परिवारले भन्यो : हाम्रो परिवारको आगलागीबाट निधन भएको होईन, हत्या नै भएको हो

196

काठमाडौं/ मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरि भएको घट्ना नियोजित रुपमा भएको पीडित परिवारले आरोप लगाएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले गरेको पत्रकार सम्मेलनमा आगलागीको घट्ना भवितव्य नभई हत्या भएको दाबी गरेका छन् । घट्नाको अनुसन्धान राम्रोसंग नगरिएकै कारण आफुहरु अन्यायमा परेको गुनासो पोख्दै पीडित परिवारका सदस्यहरुले आफुहरुले न्यायको लागि हारगुहार मागेको जनाएका छन ।

कार्यक्रममा बोल्दै मृतक गंगामाया राईकी छोरी इन्दिरा राईले प्रहरीले घट्नाको सूक्ष्म अनुसन्धान नगर्दा अपराधी खुलेआम घुमिरहेको जनाएकी छिन् ।

राज्यले प्रभावकारी रुपमा आफ्नो पीडा नसुनेको बताउँदै उनले भनिन,‘घट्नाको बारेमा गलत जानकारी दिने मानिषमाथि अनुसन्धान नहुनु, प्रहरीलाई घरबाट भाग्ने ठाँउको अभावमा मरेको हुनसक्ने भ्रमपूर्ण जानकारी गराउनु, एक कठ्ठा जमिनको कारण चारजनाको ज्यान लिन्छ कसैले भनेर प्रहरी अनुसन्धानबाट किन पन्छिरहेको छ ।’ घट्नामा शंका गर्ने आधारहरु धेरै रहेपनि यथेष्ट प्रमाणको अभावमा किटानका साथ अघि बढ्न नसकेको उनले जनाईन् ।

आगलागीबाट ५६ वर्षीय चन्द्रकुमार राई, उनकी ८६ वर्षीया आमा गंगामाया, ४९ वर्षीया श्रीमती पार्बता र ४६ वर्षीय बहिनी बिष्णुकुमारीको जलेर मृत्यु भएको परिवारले जनाएको छ । राति करिब २ बजेतिर भएको आगलागीमा उनीहरुसहित दुई तले काठको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा करिव १ करोड ५० लाख बरावरको धनजनको क्षति भएको उनले जानकारी गराईन।

कार्यक्रममा बोल्दै मृतक गंगामाया राईका छोरा रामकुमार वान्तवाले नियोजित रुपमा केही व्यक्तिले चारै जनाको हत्या गरी घरमा आगो लगाएर आगलागिबाट मारिएको देखाउन खोजिएको जनाएका छन ।

२०७४ असोज ४ गते मध्य रातमा भएको आगलागी कनैपनि कोणबाट भईपरि नभएर नियोजित रुपबाटै आफ्नो परिवारको हत्या गरिएको उनीहरुले दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘चारै जनाको मृत्यु हुनु शंकास्पद छ, यति ठूलो घर दनदनी जलेर खरानी हुँदासम्म किन कोही चिच्याएनन ? किन कसैले हाम फालेर बाँच्ने प्रयास गरेनन् ? मेरी आमा असक्त भएपनि अन्य तीन जनामध्ये कोही एक जना त बच्नुपथ्र्यौ ।’

विद्युत सर्ट भएर आगलागी भएको भनेर प्रहरी प्रशासन भने अनुसन्धान नगरी सुतेर बसिरहेको उनले गुनासो पोखे । उनले भने,‘तत्कालीन् प्रहरी निरिक्षक राजन कार्कीको अहिले सरुवा भईसकेकोले पनि आफुहरु कहिलेसम्म अपराधीलाई हेरेर बस्ने ?’ विद्युत सर्ट भएर आगलागी भएको भए घरको एक छेउबाट आगो लाग्नुपर्ने हुन्छ, तर यहाँ घरको चारैतिरबाट एकैपटक आगो लागेको कारणपनि घट्ना नियोजित रुपमा गरिएको उनले जनाए ।

पिडित परिवारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि अनुसन्धान गर्नुपर्ने र यसको लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here