान्वयन र दुई तिहाई बहुमत सहितको स्थिर सरकार गठन हुनुले विगतमा जस्तो राजनीतिक अस्थिरताको अवस्था छैन । त्यसैले यो मानेमा नवनियुक्त प्रधानसेनापति थापाले तत्कालै ठूला र जटिल किसिमका समस्या भोग्नुपर्ने अवस्था छैन, जति यस अघिका प्रधानसेनापतिहरुले भोगे । तर पनि मुलुक पूर्णरुपमा शान्ति र समृद्धिको बाटोमा हिँडि नसकेको अवस्थामा साना–साना कुराको व्यवस्थापन गर्न नसक्दा ठूला समस्या निम्तिने सम्भावना भने यथावत नै देखिन्छ ।
पछिल्लो समय नेपालको चूनौतिका रुपमा देखिएका दुईवटा पक्ष छन् । जसलाई सेनाको आन्तरिक अध्ययनले समेत चूनौतिका रुपमा देखाएको छ । ती हुन्, पहिलो – मुलुक विखण्डनको माग सहित अघि बढिरहेको सिके राउत समुह । बाहिर देखिने गरी ठूला गतिविधि नगरेपनि राउत समुह कहीँ न कहीँ चूनौतिका रुपमा देखिएको स्वयम सेनाकै आन्तरिक विश्लेषण छ । त्यसैले यो विषयलाई कसरी सहज ढंगले सल्टाउने भन्ने चूनौति प्रधानसेनापति थापा समक्ष छ । त्यस्तै अर्को पक्ष राजनीतिक माग सहित क्रान्तिकारी आन्दोलनमा होमिएको नेत्र विक्रम चन्द्र विप्लवले गर्न सक्ने सम्भावित आन्दोलन हो । यसलाई पनि सेनाले नजिकबाटै हेरिरहेको छ ।
विप्लव नेतृत्वको नेकपाको आन्दोलनले कुन रुप लिन्छ भन्नेमा सेनाको आफ्नै मुल्यांकन होला तर यसलाई पनि सहज ढंगले व्यवस्थापन गर्नु सेनाको लागि एउटा चूनौतिको विषय छ । यो किन भनिएको हो भने विगतमा तत्कालीन माओवादीले शसस्त्र युद्ध गर्दा युद्धको चरम अवस्थामा सरकारका तर्फबाट लडाइको नेतृत्व नेपाली सेनाले नै गरिरहेको थियो । विप्लवको आन्दोलनले कुन रुप लिन्छ त्यो एउटा कुरा हो । तर मुलुक गृहयुद्धको अवस्थामा पुग्दा सेनाले रणनीति नबनाई बस्न सक्दैन । पछिल्लो समय यो विषयमा सेनाले आन्तरिक अध्ययन गरिनै रहेको कुरा सेनाबाटै आधिकारीक रुपमा बाहिर आईसकेको छ ।
नेपाली सेना सरकारको मातहतमा रहेपनि सेनाको आफ्नै चेन अफ कमाण्ड छ । सेनाको चेन अफ कमाण्डकै कारण सेनाभित्र राजनीति घुस्न पाएको छैन । यसलाई निरन्तरता दिनसक्नु प्रधानसेनापतिका लागि अर्को चुनौति हो । नेपालमा हालसम्म राजनीति घुस्न नसकेको संस्थाका रुपमा परिचित सेनामा राजनीति घुसाउने प्रयास नभएका भने होइनन् । विगतमा यस्ता प्रयासहरु असफल भए । भविष्यमा प्रधानसेनापतिको भूमिका के हुन्छ, त्यो कुराले नै सेना राजनीति मुक्त हुन्छ या हुँदैन भन्ने तय हुनेछ ।
