दमौली, १८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताएका छन्।
बुधबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताए । “सरकार गठन भएको सात महीना मात्रै भएको छ, पुराना अवशेष हटाउन बाँकी नै छ, नयाँ किसिमले जानको निमित्त केही समय चाहिन्छ, पैसा जुटाउनुप¥यो, यी सबै काम गर्दै जान केही समय लागेको हो,” उनले भने ।
चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उनले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताए । “पाँच वर्षभित्र परिणाम खोज्नुपर्छ,” उनले भने, “हाम्रो घोषणालाई अहिल्यै कसैले खोज्न थाल्यो भने असम्भव छ, त्यो कुरा बुझ्न नचाहनेले अलि बढी प्रचार गरेका छन् ।”
जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उनले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताए । “यो प्रतिपक्षीको अधिकारको कुरा हो, यसमा हाम्रो भन्नु केही छैन,” उनले भने ।

















