`भैलेनी आयौ आँगन, गुन्यू चोलो मागन…
हे औँशीको बारो, गाईतिहारो भैलो….
काठमाडौं / यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदैछ । आजको साँझ विभिन्न रङ्गहरु प्रयोग गर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ ।
आजै घर गोठमा गाईको पूजा गरिदैंछ । यस दिन बिहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।
टोलछिमेकका चेलीबेटीहरु आजको साँझ भैलो खेल्न आउँछन् । आजको दिन राति लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनविश्वाश पनि छ ।
















