धनगढी / ‘मधेश नेपाल होइन’ भन्ने सिके राउतको अभिव्यक्तिविरुद्ध युवा समूह धनगढीले प्रदर्शन गरेको छ । असोज ३ गते संविधान दिवसका दिन राउतले दिएको अभिव्यक्तिका विरुद्ध सो प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा युवाहरुले ‘अखण्ड नेपाल हुनुपर्ने, विखण्डनकारीलाई कारबाही गर्नुपर्ने, हिमाल पहाड तराई कोही छैन पराई, सिके रावतको अभिव्यक्तिप्रति सरकार किन मौन रु,’ लगायतका नाराबाजी गरिएको थियो ।
धनगढीको ट्राफिक चौराहबाट सुरु भएकोे प्रर्दशन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै युवाहरुले सिके राउतको अभिव्यक्तिले सबै नेपालीको मन दुखेको जनाउँदै मधेश पनि नेपाल नै रहेको र मधेशलाई विखण्डन गर्ने सोच भएका व्यक्तिलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन ।
प्रदर्शनका क्रममा उनीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेर सरकार विरुद्ध पनि नाराबाजी गरेका थिए । नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि नै आक्रमण हुने अभिव्यक्ति दिंदा समेत सरकारले कुनै कदम चाल्न नसकेकोले आन्दोलनमा उत्रनुपरेको उनीहरुले जनाएका छन् ।


















