काठमाडौं/ नेपालको राजनीतिबारे विदेशतिर खिचडी पाक्दैछ भन्ने केही दृष्टान्तहरु सतहमा आइरहेका छन् । सत्तारुढ पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केको एक साता नबित्दै आज चीनतर्फ प्रस्थान गरेका छन् ।
भारतमा पुगेर दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने समझदारी भएको कुरा भारतीय सञ्चार माध्यममा सार्वजनिक गरी नेपाल फर्केका प्रचण्डको चीन भ्रमण पूर्व निर्धारित नै थियो । भ्रमणको उद्धेश्य सार्वजनिक नगरिए पनि आफ्नो पक्षमा वातावरण बनाउनमै प्रचण्डको भ्रमण केन्दि«त रहेको देखिन्छ ।
यता प्रचण्ड भारतबाट फर्केर चीनतर्फ लाग्नुभन्दा अघिल्लो दिन शुक्रबार पूर्व राजा ज्ञानेन्द्र थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र १८ जनाको टोली सहित थाइल्याण्डतर्फ लागेका हुन् । थाइल्याण्डमा दुई साताको बसाइ पछि श्रिलङका हुँदै भारततर्फ जाने कार्यक्रम रहेको बुझिएको छ ।
देशमा भएको राजनीतिक परिवर्तन प्रति जनतामा निराशा उत्पन्न भइरहेको वर्तमान अवस्थामा आ–आफ्नो पक्षमा माहोल बनाउन विदेशतिर चक्कर लगाउने प्रवृत्ति जतिसुकै आलोचित भएपनि नेताहरुले यसैलाई प्रतिष्ठा बनाइरहेको पाइन्छ । पूर्वराजा ज्ञानेन्द्र पनि नेताहरुकै शैलीको अनुशरण गर्ने प्रतिस्पर्धामा लागेको अनुभव गर्न सकिने भएको छ ।


