सेनामाथि पछिल्लो समय लाग्ने सबैभन्दा संगीन आरोप भनेको संस्थाभित्र चरम भ्रष्टाचार हुन्छ र सेना व्यापार व्यवसायमा लाग्यो भन्ने हो । यो कुरालाई गलत साबित गर्न सक्नु वा भइरहेका भ्रष्टाचार, अनियमितताका घटनालाई न्यून गर्नु प्रधानसेनापतिका लागि अर्को चूनौति हो । यो चूनौतिलाई अन्त्य गर्नु सहज छैन तर असम्भव पनि छैन । यसप्रति नवनियुक्त प्रधानसेनापतिको भूमिका के हुन्छ, त्यसले पनि उनको कार्यकालको मुल्यांकन हुनेछ ।
नेपाली सेनासँग झण्डै एक लाख अर्थात ९५ हजार बहालवाला जनशक्ति छ । जनशक्तिको हिसाबमा सेनाको सैन्य शक्ति भने निकै कमजोर छ भन्ने आरोप लाग्छ । सरकारले सेनालाई वार्षिक कुल बजेटको चार प्रतिशत भन्दा बढी बजेट अर्थात ४० अर्ब भन्दा बढी रकम छुट्याउँछ । सेनाको कल्याणकारी कोषमा समेत अर्बौं रुपमा रहेको छ । तर त्यो खर्च सेनाको तलव सुविधामै सकिने गरेको सेनाको भनाई छ । ठूलो संख्याका रुपमा रहेको सेनालाई सैन्य क्षमताका हिसाबले पनि शक्तिशाली बनाउने हो भने ठूलो संख्या राख्नुको पनि अर्थ रहला, अन्यथा तलब सुविधा दिएर मात्र राख्नका लागि ठूलो सैन्यशक्ति कत्तिको आवश्यकता हो ? त्यस विषयमा पनि नयाँ प्रधानसेनापतिले सोच्न आवश्यक छ । राज्यकोषबाट ठूलो रकम खर्च गरेर पालिएको सेनालाई सैन्य क्षमता अभिवृद्धि नगरी राख्ने हो भने त्यो देशका लागि बोझ मात्र हुने देखिन्छ ।
भौगोलिक अखण्डताको रक्षा गर्ने जिम्मा पाएको सेनाले पछिल्लो समय नेपालको भूभाग मिचिने तथा नेपाल भित्रै छुट्टै मुलुकको अवधारणा आउने गर्दा समेत मौन रहेको भन्दै आलोचना खेप्दै आएको छ । नयाँ नेतृत्वसामु यस्ता विषयमा पनि ध्यान दिनुपर्ने चुनौति छन् ।
नवनियुक्त प्रधानसेनापतिका सामु चूनौति मात्र होइन अवसरहरु पनि छन् । मुलुक समृद्धिको बाटोमा अघी बढ्न लागेका बेला सेनाले सहजीकरण गर्दै समृद्ध नेपालको साझेदार बन्ने अवसर नेपाली सेनासँग छ । त्यसमा कस्तो भूमिका खेल्ने भन्ने कुरा प्रधानसेनापतिको हातमा हुन्छ । माथि जे जति पनि चूनौतिहरु देखाइएको छ ती चूनौतिलाई सहज ढंगले व्यवस्थापन गर्नु भनेको वर्तमान प्रधानसेनापतिका लागि अवसर हुन् ।
अविछिन्न र अविचलित सेनाको रुपमा आफ्नो छवी बनाएको नेपाली सेनामाथि तीन करोड नेपालीको भरोसा छ । त्यो भरोसालाई कायम राख्दै नेपाल र नेपाली जनताको पक्षमा काम गर्न सक्नु वर्तमान नेतृत्वका लागि अवसर हो । यी लगायत कैयौं विषयहरु छन् जसलाई वर्तमान सैन्य नेतृत्वले सहज ढंगले सम्बोधन गर्न सक्नु पर्दछ । तथापि यस्ता विषयलाई प्रधानसेनापति थापाले कसरी सम्बोधन गर्छन् ? त्यो केही दिन वा महिनामै प्रष्ट हुने नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here