काठमाडौं/ विवेकशील साझा पार्टी भने अहिले देश दौडाहमा नेताहरूलाई प्रशिक्षण दिन निस्किएको छ। पार्टीले दसैँ अघि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश अनि प्रदेश ५ मा कार्यक्रमहरू गर्ने जानकारी दिएको छ ।
विवेकशील साझा पार्टीले भर्खरै सुदूर पश्चिम प्रदेशमा आफ्ना सदस्यहरू अनि नेताहरूलाई प्रशिक्षण दिएको छ। उक्त कार्यक्रममा करिब ६०० जना पार्टी सदस्यहरू अनि नेताहरूले प्रशिक्षण लिएको विवेकशील साझा पार्टीको सुदूर पश्चिम सचिवालयले जनाएको छ।
कार्यक्रममा पार्टी संयोजक रवीन्द्र मिश्र, अर्का संयोजक उज्वल थापा, केन्द्रीय नेताहरू रमेश पौड्याल, केशव दाहाल अनि सुदूर पश्चिमका संयोजक गोपाल हमलाको उपस्थिति थियो। यही दौरान दर्जनौं नयाँ व्यक्तिहरूले पनि सदस्यता लिँदै पार्टी प्रवेश गरेका थिए।
विवेकशील साझा पार्टीका नेताहरूले विभिन्न जिल्लामा विभिन्न कार्यक्रम मार्फत उक्त प्रदेशका बुद्धिजीवी र नागरिक समूहलाई पनि भेटेका थिए। साथै, पत्रकारहरूसँग पनि अन्तरक्रिया गरेका थिए।
सुदूरपश्चिमको कार्यक्रम सकेर केन्द्रीय नेतृत्व कर्णाली प्रदेशका कार्यक्रमहरूको लागि निस्किएको छ। आजै कर्णाली प्रदेशले सुर्खेतको पिपल चौतारामा आम सभा समेत गर्दै छ । उक्त कार्यक्रममा भाग लिन विवेकशील साझा पार्टीका सदस्यहरू अनि शुभेच्छुकहरू दुर्गमबाट आउने क्रम जारी रहेको कर्णाली प्रदेशको सचिवालयले जनाएको छ।
उक्त कार्यक्रममा करिब २ दिन हिडेर अनि २ दिन गाडीमा गरेर सहभागी हुन आएकी हिसे सामु लामाको दृढता देखेर आफू भावुक भएको कुरा रवीन्द्र मिश्रले आफ्नो फेसबुकमा समेत राखेका छन्।
अहिले विवेकशील साझा पार्टी ९० दिने सङ्गठन विस्तार अभियानमा रहेको जनाइएको छ । अहिले सुदूरपश्चिम प्रदेशलाई गोपाल हमाल, कर्णाली प्रदेशलाई गेहेन्द्र दाहाल अनि प्रदेश ५ लाई अनुपमान सैंजुले नेतृत्व गर्दै छन्। विवेकशील साझा पार्टीले प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा प्रदेश संयोजक तोकिसकेको छ।


















