पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य

240

काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् ।

महासङ्घको महिला उद्यमी विकास समितिले ललितपुरमा आज आयोजना गरेको महिला उद्यमीको प्रवद्र्धनसम्बन्धी एक दिवसीय गोष्ठीको शुभारम्भ गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका निम्ति वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।

नेपालको संविधानले भेदभावरहित समतामूलक समाज निर्माणको परिकल्पना गरेको र संविधानका अन्य प्रावधानमा पनि नारी उत्थान एवम् सशक्तीकरणलाई जोड दिएको उहाँले जनाउनुभयो ।

नेपाली नारी पुरुषसरह जस्तासुकै चुनौतीपूर्ण काम गर्न सक्षम छन् भन्दै मन्त्री थापाले अवसरको अभावमा उनीहरू पछाडि परेका तर अब त्यस्तो नहुने जनाउनुभयो । साथै उहाँले पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महिला उद्यमशीलता विकास तथा उनीहरुको प्रवद्र्धनका लागि महासङ्घले निरन्तर प्रोत्साहन गरिहेको जानकारी दिँदै पूँजी र अवसर पाएमा विशाल परियोजना पनि महिलाले सहज ढङ्गले सञ्चालन गर्नसक्ने जनाउनुभयो ।

उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले महिला उद्यमीका लागि बेग्लै नीतिको व्यवस्था हुनुपर्ने माग गर्दै औद्योगिक नीति, २०६७ तथा औद्योगिक व्यवसाय ऐन, २०७३ मा महिला उद्यमीसम्बन्धी व्यवस्था भएको जनाउनुभयो । संविधान र अन्य ऐन कानून महिलामैत्री भए पनि पूँजी प्राप्ति एवं स्वामित्वमा भने अझै ती अनुदार छन् भन्नुभयो ।

महिला उद्यमीले झेल्नु परेका समस्या, उनीहरुको प्रवद्र्धनका लागि हुनुपर्ने व्यवस्था, कर प्रशासन, ब्याङ्किङ प्रणालीका विद्यमान प्रावधान, उद्योग–वाणिज्यसँग सम्बन्धित ऐनकानूनबारेमा छलफल हुने गोष्ठीमा ७७ वटा जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घ, १०० वटा वस्तुगत सङ्घका महिला उद्यमी सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here