इलाम – नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको नेपालको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको दाबी गरेका छन् ।
राजपाका नेता महन्थ ठाकुरले आफूलाई संसद्को शपथ खुवाएको हो भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको नेम्वाङले जानकारी गराए ।
‘संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खाएका थिए,’ नेम्बाङले भने ।
प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सो आरोप लगाएका हुन् ।
बिहिबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने – ‘मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो’, नेम्वाङले भने, ‘त्यही दस्तावेज पनि कांग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।’ ।
अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको जनाउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे ।


















